गुरुङ दोस्रो कविता संग्रह सार्वजनिक

काठमाडौं । कवि चन्द्र गुरुङको दोस्रो कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ बजारमा आएको छ । आइतबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले उक्त संग्रहको संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा समीक्षक बिन्दु शर्माले गुरुङका कविता सरल भइकन पनि गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन् । उनले समाज र जीवनका यथार्थ पक्षलाई कलात्मक बान्कीका साथ कविले कविता लेखेको सुनाइन् । शर्माले भनिन्, ‘गुरुङका कविता सरल शब्द शैलीको भए पनि त्यसले दिने भाव गहिरो छ । उनका कविताले आफैंसँग संलाप गरिरहेजस्तो लाग्छ ।’

समीक्षक राजकुमार बानियाँले गुरुङले कविता सिर्जनामा देखाएको निष्ठाको प्रशंसा गरे । उनले सरल ढंगले कविले जीवन र जगत्का सत्यतालाई कवितामा व्यक्त गरेको जिकिर गरे । बानियाँले भने, ‘चन्द्र गुरुङ होहल्ला नगरी शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन् । कविले कविताबाटै आफूलाई सम्पूर्ण रुपले पुष्टि गरेका छन् ।’ कवि श्रवण मुकारुङले दशकौंपछि पढ्दासमेत पुराना नलाग्ने कविता सिर्जना गर्न सक्नु नै कवि गुरुङको विशेषता रहेको सुनाए । उनले कलात्मक ढंगले कवि गुरुङले कविता लेखेर नेपाली वाङ्मयलाई समृद्ध बनाएको बताए ।

मुकारुङले भने, ‘सर्जकले आज सृजना गरेको रचना उसैले पछि पश्चाताप गर्नुपर्ने बन्नुहुँदैन । भोलिको समयलाई समेत सान्दर्भीक हुने रचना गर्नसक्नु नै लेखकीय सामथ्र्य हो ।’ ‘जब एउटा मान्छे हराउँछ’ मा ५० थान कविता समेटिएका छन् । २ सय ४९ रुपैयाँ मूल्य रहेको संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो । यसअघि गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ नामक कविता संग्रह प्रकाशित भएको थियो ।

प्रतिक्रिया