वञ्चित र बेखबर सुदूरपश्चिम

दशकौंदेखि हवाइजहाज चढेर कैयौँपटक काठमाडौंबाट भित्रबाहिर गर्दा सहायता दिने र लिनेहरू दुवैथरिले सुदूरपश्चिमको डोटीका काला डाँडाहरूलाई देखेका छन् । तर, तीमध्ये धेरैले काठमाडौंको भन्दा थुपै्र शताब्दी पछाडि बाँचिरेहकाजस्ता लाग्ने यहाँका दलित र अन्य जातिको बसोबास भएका यी रुख्खासुख्खा डाडाँहरू नेपालका गरिबभन्दा गरिब इलाकामध्येमा पर्दछन् भन्ने पत्तै पाउँदैनन् । डोटीनजिकको धनगढीबाट एक घन्टामै हवाइजहाज महानगरीय आकाशमा प्रवेश गर्छ, सायद त्यसैले रुखा काला डाडाँपाखाका दु:खका दागहरू छिट्टै बिर्सिइन्छन् ।
डोटीका दुर्गम गाउँतिर पस्दा झ्याल नभएका मुन्डा घरहरू देखिन्छन् । घरभित्रको धुँवाबाट फुस्रिएका अनुहार र दर्जनौँ ठाउँमा टालिएका कपडा लगाएका डोटेली जनता त्यहाँ देखापर्छन् । कुपोषणले ग्रस्त, नाकमा सिँगान कट्कटिएका केटाकेटीहरू धुलोमा खेलिरेहका र नाकमा मुन्द्री लगाएका सानै उमेरमा बच्चा बोकेका आइमाईहरू घाम तापिरहेका भेटिन्छन् । तिनीहरूका आँखा सुन्निएकाजस्ता देखिन्छन् र कलिलैमा पनि दोब्बर उमेरका लाग्छन् । लोग्ने मानिसहरू केही नगरी त्यसै रल्लिरहेका हुन्छन्, स्वास्नी मानिसहरूले मात्रै कामकाज गरेको देखिन्छ ।
०००
तीनजना किशोर बार्दलीमा सुतिरहेका छन् । तर, शरीरको कुनै भाग चल्दैन । र्‍याल चुहिरहेको छ, महिनौँ ननुहाएजस्ता दुगन्र्धित शरीर । दाँत पनि तीनजनाको उस्तै कालो देखिन्छ । गएको सोमबार दलित परिवार खिना तिरुवाको घर पुग्दा उनी आफ्ना तीन छोरालाई दलिनबाट सकिनसकि उचालेर आँगन झार्दै थिइन् । आपैँm पनि सिन्कोजस्ती दुब्ली देखिने खिना यस्ती आमा हुन्, जो आफ्ना सन्तानको मृत्यु पुकारिरहेकी छिन्, जसै सहरमा बसेकाहरू सन्तानको दीर्घायुको कामना गर्छन्, उनीचाहिँ ठीक उल्टो । आफू जिउँदै छँदा ती छोराको मरण भयो भने तीनको सद्गति गर्न पाइन्छ भन्ने आसमा थिइन् । तीन छोराहरू १८ वर्षीय गोपी, १६ वर्षीय दली र १२ वर्षीय करी तिरुवाको मृत्यु पुकारिरहेकी उनी हामिलाई देख्दा भक्कानो छोडेर रोइन् ।
डोटीको दुर्गम गाविस बाझककानी वडा नं. ८ कि खिना तिरुवाले आफूलाई चिनेकी छिन् । उनी भन्छिन्, ‘गरिब भनेको नै म हुँ ।’ दिपालयबाट कच्ची बाटोको जिपयात्रामा चार घन्टामा पुगिने उपल्लो छेउमा उनी एउटा छाप्रोमा आफ्ना अशक्त (शरीरका कुनै भाग नचल्ने) छोराहरूसँग बस्छिन् । छोराहरूलाई के भएको कसैलाई थाहा छैन । जेठो छोरा गोपि पहिले स्कुल जान्थ्यो, १० वर्षको भएपछि शरीर चल्नै छोड्यो । माइलो दलिको पनि ८ वर्ष पुगेपछि उही शरीर नचल्ने रोग लाग्यो र कान्छो करिको पनि ६ वर्षको उमेरमा शरीर चलेन । जेठो छोरालाई उनीहरूका बुबा जयराम तिरुवाले भारतसम्म उपचारका लागि पुर्‍याएका थिए । तर, डाक्टरले रोग पत्ता लगाउन सकेन । ‘यिनीहरूलाई पोलियो भएको हो कि भन्ने शंका छ,’ स्वास्थ्य स्वयंसेविका सीतादेवी खड्काले भनिन् ।
खिना तिरुवाको गरिखाने एक टुक्रा जमिन छैन । श्रीमान्को ६ महिनाअघि हृदयघातका कारण मृत्यु भयो । आडैमा छिमेकीको गोठभरि छन् गाईवस्तु, उनको पनि रहर होला गाईवस्तु पाल्ने । तर, उनीसँग कहाँ त्यति धेरै पुँजी ? हो, न उनले गाई, बाख्रा वा कुखुरा पाल्न सकेकी छिन् । झन्डै उनीजस्तै गरिब छिमेकीको दयाभाव पलाउँदा भने दुई छाक खान पाउँछिन् । एैँचोपैँचोमै बित्छ जिन्दगी । ‘माइती पनि गरिब थिए, श्रीमान् पनि गरिब परे, उहाँ बितेपछि खानकै समस्या भयो,’ बयान गर्छिन् खिना । पति जयराम बित्नुअघि उनी छिमेकीको मेला जान्थिन् । जतिसुकै एक्लो र कंगाल भए पनि उनी अहिले अन्त कतै काम गर्न जान सक्दिनन् । शरीरका कुनै पनि अंग नचल्ने आफ्ना तीन सन्तानलाई गुहुु–मुत गराउँदै दिन बित्छ । ‘पोइ हुँदा एक थाल जसोतसो खान्थ्यौँ, आजभोली आधापेट पनि खान पाइन्नँ’, उनी भन्छिन् ।
गाउँका सबै महिलाहरू आँगनमा जम्मा भएका थिए । पुरुषहरू गाउँमा यदाकदा मात्रै देखिन्थे । बढीजसो भारतमा काम गर्न गएका थिए । हामी एउटा अभियानमा त्यहाँ पुगेका थियौँ । खिना तिरुवाका तीन अशक्त सन्तानको सहयोगको लागि कहिल्यै सुदूरपश्चिम नपुगेका काठमाडौंका खेमराज संग्रौला डोटीको त्यस दुर्गम गाउँमा उपस्थित थिए । खिनाका तिनै छोरा अशक्त रहेको र उनीहरूको विपन्न अवस्थाबारे जानकारी पाएपछि खेमराजले आफूलाई सम्हाल्नै सकेनन् र तत्काल त्यस परिवारलाई एकलाख रुपियाँ सहयोगको घोषणा गरे । बिहान भालेको डाँकदेखि नै ती अशक्त छोराहरूको स्याहार–सुसारमा ब्यस्त हुनुपर्दा साँझ–बिहानको छाक टार्न पनि खिनालाई निकै धौ–धौ थियो । हो, तिनै बच्चाहरूको सहयोगको लागि उता पुगेका थिए खेमराज संग्रौला । न्युटन स्टडी काउन्सिल पुतलीसडकका सञ्चालक खेमराज संग्रौलाले व्यक्तिगत रूपमा एकलाख रुपियाँमा काठमाडांैमा आफ्ना ३१ जना साथीभाइसँग संकलन गरेको अर्को एक लाख १३ हजार आठ सय पाँच रुपियाँ रकम थप गरी पीडित बालककी आमा खिनालाई २ लाख १३ हजार ८ सय पाँच रुपियाँ घरमै पुगेर हस्तान्तरण गरेका थिए ।
‘मलाई थाहा छ, यति पैसाले उनीहरूको उपचार हुन सक्दैन । तर, यी बच्चाहरूको जीवनमा केही राहत पुगोस भनेर दिँदै छु’, संग्रौला बडो भावुक भएका थिए, ‘मान्छेले मान्छेको लागि गर्नुपर्ने कर्तव्य मात्रै पूरा गरेको हुँ ।’ उनले यो दु:खी परिवारलाई सहयोग गर्न अन्यलाई पनि अनुरोध गरे । चारपाने वडा नं ४ झापामा थोरै पैसा नहँुदा आफ्नो बाबुको उपचार हुन नसकेर मृत्यु भएको सम्झँदा उनको आँखाको चेपमा आँसु टिल्पिलाएका थिए । ‘म अलि बढी नै भावुक छु, अरूले दु:ख पाएको देख्नै सक्दिनँ, अरूको जीवन मेरोजस्तो नहोस् भन्ने मेरो अपेक्षा हो,’ उनले भनेका थिए ।
आफ्नो हातमा दुईलाख १३ हजार आठ सय पाँच रुपियाँ हात पर्दा पनि खिनाको मुहारमा कुनै चमक थिएन । उनी कुनै गहिरो अवसादमा डुबेजस्ती थिइन् । ‘यो पैसा भनेको मेरा छोराहरूलाई खुवाउनु र गुहु–मुत सोहोर्नुको दु:ख मात्रै हो । उनीहरूको उपचार भयो भने म सन्तोषले मर्न सक्ने थिएँ’, डोटेली लवजमा उनी भन्दै थिइन, ‘हजुर त्यति गरिदिनुस् ।’ खेमराज गाउँ पुग्दा गाउँलेहरूले उनलाई यस्तो व्यवहार प्रदर्शन गरे कि मानौँ उनी भगवान् हुन् । ‘यी नानीहरूको उपचार नै महत्त्वपूर्ण कुरा हो, यति सानो रकमले त्यो सम्भव छैन,’ खेम भन्दै थिए, ‘म काठमाडौं गएर मेरा साथीहरू र दातासँग उपचारको लागि पहल गर्छु । यदि, उपचार सम्भव छैन भने पनि उनीहरूको लागि अक्षय कोष बनाउने कोशिस गर्छु ।’
खिनाचाहिँ अबिरल आँसु
झारिरेहेकी थिइन् । वातावरण एकछिन निकै गह्रौँ भएको प्रतित हुन्थ्यो । उनी बारम्बार ‘धन्यवाद’, ‘धन्यवाद’ भन्दै थिइन् । ‘यो पैसाले छोराहरूको उपचार गराउनेछु’, उनी भन्दै थिइन्, ‘मलाई पैसाको होइन, छोराहरू घर भित्र बाहिर हिँड्डुल गरेको हेर्ने मन छ ।’ छोराहरूलाई दिसापिसाब गराउन, खाना खुवाउन अरूकै भर पर्नुपर्छ । ती बच्चाहरूको शरीरको माथिल्लो भाग, गोडा केही पनि चल्दैन । अनि, मानसिक अवस्था पनि कमजोर छ । श्रीमान् बितेपछि उनको जीवन झनै कष्टकर बन्दै छ । खेमराज यो सबै देख्दा निकैबेर केही शब्द ननिकाली चुपचाप बसेका थिए । सायद, उनको मनमा कुनै ठूलै पहिरो गएको थियो । त्यसैले त उनी काठमाडौंदेखि सुदूरको यो गाउँसम्म आइपुगे ।
०००
बास्तवमा डोटी नछोडेका मान्छेहरूले अझैसम्म कुनै टायर देख्न पाएका छैनन् । देख्नपाएका छन् भने यदाकदा सदरमुकाम सिलगढी वा क्षेत्रीय सदरमुकाम दिपायलसम्म आउँदा देखेका गाडी वा मोटरसाइकल मात्र हो । केही बूढाबूढीलाई त गाडी भनेको के हो र त्यसले के काम गर्छ भन्ने कुरा नै थाहा छैन । त्यसैले त हामी गाउँछेउसम्म प्राइभेट गाडीमा पुग्दा यहाँका बच्चा, बूढाबूढीहरू गाडी देखेर परैबाट भागेका थिए । गाउँलेहरूमा विकास र मोटरबीच सम्बन्ध हुन्छ भन्ने धारणा छ, त्यति हो ।
डोटेलीहरू नौला मान्छे आफ्नो गाउँतिर आए भने अचम्म मानेर हेरिबस्छन् । उनीहरू यदाकदा आफ्नो जिल्लातिर देखिने पश्चिमी गोराहरूलाई ‘अम्रिकान’ भन्छन् । बजारतिरका पुगिसरी आएका केही मानिस र महँगा होटललाई आधार बनाएर हेर्ने हो भने यहाँका मान्छे पनि ‘सुखी’ छन् भन्न मन लाग्छ । तर, गाउँलेका भनाइ सुन्ने हो भने–यहाँका गाउँतिरका मान्छे बाँच्नका लागि फलामका नंग्रा र काठका गोडा चाहिन्छन् ।
गाउँमा गरिबीले निष्कण्टक राज गरेको छ । गाउँ पस्दा गाउँलेका अनुहारमा झल्कने पीडा र तिनका लवाइखवाइमा त्यो गरिबी देखिन्छ । यदाकदा विकासे कार्यकर्ता पोलियो थोपा, दादुरा, रुबेला खोप अनि हातमा ‘प्राथमिक उपचार बाकस’ लिएर गाउँ पस्छन् । त्यहाँ पसेपछि केही ‘चेतना’ पक्कै थपिएको छ भन्ने विकासेहरू सोच्छन् । ‘विकास’को अर्थ बुझेका छन् डोटेलीहरूले–जिउ काम्ने जाडोमा पनि फिसफिसे कपडा लगाउन पाउनु, दुई छाक खान पाउनुलाई विकास भन्छन् यी गाउँले । यहाँ कसैको अनुहारमा पीडा, आक्रोशको राष्ट्रिय झलक देखिँदैन (बरु घरेलु प्रकारका पीडा देखिएलान्) । अग्लो कद भएको कुनै नेता गाउँतिर देखिँदैन (बरु गाविसस्तरको नेतालाई तत्कालै भेटिन्छ) । निजत्वहरू– अनुभूति, विचार, संवेदना, विवेक सबैलाई निजी सम्पदा बनाएर सुरक्षित राखेका छन् डोटेलीहरूले ।
त्यसो त राजनीतिक र सामाजिक परिर्वतनका उथलपुथल उनीहरूले पनि देखे– सशस्त्र द्वन्द्वदेखि अप्रिल आन्दोलनसम्म, दासढुंगा, दरबार हत्याकाण्ड हुँदै दुई शाही ‘कू’ सम्म । अनि, त्यसपछि देशमा छिरेको गणतन्त्र । लैंगीक समानता, संघीयता, समावेशीकरण…, अर्कै ग्रहका शब्दकोषबाट पदार्पण गरेजस्ता शब्दहरू पनि सुने । काठमाडौं युरोपको जिन्दगी बाँच्छ तर डोटी यी धेरै आयाम र परिर्वतनबाट पूरै बेखबर भैँm आफ्नै धुनमा मग्न छ । सायद, यसैलाई महानगरका बासिन्दा पछौटेपन भन्छन् ।

प्रतिक्रिया