तनहुँ । व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका बासिन्दा वर्षायाम सुरु भएसँगै चिन्तित हुन थालेका छन् । गत वर्ष मादी नदीमा आएको बाढीले बस्तीको क्षेत्र कटान गरेपछि उचित संरक्षण हुन नसक्दा उनीहरू चिन्तित भएका हुन् । बस्तीदेखि करिब ७० मिटर दुरीमा मादी नदी बगेकाले उक्त क्षेत्र जोखिममा रहेको पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो वर्ष तटबन्धको लागि सम्बन्धित निकायमा हारगुहार गरे पनि कुनै सुनुवाइ भएन । ‘अहिले नगरस्थित भतेरीमा तटबन्ध निर्माण गर्न लागेपछि सिधै पाटन क्षेत्रमा असर पर्ने देखिन्छ’, उनले भने ।
मादी नदी कटानका कारण त्यसक्षेत्रका करिब ६ सय ६३ घरधुरी जोखिममा परेका हुन् । नगरको १४ वडामध्ये १२ वडा मादी नदीवारी र दुई वडा मादी नदीपारि पर्दछन् । वर्षात् हुन थालेपछि नदी किनार आसपासका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको तल्लो पाटन खानेपानी संस्थाका अध्यक्ष टंकबहादुर थापाले बताए । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत जोखिममा पर्ने देखिएको छ । यदि समयमै यसतर्फ ध्यान नदिए करोडौँको क्षति बेहोर्नुपर्ने बताइन्छ ।
त्यस क्षेत्रमा पर्ने वृद्धाश्रम, भजनकीर्तन भवन, गुरुकूल आश्रम, पाटन खेलकुद मैदान, पाटन पराशर पार्क, भूपू भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालय लगायतको संरचनामा क्षति पुग्ने देखिएको हो । तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुंगे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ ।
प्रतिक्रिया