भारत–पाकिस्तान यस वर्ष लूले अक्रान्त

नयाँ दिल्ली । भारत र पाकिस्तानका करोडौं मानिसलाई प्रभावित बनाइरहेको तातो वाफ (लू)को लहरले नाजीर अहमद गाउँ तुर्बत नराम्ररी प्रभावित बनाइरहेको छ । अप्रिलमा पाकिस्तानको तुर्बतको तापक्रम कयौं पटक ५० डिग्री सेल्सियस नजिक पुगेको थियो । विगतमा अप्रिल यति गर्मी हुँदैनथ्यो ।

स्थानीय मानिस दिनभर गर्मीका कारण घरभित्रै बसिरहन्छन्। अत्यावश्यक काम रातको समयमा गरिन्छ । स्थानीयबासी एकातर्फ गर्मी झेलिरहेका छन् भने अर्कोतर्फ पानी र विजुलीको अभाव खेपिरहेका छन् । अहमदलाई स्थिति पहिलेभन्दा बिग्रिँदै गएको लाग्छ ।

सन् २०२१ मा तुर्बतमा मे महिनामा विश्वको सबैभन्दा तातो तापक्रम अर्थात ५४ डिग्री सेल्सियस मापन भएको थियो । यो वर्ष सहरको तापक्रम झन् बढ्ने अहमदलाई लाग्छ । तातो हावा बढेसँगै भारत र पाकिस्तानको उर्जा संकट चर्केको छ । २ लाख मानिस बसोबास गर्ने तुर्बतमा अहिले दिनमा नौ घण्टा लोडसेडिङ हुन्छ । ‘हामी अहिले नर्कमा बाचिरहेका छौं,’ अहमदले भने । भारत र पाकिस्तानमा अहिले अहमदजस्तै अनुभव गर्ने धेरै छन् ।

जलवायु परिवर्तनका कारण यस उपमहाद्विपमा प्रचण्ड गर्मी दुई महिनाअघि नै आउन थालेको छ । यो वर्ष भारतीय उपमहाद्विपको पश्चिम र मध्य भाग १२२ वर्षयताकै सबैभन्दा गर्मी रह्यो । सिन्ध प्रान्तस्थित ज्याकोबावादमा ४९ डिग्री सेल्सियस तापक्रम मापन गरियो, जुन सो महिनाको लागि विश्वकै सबैभन्दा उच्च तापक्रममध्ये एक हो ।

तातो बाफले कृषि उत्पादनमामा समेत असर गर्न थालिसकेको छ । अति प्रभावित केही क्षेत्रमा उब्जनी आधासम्मले घटेको छ । युक्रेनमाथि रुसको आक्रमणले विश्वमा खाद्यान्न आपुर्ति अभाव गराइरहेको समयमा प्रमुख खाद्यान्न उत्पादक भारतको यो स्थितिले धेरैलाई चिन्तित बनाएको छ ।

जलवायु संकटको कारण पाकिस्तान अहिले ‘अस्तित्वको लडाई’ लड्नुपर्ने स्थितिमा पुगेको पाकिस्तानकी जलवायु मन्त्री शेरी रेहमानले भनिन् । रेहमानका अनुसार तातो राफले देशको उत्तरी भेगका हिमनदीहरु अभूतपूर्व दरमा पग्लिरहेका छन् । हजारौं मानिस अहिले अचानक आउने बाढीको जोखिममा बाँचिरहेका छन् । बढ्दो गर्मीले कृषि उत्पादनका साथै पानीको आपुर्तिमा पनि असर गरेको बताइन् ।

विश्व जलवायु संगठनले एक वक्तव्यमा भारत र पाकिस्तानमा पछिल्लो समय देखिएको उच्च तापक्रम जलवायु परिवर्तनको असरका कारण उत्पन्न हुने भनेर अपेक्षा गरिए अनुरुप नै रहेको बताए । सामान्यतया तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि जादाँ तातो राफ बहन थाल्छ । भूउपग्रहीय तस्विरले मापन गर्दा जमिनको तापक्रम ६० डिग्री कटेको पाइएको छ । जबकि विगतका वर्षमा जमिनको तापक्रम ४५ डिग्रीदेखि ५५ डिग्रीबीचमा हुने गथ्र्यो ।
‘अहमदावादको दक्षिण–पूर्व र दक्षिण–पश्चिमको तापक्रम सबैभन्दा बढि मापन गरिएको छ । तर त्यस भेगमा अधिकतम तापक्रम ६५ डिग्रीसम्म पुगेको पाइएको छ,’ युरोपियन स्पेस एजेन्सीले उसको वेबसाइटमा भनेको छ ।

उच्च तापक्रमको समयमा भारत र पाकिस्तानमा उर्जाको माग उच्च हुने गर्छ । राष्ट्रिय प्रसारण ग्रिडमै असर पर्न जाँदा लोडसेडिङ थपिन्छ । भारत सरकारका अनुसार गर्मीका बीच अप्रिल २९ को दिन भारतमा विजुलीको माग २,०७,१११ मेगावट पुगेको थियो । भारत अहिले ६ दशकयताकै सबैभन्दा गम्भिर विद्युत अभाव सामना गरिरहेको छ ।

प्रतिक्रिया