सुशीललाई रोक्न खोजिँदै छ

पश्चिमा ग्रान्ड डिजाइनअन्तर्गत सत्ताकब्जाको रणनीतिमा अब अन्तिम बाधकका रूपमा रहेका नेपाली कांग्रेस र कोइरालामाथि हमला गरिँदैछ । राष्ट्रपतिको कदम कांग्रेसले उक्साएर भएको भन्ने कमल थापाले उक्त कदमलाई असंवैधानिक भन्दै वर्तमान सरकार र प्रधानमन्त्रीकै भाषा बोलेका छन् । प्रचण्डले कांग्रेसको पालो सिद्धियो भन्दै विजय गच्छदार, महन्थ ठाकुर स्विकार्न सक्ने तर कांग्रेस अस्वीकार गरेका छन् । १० वर्षको माओवादी युद्ध कांग्रेस सफायाका लागि थियो । यसकारण पुराना संघर्षशीलहरूलाई सफाया नयाँ कांग्रेस, एमाले रक्षाको रणनीतिको रहस्य बल्ल खुल्दैछ । रुकुमका हरिभक्त ओली, बर्दियाका गोविन्द पौड्याल, अर्घाखाँचीका राममणि ज्ञवाली, कपिलवस्तुका आदित्य ज्ञवालीजस्ता त्यागीहरूको छानी छानी किन हत्या गरियो ? त्यसको अन्तर्निहित गर्भमा नपुगी अगाडि बढ्न खोजे कांग्रेस इतिहासमा प्रजापरिषद् बन्ने छ भने नेपाल सिआइएको रणनीतिक क्रीडास्थल बन्ने छ ।
नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालालाई दुई भिन्न रूपबाट बुझ्न अनिवार्य छ । पहिलो चरण ध्वंसात्मक मण्डलेकरण र दोस्रो सकारात्मक प्रजातान्त्रीकरण । २०१७ सालको राजाको कदमलाई तत्कालीन कांग्रेसका दुई महामन्त्री डा. तुलसी गिरी र विश्वबन्धु थापाको समर्थन थियो । क्रमश: श्रीभद्र शर्मा ०३६ सम्म आइपुग्दा परशुनारायण चौधरी र पछिल्लो चरणमा पञ्चायातमा प्रवेश नगरी कांग्रेसभित्रै रहेर जिपी कोइरालाको भूमिका कांग्रेसलाई मण्डलेकरण गर्नमा रह्यो । ०४२ सालको सत्याग्रह भाँड्न गणतन्त्रवादी आवरणमा एकातर्फ सिआइएले रामराजा मोडल अगाडि सार्‍यो भने अर्कोतर्फ गिरिजाको दोहोरो रणनीति । ०४६ सालको संयुक्त आन्दोलनविरुद्ध गिरिजाको मत अल्पमतमा र गणेशमान, कृष्णप्रसादको मत प्रभावशाली रह्यो र निर्णायक बन्न पुग्यो । ०४६ को परिवर्तनलाई संस्थागत गर्ने भट्टराई हराउ अभियानमा भारत, मण्डले, गिरिजा र माले हतियार बने पहिलो चरणमा । दोस्रो चरणमा गणेशमान सिंहलाई अपमानित गराउने र बहिर्गमन गराउन भूमिका खेले । तेस्रो चरणमा कांग्रेसभित्रका वैचारिक नेताहरूलाई छानीछानी गिरिजामार्फत समाप्त गरियो र बहुराष्ट्रिय कम्पनीका एजेन्टहरू भर्ना गर्दै कांग्रेस मण्डलेकरण गरियो । राष्ट्रिय उद्योग सार्वजनिक संस्थाहरू धरासयी बनाइयो । यता एमालेभित्र पुष्पलाल धरातलबाट आएका मदन भण्डारीको र जीवराज आश्रितको हत्या गरियो । माक्र्सवादी धारका कार्यकर्तालाई सफाया गर्दै लगियो र राष्ट्रघाती महाकाली सन्धिसम्म आइपुग्दा देशद्रोहीहरू दुईतिहाइको सम्मिलनमा पुगे ।
