सवल कुटनीतिको खाँचो

प्रधानमन्त्री पदमा नियुक्त भए पछि पुष्पकमल दाहाल प्रचण्डले पहिलो अन्तरवार्ता भारतीय टेलिभिजन च्यानललाई दिए । अन्तर्वाताका क्रममा प्रचण्डले आँफुलाई सबै भन्दा पहिले भारतीय राजदूतबाट बधाई आएको बताए । भारतीय विदेश सचिवबाट पहिलो आन्तर्राष्ट्रिय टेलिफोन कल आएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट पहिलो बधाई आएको बताए । यति मात्रै होइन, आफ्नो पहिलो विदेश भ्रमण पनि भारतबाटै हुने संकेत दिए ।

प्रतिनिधिसभामा विश्वासको मत लिन बाँकी छ । भारतबाट भ्रमणका लागि औपचारिक निमन्त्रणा आएकै छैन । तर प्रधानमन्त्री प्रचण्डले यति हतारमा भारतीय मिडियाहरुलाई बोलाएर यस्तो सन्देश किन प्रवाह गरे ? कसका लागि प्रवाह गरे ? भन्ने प्रश्न ज्यादै विचारणीय छ । यता प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुना साथ चीनले रसुवागढी तथा कोदारी नाका खुला ग¥यो । भोली पल्टै केरुङ–काठमाडौं रेल मार्ग आयोजनाको विस्तृत संभाव्यता अध्यायनका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो । यो घटनालाई लिएर भारतीय संचार माध्यमहरुले नेपालमा चीन परस्त सरकार बनेको अफवाह फैलाउन थालेका छन् । यही अफवाहमा टेकेर प्रधानमन्त्री प्रचण्डको पहिलो अन्तरवार्ता लिन भारतीय मिडियाहरु सफल भएका हुन् । यति मात्रै होइन छिमेकी मुलुक चीनलाई झस्काउने अभिव्याक्ति प्रचण्डको मुखबाट निकाल्न भारतीय मिडियाहरु सफल भएका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि प्रचण्डले यसरी नै छिमेकी मुलुक चीनलाई झस्काएका थिए । सिमा जोडिएका दुवै देश सँग समदुरीको सुमधुर संवन्ध राख्नु नेपालको वाध्यता र कर्तव्य दुवै हो । तर चीन सँगको नेपालको संवन्धलाई लिएर भारतले आफ्नो देशको जनस्तरमा अत्यान्त नकरात्मक प्रचार गरिरहेको छ । जसका कारण भोलीका दिनमा नेपाल–भारतबीचको जनस्तरको संवन्ध खलवलिन सक्छ ।

२०४६ सालको परिवर्तन यता नेपाल दुई छिमेकी देश सँगको कुटनीतिमा लगातार असफल हुँदै आएको छ । विशेष गरी उत्तरको छिमेकी मुलुक चीन नेपाल सँग झस्केको छ । उता भारतमा पनि नेपाल चीन तिर ढल्किएको दुस्प्रचार भइरहेको छ । कुनै समय चिनियाँ सामान नेपालमा सस्तो थियो, अहिले नेपालमा भन्दा भारतमा सस्तो छ । पछिल्लो केही वर्ष देखि चिनियाँ सामान भारतको बाटो भएर आयत भइरहेको छ । चीन तर्फको निर्यात पनि भारतको बाटो भएरै गर्नु पर्ने वाध्यतामा नेपाल फँस्दै आएको छ । पछिल्ला बर्षहरुमा नेपालमा जलविद्युत उत्पादनको प्रगति सन्तोष जनक छ ।

ग्लोवल टेण्डर गर्दा अधिकांश जलविद्युत आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीहरुले पाउने गरेका छन् । तर चीनको संलग्नतामा निर्माण भएका जलविद्युत आयोजनाको विजुली नकिन्ने निर्णय भारतले गरेको छ । वैदेशिक व्यापार घाटा कम गर्ने नेपालको संभावित स्रोत भनेको जलविद्युत हो । पछिल्लो समयमा भारतले नेपालको विजुली खरिद गरिदिएका कारण व्यापार घाटा कम गर्न निकै मद्धत पुगेको छ । तर भारतले अत्तो थाप्न छाडेको छैन । भारतमा प्रति युनिट २५ रुपैंया लागतको थर्मल प्लाण्टबाट उत्पादित हजारौं मेगावाट विजुली प्रयोग भइरहेको छ , तर नेपालबाट उत्पादित जलविद्युत प्रतियुनिट १० रुपैंयामा खरिद गर्न भारतले आनकानी गरिरहेको छ । यसको मुख्य कारण हो–‘ नेपालमा चिनियाँ उपस्थिति कमजोर बनाउने भारतीय रणनीति ।
परवहन तथा जलविद्युतको मामिला त उदाहरण मात्रै हुन् । चीन र भारत दुवै छिमेकीको विश्वास आर्जनमा नेपालले प्रगति गर्न सकेको छैन । जबसम्म यी दुई छिमेकीको विश्वास आर्जन गर्न नेपाल चुक्छ तब सम्म आर्थिक संवृद्धिको यात्रा प्रारम्भ हुनै सक्दैन, यी दुई छिमेकीको विश्वास आर्जन गर्न सके नेपालको संवृद्धि धेरै टाढा छैन । यो हेक्का नवननियुक्त प्रधानमन्त्री प्रचण्डले राख्नु जरुरी छ । चीनलाई देखाएर भारत तर्साउने , भारतलाई देखाएर चीन तर्साउने पंचायतकालिन कुटनीति अब बासी भइसकेको छ । चीन र भारत निरन्तर सम्पर्कमा छन् । किनकी चीनबाट नेपालमा वर्ष भरीमा जति बस्तुको निर्यात हुन्छ , त्यति बस्तुको निर्यात भारतमा चीनले १० दिनमै गर्छ ।

प्रतिक्रिया