सहमति एकातिर खोजी अर्कोतिर

विद्यालय पढ्दासम्म घरमा बिहानको भान्छे बन्ने पालो पथ्र्यो । उता गृहकार्य पनि सकाउनै पर्ने यता दाल, भात, तरकारी, खाजा सबै तयार पार्नै पर्ने नत्र विद्यालयमा मास्टरको र घरमा अभिभावकको गाली खानुपर्ने हुन्थ्यो । यस्तो झन्झटबीच कहिलेकाहीँ डाडु हातमा लिएर डाडुकै खोजीमा भौतारिन्थेँ त कहिले कलम हातमा लिएर कलमकै खोजीमा भौतारिन्थेँ । यो प्रसंग अधिकांश गृहिणी र विद्यार्थीले भोगेकै हुनुपर्छ । यो जानाजानको गल्ती नभएर कहिलेकाहीँ हुने लाटोपन हो ।
यो प्रसंग गृहिणी र विद्यार्थीका लागि यदाकदा हुने गरे पनि नेपाली राजनीतिक दलका नेतृत्व वर्गहरूका लागि भने बारम्बार दोहोरिने र निकै सान्दर्भिक बन्न पुगेको छ । यस्तो गल्ती हाम्रा लागि बिर्सेर कहिलेकाहीँ हुने गर्छ भने उनीहरू जानाजान यस्तो गल्ती गरिरहेका हुन्छन् । आफ्नै कुर्सीमुनि ‘सहमति’ नामक जन्तु लुकाएर उनीहरू विपक्षी र सहकर्मीको दैलोदैलोमा भौँतारिइरहेका छन् । असारे बहरझँै भित्तालाई भास्दै आफ्नै सिङ भाँचेरै भए पनि बल देखाउन पछि पर्दैनन् । अहिले राजनीतिक दलहरू सहमति खोज्दै आरोप–प्रत्यारोपको राजनीतिमा लिप्त छन् । मौका मिले राजनीति भनेकै आरोप–प्रत्यारोप हो भन्न कुनै कसर बाँकी नराख्लान् । नेपालीहरू धुमधामका साथ दसैँ मनाइरहँदा नेताहरू भने राजनीतिको खोल ओढ्दै सहमति खोज्न विमतिको धन्दामा लिन देखिए । विशेषत: एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपाल यसअवधिमा निकै चर्चामा रहे । एकअर्कामा बाण झटारो गजबले प्रहार गरिरहे । राम–रावणको बाणभन्दा बलवान् भनेझैँ नेताहरूको वचन बाण सुनेर गम्भीर बनेका जनता त्यतिखेर झसंग बने जतिबेला चियापानको नाममा माधव–प्रचण्ड मसक्क मस्किए ।
बाहिर नाटकीय अभिनय गर्ने र भित्रभित्रै नङ–मासुको सम्बन्ध कायम गर्ने नेताहरूको प्रवृत्ति विगतले दर्साइसकेको छ । जनतालाई रनभुल्ल पार्न खप्पिस हुनु नै सायद नेता हुनुको कला हो । अहिले संविधानसभा पुन:स्थापना वा निर्वाचन र सरकारको राजीनामाको प्रसंगले राजनीतिक शिखर चुमिरहेको छ । प्राय: सबै दलभित्र यसका पक्ष र विपक्षमा उत्तिकै आवाज उठिरहेका छन् । नेपाली कांग्रेसभित्र चर्किएको यो विवादका बाबजुद पनि निर्वाचनमा जाने निर्णय भएको छ । यो विवाद एमाले र माओवादीमा पनि जोडतोडका साथ उठेको पाइन्छ । विगतमा माधव नेपाल नेतृत्वको सरकार ढाल्न एमाओवादीले भएभरको बल निकालेका थिए । त्यतिखेर पनि सहमतिको नारा गजबले गुञ्जायमान भएको थियो । त्यतिमात्रै होइन, अन्डा पहिले कि चल्ला भनेजस्तो सहमति पहिले कि राजीनामा भन्ने कुरा पनि खुब चर्चामा आए । अन्तत: नेपालले सुटुक्क राजीनामा दिए । यो क्रम झलनाथ खनालको पालामा पनि टुटेन बरु सशक्त हुँदै आयो । यतिखेर पनि दलहरूबीच सहमति र राजीनामाको जुहारी घन्किसकेको छ । जुहारीको सुरुवातको श्रेय भने नमानेर पनि माओवादीलाई नै जान्छ किनभने विगतमा उसले नै यस्तो कार्यक्रमको श्री गणेशाय: नम गरेका थिए ।
यतिखेर विपक्षी दलहरू प्रधानमन्त्रीको राजीनामालाई जोड दिइरहका छन् भने सत्ता पक्षहरू सहमतिलाई प्राथमिकतामा राखिरहेका छन् । एमाले, कांग्रेसलगायत दलहरू सरकारको राजीनामाविना वार्ता नगर्ने अडानमा अडिग छन् भने सत्तापक्ष माओवादी र केही मधेसी दलहरू पहिले सहमति हुनुपर्नेमा जोड दिइरहेका छन् । श्रीमान्/श्रीमतीमा एकजना आगो भए अर्काे पानी बन्नुपर्छ भनिन्छ तर यहाँ एकजना आगो र अर्काे मट्टीतेल बन्ने गरेका छन् । आगोमा मट्टीतेल हाल्दा बरु आगो दन्काइ कम होला तर नेपाली राजनीतिकर्मीको दन्काइ ज्वालामुखीभन्दा कुनै कमी छैन । बालबच्चाको गुडिया पिर्कामा राखेर त्यसमाथि आफू बसी बच्चालाई खोज्न लगाएर हैरानी दिने अभिभावक र अहिले कुर्सीमुनि सहमति लुकाएर भौँतारिने नेताहरूको प्रवृत्ति उस्तै देखिन्छ । सहमतिको मन्त्र जप्दै विमतिको राजनीति गर्नेहरूकै कारण मुलुक गन्तव्यहीन दिशातर्फ अघि बढिरहेको छ । सहमति कहाँ छ र कसरी हुन सकिरहेको छैन भन्ने कुरा बुझेर पनि हाम्रा नेताहरू बुझ पचाइरहेकाले नै यस्तो अवस्था आएको हो ।