यही विकृतिको जगमा माओवादी उदय गराइयो । बृहत् रणनीतिक ग्रान्ड डिजाइनमा केन्द्रीय तहमा गिरिजामार्फत कांग्रेसभित्रका वैचारिक नेतृत्वलाई छानीछानी सखाप पारियो र स्थानीय तहमा माओवादीमार्फत हत्या गराइयो । यता ०५८ सम्म आइपुग्दा राजा वीरेन्द्रको हत्या गरियो । सुरुमा कांग्रेसभित्रको राष्ट्रवादी नेतृत्व किनारा लगाइयो । एमालेलाई मदन हत्यासँगै कब्जा गरियो र दरबारमा वीरेन्द्र हत्या गरिँदासम्म गिरिजा बदनाम भइसकेका थिए । इन्डो सिआइए रणनीतिमा सञ्चालित भूमिगत गिरोहले हत्याको दोषी गिरिजा भन्दै बाह्य प्रपोगन्डा गराइयो । यहाँसम्म आइपुग्दा गिरिजाको उपादेयता सकिइसकेको थियो । ०५७ सालमा जब माओवादीले पहिलोपटक डोल्पाको दुनै हमला गरे तब बल्ल कोइराला झस्किए । गृहमन्त्री गोविन्दराज जोशीले राजीनामा दिए । राजा वीरेन्द्रले कोइरालालाई बोलाएर सेना होइन सशस्त्र प्रहरी बल निर्माणको सल्लाह दिए । यसपछि सिआइएसँग निकट मण्डले गिरोहलाई धक्का लाग्यो । अन्तत: कृष्णमोहन श्रेष्ठको हत्या गर्दै वार्ताको नाटक मञ्चन भयो । होलेरी काण्डसम्म आइपुग्दा बल्ल गिरिजाले इतिहासमा आफू प्रयोग भएको बुझे । होलेरीदेखि दिल्लीसम्म माओवादी नेतृत्व सुरक्षित हुनुको कारण इतिहासको समीक्षा गर्दै बल्ल गिरिजाले मण्डलेले दुरुपयोग गरेको रणनीतिबाट १८०० फन्को मारे । तर विडम्बना कांग्रेस मण्डलेकरणको दलदलमा फसिसकेको थियो ।
यतिबेला माओवादीले कांग्रेस हुँदैन भन्नु हिजोका सिआइए ब्रोकर शेरबहादुरलाई उकास्नु हो । माओवादीले सुशील कोइराला हुँदैन भन्नु अब सुशीलको बिपीवादी धार समाप्त गर्न सके सम्पूर्ण सत्ता इन्डो, सिआइए कब्जामा रहने आँकलनको अन्तिम प्रहार हो । कांग्रेसको केन्द्रीय नेतृत्वमा नेता नरहेको र अब सुशीललाई समाप्त गर्न सके अन्यलाई सहजै इन्डो सिआइए मण्डले रणनीतिमा परिचालन हुने सहज आँकलन हो । यसकारण हिजो गिरिजालाई महान् भन्नेहरू सुशीलमाथि वैचारिक हमला गरिरहेका छन् । यही हमला ०३६ सालमा माले, मसाले र मण्डलेले बिपीमाथि गरेका थिए । मुलुकको रक्षाका लागि बिपीले जुन संकटको सामना माले चौम, मसाल मण्डलेसँग गरे सुशीलले त्यो सामना गर्नैपर्छ । किनभने ०३६ सालमा बिपीले हार्दा पनि राजा घेरामा थिए राष्ट्र समाप्तै हुने अवस्था थिएन । तर अहिले सुशील कोइरालाले हार्नु भनेको ३४ वर्षपछि देश माले, मसाले, मण्डले, मधेसी, माओवादी पाँच प्रवृत्तिको भारतीय ब्यानरको सिआइए र राष्ट्रवादी ब्यानरको सिआइए कब्जासाथ नेपाल नयाँ अफगान बन्नु हो । यसकारण सुशील कोइराला वरिपरिको शेरबहादुर, रामचन्द्र, सिटौला, सुजाता, रामशरण, इन्डो सिआइए घेरा किनारा लगाउँदै बिपीवादी धारमार्फत निकास दिनु आजको अनिवार्य पाटो हो ।
