घर छाड्नु अघिल्लो रात

घरबाहिर बस्न थालेको करिब १५ वर्ष भएछ । यद्यपि, यसबीचमा गाउँ जाने/आउने काम भइ नै रहेको थियो । म जस्तो पहाडमा जन्मेर विविध सपनाको खोजीमा सहर पस्नेलाई गाउँ त्यसै–त्यसै प्रिय हुने भइहाल्यो । गाउँ सम्भँmदा बारम्बार मेरा सपनाहरूलाई आशीर्वाद दिएर गाउँमा बस्ने आमालाई सम्झन्छु म । गाउँ सम्झनु पर्ने अर्को एउटा कारण आमा पनि त हो । आमाले घाँसदाउरा र गोठालो गर्ने कालसीङ्, सखुवाडाँडा, मासबारी, पांग्राझ्याल र सुन्तले गैरी जस्ता ठाउँहरू पनि एकसाथ स्मृतिमा आउँछन् । तिनै ठाउँ हुन्, मेरी आमाले आफ्नो उमेरको पचपन्न हिउँद बर्खा बिताउनुभएको । आमा र गाउँको यहीँ सह–सम्बन्ध भएको कारण एकैसाथ सम्झन्छु म आमा र गाउँ । यसरी आफ्नो उमेर रित्याएर छोराछोरीलाई सपना देख्न लगाउने आमालाई सम्झने म मात्र एक्लो होइन यो सहरमा ।
०००
आमाको गीत : २ लेख्नुअघि गाउँ नगएको थुप्रै भएको थियो । आमाको यादले खुबै सताइरहेथ्यो । हुनलाई त गाउँमा हातेफोन नपुगेको होइन अहिले । तर, फोन भन्नु मात्रै त छ । दूरसञ्चारको अव्यवस्थित व्यवस्थापनको कारण राम्ररी कुरा गर्न पाइन्न । म एउटा किराँतीको छोरा, हामी किराँतीको घरमा वर्षमा थुप्रै घरेलु पर्व आउने गर्छन् । जब–जब यस्तै केही विशेष दिन आइपुग्छ घरमा, आमा मलाई सम्झेर आँसु खसाउनुहुन्छ । यस्तै पर्वहरूमा माइती पुगेका दिदीहरू मलाई फोन गरेर सुनाउनुहुन्थ्यो । दिदीहरूको कुराले म स्तब्ध बन्थेँ । फेरि मन गाउँ पुग्थ्यो । घरमाथि बज्जरले(चट्याङ)ले हानेर ठहरै परेको रिठ्ठाको बोट, घरको पूर्वपट्टि झाडीले पुरिसकेको खरबारी, बरझ्याङ् पाखामा आमालाई पर्खिरहेको अम्रिसो बगान … । सम्झन्छु सायद आमा समयको व्यवस्थापन गर्दै साँझमा त्यही झाडीले छोपिसकेको खर काट्नुहुन्छ, र अम्रिसो थुत्नुहुन्छ बिहान … ।
०००
०६८ माघ महिनाको एकदिन । भाइको बिहेको अवसर पारेर बल्ल घर जाने योग जुर्‍यो । घरमा मलाई नै पर्खिरहेकी आमाको आँखामा हराएँ म । खासमा आमा हुनुको अर्थ त्यसैदिन मात्र थाहा पाएँ मैले । र, सोचेँ कि म यसरी आमाको आँखामा नआइदिएको भए के हुन्थ्यो ? जसरी युद्घमा गएर घर फर्कनै पाएनन् हजारौँ छोराछोरीहरू । जसका आमाहरूको आँखा र आशीर्वाद दिने मन कस्तो भएका होलान् ? आमाको गीत : २ कविताको केन्द्र पनि सायद त्यही अभागी आमाहरूको आँखा र मन नै हो ।
क्रमश : बिहेको तयारी हुँदै गयो । भाइ बुहारीलाई आशीर्वाद दिन धेरै आमाहरू आउनुभयो । केही आमाहरूले मेरै भाइ उमेरका छोराहरू युद्घमा गुमाएका थिए । उनीहरू पनि आए र युद्घमा बेपत्ता छोराहरू सम्झे एकपटक । कहिले नफर्कने मान्छेको सम्झना ज्यादै अप्ठ्यारो हुन्छ सायद । केही आमालाई त्यही अप्ठ्यारोपनको याद दिलायो भाइको बिहेले ।
०००
बिहे पनि सकियो । फेरि फर्कनु छ सहर । छोडिजानु छ आमालाई … । घरबाट हिँड्नु अघिल्लो साँझ हामी परिवारका सबै सदस्य संगै थियौँ । बिहे भएर गएका दिदीबहिनी, बिहे भएर आएका बुहारी, भाञ्जाभाञ्जी सबै …सबै । खानपिन सकेर पारिवारिक सुख–दु:खका कुराहरू कुराहरू गर्‍यौँ । गीत गायौँ, नाच्यौँ, हास्यौँ … । यहीबीचमा मैले आपा र आमालाई जुवारी गीत गाउन अनुरोध गरेँ । सुरुमा आमा मानिरहनु भएको थिएन, आपाले गाउन थालेपछि आमाले नि जवाफ दिनुभयो ।
‘सरमा सर सिग्रेटै खानु कैँचीमार बकासको
कँैचीमार बकास खोलेर हेर्दा छ माया क–कस्को’
आमाले गाएको यही गीतले म सम्पूर्ण रूपमा गलेँ । यति पीडा मिश्रित आमाको आवाजमा सुनेको यो नै पहिलो थियो मेरा लागि । त्यस रात आमाको यही गीत मेरो मोबाइलमा रेकर्ड गरेर निदाएँ म ।
उज्यालो भयो । सहर फिर्नु छ आज । घरबाट हिँड्नुअघि आमाले सधँैजसो सोध्नुभो, ‘अब कहिले आउँछस् जेठा ?’ मैले त्यही आमाको पीडा मिश्रित आवाजमा भनेँ, ‘छिट्टै आउँछु ।’ आमा बिस्तारै छोडिँदै जानु भो । म भने आमाको गीत बोकेर हिँडिरहेँ ।
आमाको गीत : २
हिउँदे बतासको लैबरीमा
थपडी बजाइरहेछन् चिउरीका पातहरू
भर्लेनी पाखामा कोरस अलापीरहेछन्
एकहुल हलेसोका बथान
आमा रूखबाट गीतका हरफहरू खसाइरहेछिन् ।

