ध्रुवे हात्ती आतंक र राजनीतिक प्रवृत्ति

चित्तवनमा ध्रुवे हात्तीले सिर्जना गरेको आतंक र उसलाई मार्नका निम्ति गरिएको प्रयास सर्वाधिक चर्चाको विषय बनेको छ । विशेषत: चितवन, बारा र पर्सामा करिब एक दर्जन मानिसको हत्या, बालीनाली र घरबार ध्वंस बनाएको हात्तीलाई मार्नका लागि राज्य र सम्बद्ध निकायले लामो समयदेखि गरिरहेको प्रयास निरर्थक भइरहेको छ । केही दिनअघि चितवनको माडीमा सर्वनाससँगै दुई जनाको हत्या गरेपछि त्यहाँका बासिन्दाले ध्रुवे हात्ती नमारेसम्म शव नउठाउने उदघोषसहित आन्दोलन पनि गरे । स्थानीय प्रशासनले हात्ती मार्ने आश्वासन दिएर आन्दोलन फिर्ता लिएको पनि धेरै दिन भइसक्यो । तर, ठुलो जनशक्ति, स्रोतसाधन र प्रविधिका साथ खटिएको टोलीले ध्रुवे हात्तीको भेउ पाउन सकिरहेको छैन । पहिलो कुरा हात्ती भेट्नै मुस्किल, भेटिहाले पनि गाउँ र घनाजंगलमा आक्रमण गर्न नमिल्ने कारणले ध्रुवे अहिलेसम्म ज्युंदै छ । फेरि कुन दिन माडीबासी जाग्ने हुन् ? आन्दोलनको मूल्य प्रशासनलाई फेरि महँगो पर्नेछ । प्रशासनले सकिरहेको छैन वा नसकेको बहाना गरिरहेको छ ? अहिले चितवनमा ध्रुवेको मात्रै होइन, अन्यत्र पनि हात्तीको आतंक फैलिएको छ । सप्तरीका वासिन्दा रातको अँध्यारोमा हात्तीको डरबाट बच्न उज्यालोको सहारा माग्दै छन् । त्यहाँका जनता रातमा लोडसेडिङ नगर्न र हात्ती नियन्त्रण गर्नका लागि बाध्य भएर व्यस्त राजमार्गमा बाटो छेक्दै थिए । प्रहरीले सम्बन्धित निकाय र जिल्ला प्रशासनसमक्ष माग पुर्‍याउने आश्वासन दिए पनि उनीहरू मान्न तयार थिएनन् । कहिले कोसीको आक्रमण त कहिले हात्तीको, वास्तवमा त्यंहाँको जीवन त्रासदीपूर्ण छ । लोडसेडिङ र हात्ती आतंकविरुद्ध नागरिक समुदाय राजमार्गमा चक्काजाम अनि आन्दोलनको चर्को स्वरूपहरूमा उत्रन बाध्य हुनु मुलुकको पीडादायी नियति बनेको छ ।
चितवनको ध्रुवे हात्ती सर्वाधिक चर्चित पात्र बनेको छ । बैँसले मैमत्ता भएर पोथीको खोजीमा रहेको ध्रुवे त्यही आवश्यकता पूरा नभएका कारण दुनियाँलाई आतंकित बनाइरहेको छ । ध्रुवे हात्तीले सिर्जना गरेको क्षति, उसको असन्तुलित मानसिकता, माडीलगायत स्थानमा भइरहेको आन्दोलन र फेरि पनि पुर्‍याउन सक्ने क्षतिलाई मध्यनजर गरेर उसलाई मार्ने प्रयत्न केही दिनयता जारी छ । यद्यपि, उसलाई मार्न नहुने आवाजहरू पनि उठिरहेका छन् । वासमा देखिएको संकट र शारीरिक आवश्यकता एवं प्राकृतिक कारणले सिर्जित यो समस्याको वैकल्पिक समाधान खोज्नुपर्ने तर्कहरू प्रस्तुत भएका छन् । वास्तवमा ध्रुवे हात्तीको नर र धनसंहार अनि भेटन नसकेको कारण यो एक विम्बको रूपमा स्थापित भएको छ । राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा ध्रुवे हात्ती छाएको छ । अहिले त ऊ अन्तर्राष्ट्रिय चर्चाको पनि केन्द्रमा छ । विश्वप्रशिद्ध पत्रिका, अनलाइन, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा पनि ध्रुवे हात्तीकै चर्चा छ । कसैको नकारात्मक स्वभावको विश्लेषण वा गाली गर्नुपर्दा ध्रुवेको नाम लिन थालिएको छ । कसैको अर्घेलो र गलत प्रवृतिमा पनि यो संज्ञा प्रयोग गर्न थालिएको छ । ध्रुवे हात्तीले ऊ युगका स्वजन ध्रुवको नाम त बदनाम गर्‍यो नै यो युगका ध्रुव नामका मनुवाहरूलाई झस्काइदिएको छ ।
