सल्यान । जिल्लामा नेकपा एमालेका पुरानै उम्मेदवार दोहोरिएका छन् । ०७४ सालको स्थानीयतहको निर्वाचनमा निर्वाचित भएका अधिकांश जनप्रतिनिधिहरूलाई आगामी निर्वाचनका लागि एमालले उम्मेदवारी दर्ता गराएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा एमालेका अध्यक्ष गोविन्दकुमार पुनले पुनः नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित कालीमाटी गाउँपालिकामा दानबहादुर खत्री अध्यक्ष र सनशिल्ता वलीले उपाध्यक्षमा पुनः उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कपुरकोट गाउँपालिकामा भीमबहादुर सेनले पनि अध्यक्ष पदमा दोहोरिने गरी उम्मेदवारी दर्ता गराएका छन् ।
सदरमुकाम खलंगा सहितको शारदा नगरपालिकामा भने एमालेले राप्रपाबाट एमालेमा प्रवेश गरेका मनोज प्रधानको नगरप्रमुखको पदमा उम्मेदवारी दर्ता गराएको छ । ०६२÷६३ सालको जनआन्दोलनताका तत्कालीन जिविस सभापति भएका प्रधान यसपालि भने एमालेबाट नगरप्रमुखको उम्मेदवारी दर्ता गराएका छन् । प्रधानको पृष्ठभूमि राजावादी भएको भए पनि जिल्लामा भने शालिन नेताको रूपमा चिनिन्छिन् ।
जिल्लाको वागचौर नगरपालिकामा भने माओवादी केन्द्र हँुदै विप्लव निकट नेकपाबाट एमालेमा प्रवेश गरेका तिलक मल्ल एमालेबाट नगरप्रमुखको पदमा उम्मेदवारी दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ०७४ सालमा एमालेले चार वटा स्थानीय तहमा निर्वाचित भएकोमा तीन स्थानीय तहमा पुरानै उम्मेदवारलाई अगाडि बढाएको एमालले जनाएको छ ।
नेपाली काग्रेसले भने सबै स्थानीय तहमा नयाँ उम्मेदवारहरूको उम्मेदवारी दर्ता गराएको छ । तीन स्थानीय तहमा निर्वाचित भएको कांग्रेसले पनि यसपाली भने पुराना कुनै पनि प्रतिनिधिहरूलाई उम्मेदवार बनाएको छैन । उम्मेदवार छनौट प्रक्रिया विधिसंगत नभएको भन्दै काग्रेसभित्र तीव्र असुन्तुष्टिका बाबजुद कांग्रेसले नयाँ उम्मेदवारहरू सिफारिस गरेको छ । कांग्रेसले स्थानीय तहहरूको प्रमुखमा उम्मेदवारी बनाएका उम्मेदवारहरू अधिकांश युवा रहेका छन् ।
कांग्रेसले शारदा नगरपालिकामा प्रकाश भण्डारी, वागचौर नगरपालिकामा जनक गौतम र बनगाड कुपिण्डे नगरपालिकामा सुन्दरा हमाललाई उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगले तोकेको मितिसम्म मनोनयन पत्र फिर्ता नलिएमा नेपाली कांग्रेस भित्रको असुन्तुष्टिका साथ बागी उम्मेदवारी दिएका उम्मेदवारहरू पनि चुनावी मैदानमा देखिनेछन् । नेपाली कांग्रेसभित्र टिकटको विषयलाई लिएर जिल्लाका तीन वटा नगरपालिकामा असन्तुष्टिसहित बागी उम्मेदवारी दर्ता भएका छन् ।
मनोनयन दर्ताका दिनसम्म पनि जिल्लामा क्रियाशील ठूला राजनीतिक दलहरूमा देखिएको अपरिपक्वता चुनावी मैदानसम्म देखिन थालेको छ । टिकट वितरणमा मनोमानी भएको भन्दै सामाजिक सञ्जालहरूमा तीव्र असन्तुष्टि देखिन थालेको छ । सल्यान जिल्लाका १० स्थानीय तहका लागि १ हजार ६ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीन वटा नगरपालिका र ७ गाउँपालिका रहेको सल्यानमा ४ सय ३५ जनप्रतिनिधिका लागि चार गुणा बढी उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले जानकारी दिए ।
सोमबार तीन बजेपछि दर्ता प्रक्रिया सुरु भएको राती अबेरसम्म मनोनयन दर्ता कार्य सम्पन्न गरिएको चन्दले बताए । उनकाअनुसार शारदा नगरपालिकामा २ सय ८५, वागचौर नगपालिकमा २ सय ५६, बनगाड कुपिण्डे नगरपालिकामा २ सय १२ जनाले उम्मेदवारी दर्ता गराएको कार्यालयले जानकारी दिएको छ ।
यस्तै दार्मा गाउँपालिकामा १ सय ३८, त्रिवेणी गाउँपालिकामा १ सय २२, सिद्ध कुमाख गाउँपालिकामा ८१ र छत्रेश्वरी गाउँपालिकामा १ सय ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कुमाख गाउँपालिकामा १ सय १७ जना, कपुरकोट गाउँपालिकामा १ सय २ र कालीमाटी गाउँपालिकामा १ सय ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
प्रतिक्रिया