नजीकै बगिरहेको छ चिपचिपे खोला
आमा रूखबाट ओर्लेर कुवा बनाउँछिन्
र कुवाको ऐनामा
युद्घमा बेपत्ता छोराको अनुहार देख्छिन् ।

यतिन्जेल आफ्नै अनुहार राम्ररी नदेखेको आमाले
आफैँलाई छोराजस्तो देखेर
निकैबेर के के सोचिरहिन् ……?
कुवामा देखिएको अनुहार आफ्नै आँसुले लत्पतिएपछि
आमा झस्किँदै पटुकिको फेरो समातेर
छोराको सम्झना पोखिएको आँखाका डिल पुस्छिन्
र खोलाको चेप्टेढुंगामा बसेर
छोराले लेख्न सिकाएको आफ्नै नाम
लेख्तै–मेट्तै गर्छिन् ।
सम्झना बिस्तारै भाग्दै–भाग्दै जान्छ
आमा पारिपट्टि पश्चिम फर्किएको
कटुसको झ्याङमा घडी हेर्छिन्
पात–पातमा पहँेलो घाम झुन्डिएको देखेर
डँडाल्नोभरि हरियो गीतको भारी बोकेर घर फिर्छिन् ।

साँझपख घर मुन्तिरको बूढो खरबारीमा
हँसिया बोकेर हिँडेकी आमा
खै ! किन हो,
खरबारीमा बसेर गुन्गुनाउन थालिन्–
‘सरमा सर सिग्रेटै खानू कौचिमार बकासको
कौचिमार बकास खोलेर हेर्दा छ माया क–कस्का’
यसरी उमेरको पचपन्न बर्षपछि
पहिलोपटक आमाले रुँदै–रुँदै गाएको सुनेर
अहिले खरबारी आफैँ रोइरहेको छ ।

प्रतिक्रिया