ध्रुवे हात्ती विम्ब राजनीतिमा पनि निकै चर्चित बन्न पुगेको छ । चितवन आसपास साक्षात ध्रुवेको आतंक चलिरहेका बेला नेपाली राजनीति र सत्ताका ध्रुवेमतिका मनुष्य स्वरूपका हात्तीहरूको आतंक चलिरहेको छ । नेपाली राजनीतिमा करिब –करिब ध्रुवेको शैली स्थापित भएको र अझै त्यो खालको प्रवृत्तिको दबदबा रहेको एमाओवादीको नेतृत्व छ । त्यसमा पनि त्यही पार्टीका उपाध्यक्ष पढाइमा विद्वान तर व्यवहारमा ध्रुवेमतिकै हाराहारीमा रहेका बाबुराम नेतृत्वको सरकार छ । उनै बाबुराम र मधेसलाई भजाएर सत्ता, शक्ति र सुविधाको भोगमा तल्लीन रही आफूलाई मधेसमसिहा ठान्ने विजय गच्छदारको सहनेतृत्वमा आज सिंगो मुलुक प्रताडीत छ । यिनीहरूको ध्रुवे प्रवृत्तिको कारण आज मुलुक निकासविहीन बनेको छ । न त उनीहरू सबै राजनीतिक दललाई विश्वासमा लिएर काम गर्न सक्छन् न मुलुकसामु रहेका संकटको समाधान गर्न तत्परता र सामथ्र्यता नै राख्छन् । संविधानसभाको अकारण विघटनको नायक बन्ने, आपैँmले घोषणा गरेको निर्वाचन पनि सम्पन्न गर्न नसक्ने र सत्ता पनि नछाड्ने बाबुरामको ध्रुवे प्रवृत्तिको कारण मुलुक असफलताको दिशातर्फ अघि बढेको छ । मुलुकको निकास र वर्तमान समस्या समाधानको साधक बन्नुपर्ने जिम्मेवार नेता नै ध्रुवे हात्तीले देखाएको पोथीमोहभैँm सरकार छाड्न तयार नहुने प्रवृत्तिका कारण हाम्रो राजनीतिक संकट गहिरिँदै गएको छ ।
बाबुराम मण्डलीको ध्रुवे प्रवृत्तिका कारण गणतन्त्र नेपालका सर्वाधिक शक्तिशाली नेता एमाओवादी अध्यक्ष स्वयं पुष्पकमल दाहालनै किंकर्तव्यीमुढ्को अवस्थामा पुगेका छन् । उनले अब मुलुक सहमतितिर गयो भनेर केही दिन अघि घोषणा गरेको तथ्यलाई बाबुरामले असत्य सावित गराएका छन् । वर्तमान राजनीतिक निकासका लागि बाबुराम सरकारको सम्मानजनक बहिर्गमन र नयाँ सहमतिको सरकार गठन गरी नयाँ निर्वाचनमा जाने सबै दलहरूको निकाससूत्रलाई बाबुराम मण्डलीले विफल बनाइदिएको छ । बाबुराम कुनै हालतमा सरकार छाड्न नचाहने र प्रतिपक्षी दलहरू सरकारको बहिर्गमनविना कुनै सहमति हुन नसक्ने अडानको चेपुवामा मुलुक परेको छ । राष्ट्रपति डा. रामवरण यादवले संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठनका लागि छैठौँपटक दिएको समयसीमा पनि त्यतिकै गुजारेका छन् । छिमेकी मुलुक भारत भ्रमणबाट फर्किएपछि राष्ट्रपतिले राजनीतिक निकासका लागि राजनीतिक दलहरूसँग परामर्श अघि बढाएका छन् । राष्ट्रपतिले सहमतिका लागि जतिसुकै परामर्श र प्रयत्न गरे पनि सोझो तरिकाबाट निकास आउने अवस्था देखिँदैन । प्रतिपक्षी दलहरू पनि मुलुकलाई निकास दिनेभन्दा कसरी बाबुरामलाई विस्थापन गरी सत्ता प्राप्त गर्ने भन्ने दाउमा छन् । उनीहरूसँग सहमतिको नयाँ प्रधानमन्त्रीसहितको सरकार र कार्यदिशा स्पष्ट छैन । दलहरूबीच बढेको तिक्तता र दूरीले राजनीतिक निकास झन् पर धकेलिएको छ । हुँदाहँुदै सत्तारूढ गठबन्धन मरिसकेको र ‘डेट एक्सपायर’ भइसकेको संविधानसभा ब्युँताउने अभ्यासमा लागेका छन् । हिजो समाधान दिन नसकेको संविधानसभाले भोलि समाधान देला भन्ने विश्वसनीय आधार छैन । उपयुक्त र निर्वाध वातावरण निर्माण गरेर निर्वाचनमा जाने सर्वोत्तम विकल्पलाई सत्तारूढ र सबै राजनीतिक दल सही ढंगले अघि बढाउने पक्षमा देखिँदैनन् । सबै दल यतिखेर निर्वाचनमा जान हिच्किचाइरहेका छन् ।
नेपाली राजनीतिले भोगिरहेको पिडासँग हिजोका दिनमा दलहरूको ध्रुवे प्रवृत्ति जोडिएको छ । यो प्रवृत्तिको अन्त्य नभएसम्म मुलुक र नागरिकले दु:ख पाउने दिन सकिने छैन । ध्रुवे हात्तीलाई मार्नेभन्दा पनि त्यसको प्राकृतिक निदान र नियन्त्रणका उपायहरू खोज्नु उपयुक्त भएजस्तै राज्यसत्ता र समाजमा राजनीतिक दलहरूको विकल्प छैन । तर, त्यो खालको प्रवृत्तिको अन्त्य अपरिहार्य छ । यो प्रवृत्तिको अन्त्यका लागि आमनागरिक सचेत हुनु आवश्यक छ । दलहरू पनि त्यो प्रवृत्तिबाट उन्मुक्ति चाहन्छन् भने जसरी भए पनि निर्वाचनको वातावरण तयार गर्ने र नागरिकबीच परीक्षित हुने वातावरण निर्माण गर्नुपर्छ । त्यसैले, राजनीतिमा विकृतिको रूपमा रहेको ध्रुवेहात्ती प्रवृत्तिको अन्त्यको विकल्प छैन । राजनीतिक दलहरू विशेषत: सत्तारूढ गठबन्धन समयमै सचेत होस् र आफूलाई गम्भीर बनाओस् ।

प्रतिक्रिया