सत्तामुखी राजनीतिमा रमाउने बानी परेका दलका नेताहरूमा जसरी पनि सत्ताधारी बन्ने ‘भूत’ सवार भएको पाइन्छ । यसो हुनुका पछाडि ब्रह्मचारीको नाममा ब्रह्मलुट गर्ने रणनीति प्रमुख कारक रहेको कसैबाट लुकेको छैन । आश्वासनको पोको बाँडेर खोक्रो उपहार केही अपवादबाहेक दलहरूको नियम नै हो । वर्तमान सरकारकै कुरा गर्ने हो भने पनि सुरुमा जनताको वाहवाहीले प्रधानमन्त्री बनेका डा. भट्टराईको राहतको पोको कुन कुनामा थन्कियो, कसैलाई अत्तोपत्तो छैन । हुन त प्रमको कुर्सीमा गएपछि चाहेर पनि केही गर्न नसकिँदो रहेछ भनेर उनलाई थाहा नभएको होइन तर आसेपासेका तर्क नकार्न नसक्दा उनको कार्यकाल असफलतातिर धकेलिन बाध्य भयो । डा. भट्टराईले धेरै कुराको आविष्कार गर्न भ्याएका छन्, हेल्लो सरकारदेखि गाउँघर चहार्ने र आसेपासेलाई पजेरो चढाएर आफू मुस्ताङमा रमाउने चलनको समेत सुरुवात गरिदिएका छन् ।
अहिले सहमतिको खोजी गर्दै दलहरू छटपटाइरहेका छन् । विगतका सम्झौता र सहमतिलाई साक्षी राख्दा अब सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको हो । आन्तरिक झगडामा व्यस्त कांग्रेसका नेताहरू भने प्रमको उमेद्वारी दिनसमेत धौ–धौ मानिरहेका छन् । बरु आकाशको जून टिप्न उनीहरू तल्लीन छन् तर उमेद्वार दिन नसक्ने अवस्थामा छन् । उपसभापति रामचन्द्र पौडेल १७ पटकसम्म असफल बनेपछि अब उनको पालोमा पार्टीभित्रै प्रश्नचिह्न खडा भएको छ । अहिले नेपाली राजनीतिमा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’को उखान चरितार्थ भइरहेको छ । सहमतिलाई एकातिर थन्काएर सहमतिको नाम भजाएर विमतिको मार्गमा लागेका छन् दलहरू । कोही पनि एक कदमपछि हट्ने पक्षमा छैनन् । आफ्नै अडानमा स्थिर रहने हो भने संविधानसभाको आवसान गरिएजस्तै राजनीतिक यात्रामा असोचनीय संकट नआउँला भन्न सकिन्न । चार वर्षसम्म संगिनी सुईमार्फत टिकाएको संविधानसभालाई हत्या गरी गर्भमै संविधानको हत्या गरियो । अब फेरि त्यसलाई ब्युताउने कल्पना गर्दै दलका नेताहरू आपसमा विवाद गरिरहेका छन् । संविधान बनाउँछु भनेर पटकपटक आँखामा छारो हालेको कुरा नेपाली जनताले छर्लंगै बुझिसकेका छन् ।
दलहरूको झगडाले पूर्णबजेट आउन नसक्दा मुलुकको विकासक्रम मात्रै ठप्प बनेको छैन समग्र अर्थतन्त्र नै चौपट हुन लागिसकेको छ । सरकार परिवर्तनविना अझै पूर्णबजेट आउने कुनै लक्षण देखिँदैन । राजनीतिक दलहरू बरु कालसँग डराउँदैनन् तर सत्ता छाड्न सक्दैनन् । वन उपियाँ काखीमा च्यापेर बसेजस्तै प्रवृत्ति देखिन्छ उनीहरूमा । वन उपियाँको रगत चुसाइ र नेपाली राजनीतिक दलहरूको सत्ता चुसाइ पर्याय बनेको छ भन्ने कुरा सबैमा छर्लंगै छ । सत्ता, सरकार, सत्तोसराप र सपनाको संसारमा रमाउनेहरूले के बुझ्न आवश्यक छ भने गणतन्त्रलाई संस्थागत गरी मुलुकको समृद्धिका लागि सबै सच्चा राजनीतिक यात्रामा होमिनुपर्छ । तछाडमछाड, कमाउ धन्दा र खुट्टा तानेर टाउकोमा हान्ने प्रवृत्तिको अनुशरण गरिरहने हो भने नेपाली जनताबाट बाँकी विश्वास पनि गुम्ने निश्चित छ । यसकारण एकपटक कुर्सी उचालेर हेरौँ ‘सहमति’ त्यही पो लुकेको छ कि ?

प्रतिक्रिया