संविधानसभाको निर्वाचनसम्म आइपुग्दा महन्थ ठाकुर, विजय गच्छदार, जेपी गुप्तालगायतलाई कोइराला परिवारले उठाएको थियो । उनीहरूमार्फत तथाकथित मधेसी समूह जन्माइयो । आज प्रचण्ड, ठाकुर र गच्छदारहरू ‘सुशील हुँदैन’ भन्दैछन् । यसभित्रको रणनीति नेपाली राजनीतिमा विसं. ३० को दशकमा देखापरेको थियो । त्यसताका मोहनविक्रम सिंह र सूर्यबहादुर थापाले पुष्पलाललाई गद्धार र बिपीलाई भारतीय दलाल भन्दै फाँसी दिनुपर्छ भनेका थिए । अहिले प्रचण्ड, बाबुराम र कमल थापाहरू त्यसैको परिवर्तित मोडलमा सुशीलमाथि हमला गरिरहेका छन् । यसकारण सुशील कोइरालाले अत्यन्त सचेतताका साथ पाइला चाल्नु आजको चुनौती हो । अबको विकल्प वर्तमान उग्रवाम र अति दक्षिणपन्थी ‘रअ’ को ब्यानरमा सिआइए कब्जामा रहेको बाबुराम सरकारको विस्थापन, अन्तरिम संविधान विघटन, ०४६ सालमा जस्तै राष्ट्रिय अन्तरिम सरकार, प्रतिनिधिसभाको निर्वाचन, संविधान निर्माण आयोग र प्रतिनिधिसभालाई संविधानसभामा परिणत गर्दै अनुमोदन एक मात्र बाटो हो । बिपी पुष्पलाल र डा. केशरजंग रायमाझीमाथि सिआइए हमला भएको थियो । बिपीलाई सोसलिस्टसँगको सम्बन्ध, पुष्पलाललाई कांग्रेसभन्दा गद्धार र रायमाझीलाई राजावादी भनियो । ०३६ सालमा बिपीलाई स्याङ्जामा, गणेशमानलाई हेटौँडामा, सहाना प्रधानलाई पर्वतको सेतीवेणीमा, डा. केशरजंगलाई गोर्खामा, काशीनाथ गौतमलाई गुल्मीको रिडीमा हमला गरियो । रायमाझीमाथि हमलाको नेतृत्व गर्ने वाचस्पति देवकोटा एमालेमा छन् भने डा. बाबुराम भट्टराई बहालवाला प्रधानमन्त्री छन् । कागले कान लग्यो भन्ने हल्ला फैलाएर कुखुरा चोर्ने माले, मसाले, मण्डले प्रवृत्तिको समग्र भूमिकामा माओवादी रहेको छ । कार्टर सेन्टरदेखि दिल्लीसम्मको घेरामा रहेका केही अखबारमार्फत भ्रम पार्न खोजिएको गोयबल्स अभियानदेखि सावधान रहँदै सुशीलले भ्रम चिर्दै अडिग रहन अनिवार्य छ ।
पछिल्लोपटक डा. कर्ण सिंह सुशील कोइरालालाई रोक्दै आफ्नो कठपुतलीको खोजीमा आएको प्रस्ट भएको छ । बाबुरामको विकल्पमा सूर्यबहादुर त्यो नभए माधव या केपी त्यो नभए कांग्रेसभित्रैबाट सुशीलको विकल्पमा नयाँ परशुनारायणको खोजी तर सुशील रोक्ने सन्देश खतरनाक छ । बिपी, कृष्णप्रसाद, गणेशमानजस्तै सुशीलमाथिको हमला राष्ट्रियतासँग जोडिएकाले के वैद्यहरूले सुशीललाई साथ दिन सक्छन् ? सक्दैनन् भने उनीहरूको मुकुण्डो पनि भोलिका दिनमा उजागर हुनेछ । ०३३ सालमा बिपी फर्कंदा जुन रूपमा बिपीलाई घेरिएको थियो ठीक त्यही रूपमा अहिले सुशीललाई घेरिएको छ । अन्तिम घेरा कस्न करण सिंह आएका थिए । सेना, माओवादी, पुराना दरबारिया, मधेस पार्टीभित्र सिटौला प्रवृत्ति एउटै केन्द्रमार्फत परिचालित रहेको अवस्था छ । यो स्थितिमा राष्ट्रवादी, गणतन्त्रवादी, वामपन्थी, प्रजातन्त्रवादी सम्पूर्ण देशभक्तहरूले घेरा तोड्नु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया