“चिराग तो जलाओ, बडा अन्धेरा है”

‘चिराग तो जलाओ, बडा अन्धेरा है…’
निकै वर्ष अगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो विकट र निस्सासिँदो अन्धकारमा बुझेर ल्याउँदा मनमा आत्मग्लानि सोच साथै छटपटी पनि हुन्छ । र, सोच्न थाल्छु–किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराको सम्झना गर्दै पछुतो गर्छौं ? किन हामी हामीले भोगिसकेका भैपरी आउने त्यस्ता संकटहरूका समाधान अघिबाटै गर्ने पहल गर्दैनौँ ? आज हामी असह्य भएर भोगिरहेको यो अन्धकार यसै वर्षबाट सुरु भएको समस्या होइन । हामीले यो संकेत अघिबाट नै पाइसकेका थियौँ तर के गर्ने ?
एउटा स्विच थिचेर उज्यालो र अँध्यारो पार्नु हाम्रो हातमा भए पनि उज्यालोको स्रोत फेला पार्नु हाम्रो हातमा हुँदैन रहेछ । त्यसैले मलाई अँध्यारो र अन्धकारमा फरक लाग्छ । अँधेरो क्षणिक र सीमित हुन्छ भने अन्धकार व्यापक हुन्छ । अब फेरि के गर्ने ? हामी सबैलाई थाहा भएकै कुरा हो कि बीसौँ शताब्दीको मध्य अवधिसम्म पनि अफ्रिकालाई ‘डार्क कन्टिनेन्ट’ अर्थात अँध्यारो महादेश भनिने गरिन्थ्यो । हिजोआज त्यसो भनिँदैन किनभने धेरैजसो अफ्रिकी मुलुकहरू आज अन्धकारबाट उज्यालोतर्फ उन्मुख हुँदै छन् अर्थात भइसकेका छन् । हामी भने उज्यालोदेखि अन्धकारतर्फ जाने तत्परताको उल्टो परिधिमा छौँ । डर लाग्छ, कतै यो शताब्दीको अँध्यारो मुलुकको उपाधि हामीलाई मिल्ला भनेर †
यतिखेर मलाई एउटा सान्दर्भिक भएकै घटना सुनाउन मन लागेको छ । त्यसबेलाको कोलकातामा एउटा साह्रै संगीत अनुरागी दाइ थिए जसले मलाई औधी नै माया गर्थे । उनी अत्यन्तै मिलनसार र सहयोगी भावनाको व्यक्ति भएर होला, त्यो थलोमा उत्तिकै लोकप्रिय पनि थिए । तर, उनको एउटै अवगुण के थियो भने उनी औधी नै रक्सी खान्थे । कुन घटना–उपघटना, कारण–अकारणले हो, बुझ्नै नपाइ दाइले एक्कासी रक्सी खान छाडेकाले हामी झन्डै आश्चर्यचकित भएका थियौँ । तैपनि, किन उनले रक्सीलाई परित्याग गरे भनेर सोध्ने साहस हामीले गर्न सकेनौँ । सम्भवत: हामीलाई डर थियो कि हाम्रो सोधाइले बिच्किएर उनले फेरि रक्सी खान सुरु नगरुन् †
एक साँझ रेकर्डिङ् सिध्याएर म घर फर्कने तरखरमा थिएँ । त्यही बेला एक साँझ मलाई दाइले एउटा यस्तो क्लबमा लगेर गए जुन क्लब हरेक आइतबार रक्सी खान छाडेका भूतपूर्व पियक्कडहरूले सञ्चालन गर्दा रहेछन् । उनीहरूको मूल उद्देश्य के रहेछ भने रक्सी नखानेहरूले रक्सी छुँदै नछोउन् र, खानेहरूले रक्सीलाई तत्कालै परत्याग गरुन् । हरेक आइतबार त्यहाँ त्यस्ता पात्रको उपस्थिति हुने गर्दो रहेछ जसले भर्खरै रक्सी खान छाडेका छन् र, उसले ड्यासमा उभिएर आफूले रक्सीको बेहोसीमा गरेका गल्ती तथा कुकृत्यहरूको आत्मस्वीकृति (कन्फेसन) मात्र होइन, अबदेखि कहिले पनि रक्सी नखाने प्रतिज्ञासमेत गर्नुपर्दो रहेछ ।
त्यस्ता पात्रहरूले रक्सी खाँदा गरेका गल्तीहरू, झै–झगडा, असामाजिक तथा अमर्यादित वृतान्तहरू, केही अनौठो अथवा केही घिनलाग्दो, केही अमानुसिक र केहीकेही मार्मिक पनि हुने गर्दोरहेछ । ती सबै त्यहाँ त्यतिबेला देख्न नपाइए पनि पछिबाट केही घटनाहरूबारे भने सुन्न पाइयो । त्यहाँ रमाइलो कुरा के रहेछ भने त्यस्ता पात्रहरूलाई त्यहाँ ल्याउने अभिभावकहरू धेरैजसो आफ्नै परिवारमध्येका हुँदा रहेछन् । कसैको मातापिता, दाइदिदी, कसैका अन्तरंग मित्र, धेरैजसोका पत्नी र कसै–कसैका त प्रेमिकासमेत हुने गर्दा रहेछन् । अझ रमाइलो कुरा त के रहेछ भने कसैकसैले आत्मस्वीकृति गर्दै प्रतिज्ञा गरेर पनि फेरि रक्सी खान सुरु गर्दा रहेछन् ।
त्यही क्लबमा भएको र पछिबाट मात्र मैले सुनेको एउटा पात्रको कुरा मैले आजसम्म बिर्सन सकेको छैन । उक्त घटनाको पात्र एक नम्बरका रक्स्याहा मात्र नभएर जुवाडे पनि रहेछ र, आफ्नी स्वास्नीलाई अत्यन्त निर्ममतापूर्वक व्यवहार गर्दोरहेछ । त्यस्तै झोंकमा एकरात उसले स्वास्नीलाई घरबाट निकालिदिएछ । त्यसको केही दिन पछाडि ऊ मरणासन्न हुनेगरी बिरामी भएछ । र, त्यही क्रममा उसको रक्सी खाने लत छुटेछ । त्यसपछाडि उसलाई आफूले रक्सी खाएकोमा भन्दा बढ्ता पश्चात्ताप स्वास्नीलाई घरबाट निकालेकोमा भएछ । धेरै समयसम्म घरबाट निकालिएकी स्वास्नी खोज्दा पनि नभेट्टाएपछि अन्तमा ऊ त्यो क्लबमा आत्मस्वीकृति र पश्चात्ताप गर्न आएको रहेछ । पश्चात्ताप गर्दै उसले भनेको रहेछ, ‘हो, मलाई रक्सी खाएकोमा एकदमै ठूलो पश्चात्ताप छ तर त्योभन्दा पनि धेरै ठूलो पश्चात्ताप मैले आफ्नी निर्दोष पत्नीलाई घरबाट निकालिदिएकोमा छ र, म यहाँ पश्चात्ताप मात्रै होइन, माफी माग्नलाई पनि आएको हुँ । उनले त मलाई माफी दिन्छिन् कि दिन्नन्, त्यो त थाहा छैन…।’
यो घटना दु:खान्तमा नभएर सुखान्तमा टुंगिएछ । कुनै दुर्लभ संयोगले होला, त्यसदिन त्यही क्लबमा उसकी प्यारी पत्नी उसको विलाप सुनेर सारीको फेरले आँसु पुछ्दै एक कुनामा उभिएर मर्माहत भइरहेकी रहिछ । कुरा टुंगिने बित्तिकै त्यो अबला दौडिएर आफ्नो पतिको चरणमा परिछ । हाम्रो जीवनमा जस्तै त्यस क्लबाट पनि कोही हाँस्दै र कोही रुँदै बाहिरिँदा रहेछन् । यहाँनेर यो कथाको नाटकीय अन्त्य भए पनि कुराको अन्त्य भएको छैन ।
त्यहाँ आत्मविवेचना गर्नेहरूका कथा र घटना आ–आफ्नै भए पनि आत्मस्वीकृतिको पश्चात्ताप एउटै खाले थियो—हामीले रक्सी खाने गल्ती अज्ञानबस गरेका थियौँ । यहाँनेर मलाई के आभास हुन्छ भने अज्ञान नै अन्धकार र अन्धकार नै अज्ञानको समस्या हो । तर, संसारभरका सारा विज्ञ विद्वानहरू भन्छन् कि यो संसारमा कुनै पनि त्यस्तो समस्या छैन जसको समाधान हुँदैन । अहिलेको लोडसेडिङ हाम्रा लागि समस्या होइन, अज्ञान हो । तपाईंहरू सहमत हुनुहुन्छ ?
हुनुहुन्छ भने लौ त अब कुरा मात्र होइन, काम पनि गरौँ । र, अहिलेको काम भनेको यही हो—‘चिराग तो जलाओ, बडा अन्धेरा है…†’

(‘कहाँ गए ती दिनहरू’ पुस्तकका लेखक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति हुन् ।)

 

प्रतिक्रिया