कांग्रेस संसदीयदलमा देउवाको ह्याट्रिक

आमनिर्वाचनपछि नयाँ सरकार गठनका लागि दलहरूले पु¥याउनुपर्ने वैधानिक प्रक्रिया भनेको संसदीयदलको नेता चयन हो । यो प्रक्रिया सबै दलले पु¥याएका छन् । अब सांसदहरूको सपथ ग्रहणसँगै सबै प्रक्रियाहरू पूरा हुनेछन् । नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको म्याद पुस १० गते बेलुका ५ बजे समाप्त हुँदै छ । बुधबार नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन सम्पन्न भए लगत्तै नयाँ प्रधानमन्त्रीको नाम सिफारिसका लागि पार्टीहरूले अन्तिम गृहकार्य गर्ने बाटो खुलेको छ । अपवादको अवस्थामा बाहेक पार्टीको संसदीयदलको नेता मात्रै प्रधानमन्त्री बन्ने व्यवस्था संविधानमा छ । निर्वाचन आयोगले मतगणनाको परिणाम राष्ट्रपतिसमक्ष दिएपछि र राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीको नाम सिफारिस गर्न एक साताको म्याद दिए लगत्तै पार्टीहरूले संसदीय दलको नेता चयनको गृहकार्य आरम्भ गरेका थिए । अरू पार्टीहरूले क्षणभरमै संसदीय दलको नेता छनौट गरे पनि नेपाली कांग्रेसले भने चार दिन लामो प्रक्रियापछि मात्रै बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई संसदीयदलको नेता पदमा निर्वाचित गरेको छ । लोकतान्त्रिक विधि र प्रक्रिया पु¥याएर मात्रै संसदीय दलको नेता चयन गर्ने परम्परा नेपाली कांग्रेसमा छ । त्यसैले अरू पार्टीहरूले क्षण भरमा टुंग्याएको काम सम्पन्न गर्न नेपाली कांग्रेसलाई चार दिन लागेको हो ।

नेपाली कांग्रेसको संसदीय दलको नेता पदमा जो निर्वाचित हुन्छ, उही व्यक्ति प्रधानमन्त्री बन्ने अत्यधिक संभावना हुने गरी आमनिर्वाचनको परिणाम आएको कारण पनि नेपाली कांग्रेसको आन्तरिक चुनाव प्रति धेरैको चासो थियो । बुधबार बिहान सम्पन्न संसदीयदलको निर्वाचनमा ८९ मध्ये ६४ मत ल्याएर देउवाले चुनाव जितेका छन् । उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरेका छन् । आम जनअपेक्षा सभापति देउवाको सट्टा महामन्त्री थापा प्रधानमन्त्री बनुन भन्ने थियो । तर, नेपाली कांग्रेसका करिब तीनचौथाइ सांसदहरूले सभापति देउवालाई नै प्रधानमन्त्री बनाउन चाहेको देखियो । अरू पार्टीहरूले साथ नदिएको अवस्थामा बाहेक अब तीन दिनभित्र कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने करिबकरिब निश्चित छ । भरखर सम्पन्न आमनिर्वाचनले नेतृत्व परिवर्तनको सन्देश दिए पनि नेपाली कांग्रेसका अधिकांश सांसदहरू त्यो सन्देश स्वीकार गर्न तयार भएनन् । यो परिणामले जनतामा निराशा बढ्ने निश्चित छ ।

अहिलेसम्म पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवाबाट देश र जनताले संझनालायक काम खासै भएका छैनन्, बरु बिर्सनलायक काम गरेका उदाहरणहरू धेरै छन् । अब छैटौँपटक प्रधानमन्त्री बनेपछि देउवाले आफ्नो गति र मति सुधार्लान् भन्ने आशा तथा अपेक्षा नयाँ पुस्तामा छैन । पाँच दलीय गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्नुको मुख्य कारण भनेको देउवाप्रति जनतामा उत्पन्न निराशा नै हो । यो निराशालाई आशामा बदल्न देउवा, नेपाली कांग्रेस तथा अन्य सहयोगी घटकहरूले सकेनन् भने मुलुकको आगामी राजनीति पक्कै पनि सहज हुने छैन । किनकी देउवाको अलोकप्रियताको पारो निकै माथि पुगिसकेको छ । अलोकप्रिय व्यक्तिबाट हुने सानो गल्तीले पनि जनविद्रोह निम्त्याउन सक्छ । ०४६ सालमा ३० वर्षको पञ्चायति व्यवस्था विरुद्धको आन्दोलन एकाएक निर्णायक अवस्थामा पुग्नुको मुख्य कारण तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको अलोकप्रियता थियो । यतिबेला नयाँ पुस्ताका युवाहरू साविकका सत्ताधारीसँग निकै आक्रोसित छन् ।

असन्तुष्टिको सानो झिल्कोले पनि डडेलोको रूप धारण गर्न सक्ने संभावना छ । पाँच पटकको सट्टा ६ पटक प्रधानमन्त्री बन्दैमा केही हुने होइन, मुख्य कुरा युगको पुकार सुन्न सक्नुपर्छ । यसैगरी गगन थापाको पनि केही कमी कमजोरी देखियो । गत महाधिवेशनमा आफूलाई महामन्त्री जिताउन साथ दिनेहरू सबैको मतसमेत प्राप्त गर्न नसक्नुको कारण बारे उनले आत्मसमीक्षा गर्नु जरुरी छ । किनकी महामन्त्रीका रूपमा पनि पार्टीभित्र निर्वाह गर्न सकिने भूमिका धेरै हुन्छन् । गगन थापा महामन्त्री बनेपछि नेपाली कांग्रेसभित्र यो यो सकरात्मक काम भयो भन्ने महसुस पार्टी पंक्तिले गर्न सकेको छैन । आफ्नो गुटको छ भने खराब व्यक्तिलाई समेत बोक्ने तर अर्काको गुटको छ भने असल व्यक्तिलाई समेत समाप्त गरिदिने प्रवृत्तिलाई ग्रहण गर्नु गगन थापाको कमजोरी हो ।

प्रतिक्रिया