छिमेकका सुँगुरका चाइँचाइँ–चुइँचुइँले उसको निद्रा खुल्यो । सुत्दाको भन्दा अझै जोडले उसको टाउको दुख्दै थियो । उसले विस्तारै आँखा चिम्लिएर आफ्ना इन्द्रियलाई घरबाहिर को के गर्दै छ भनी थाहा पाउन प्रयोग गर्यो । छिमेका सुँगुरका चाइँचाइँ–चुइँचुइँबाहेक उसले अरू आवाज सुनेन ।
‘पक्कै बजार पुगिहोली …….।’ उसले श्रीमती घरमा नभएको ठहर गर्यो ।
खाटबाट सुस्तरी उठेर ऊ घैँटाको नजिकै पुग्यो । ऊ जर्किनबाट एक बटुको पानी सारेर घैँटाको मुखको बटुको झिकेर पानी घैँटामा खन्याउन खोज्दै थियो, बाहिर सर्याकसुरुकको आवाजले रोकियो । हत्तपत्त घैँटाको मुख बन्द गरी ऊ पानीसहितको बटुको लिई बाहिरियो ।
‘काका र बेच्ने केरा छ भन्दै थिइन् काकीले । कसरी दिएको हो ?’ खिनौरे केटाले सोध्यो । ‘पन्ध्रको दर्जन दिएको कान्छा ।’ उसले मन नलागी नलागी उत्तर दियो ।
‘आम्मामा † आफ्नै बारहुँदी फलेको केरालाई पन्ध्र ?’ केटो मोल सुन्दा अत्तालिएझैँ बोल्यो ।
‘बारहुँदी फलेर के गर्नु । दिनहुँ फल्ने होइन । वर्ष–दुई वर्षमा फल्ने केरा ……….ल भैगो बाह्र देऊ ।’ उसले मोलतोलमा मन दिँदै भन्यो ।
‘दश दिन्छु……….।’ केटाले दशको नोट निकाल्यो ।
‘बाह्र घटी त दिन्न हो । ’
‘नदिने त ?’
‘नदिने । ’ ऊ घर भित्र पस्यो ।
सरासर भित्र गई उसले घैँटामा बटुकाको पानी हाल्यो । उसले घैँटो सुस्तरी ढल्कायो र बटुको थाप्यो ।अघिको सङ्लो बास्नारहित पानी नाकबाट सिधै छिरी दिमाग झन्झनाउने बास्नादार पानी बनेर झर्यो ।
उसले त्यहीँ उभिएरै बटुको स्वाट्टै पार्यो । ओठ, जिब्रो, घाँटी पोल्दै त्यो कडा रक्सी उसका रगतमा बग्न थालेजस्तो उसलाई लाग्यो । ‘खुब गनेर राख्ने भएकी………। कति बटुका रे ?’ उसले नजिकै रहेको घैँटोलाई श्रीमती मानेर खिसी गर्दै सोध्यो । अनि श्रीमतीको स्वरझैँ नक्कल पार्दै बोल्यो, ‘बाइस बटुका, छोएको त छैनौ नि ?’
‘गन् न गन्, कति बटुका रहेछन् । ’ ऊ बोल्दा–बोल्दै हाँस्न थाल्यो ।
‘को छ हौ, घरमा ?’ बाहिरबाट आवाज आयो । ऊ झट्पट बटुको बोकी भान्छाघर हुँदै बाहिर निस्कियो । बाहिर जाँड बले उभिएको थियो ।
‘किन ? के चाहियो ?’ उसले बेवास्तापूर्वक सोध्यो । ‘रक्सी चाहियो । भाउजू खोई ?’
रक्सी खाँदै जाँदा छिल्लिँदै भाउजू–भाउजू भन्दै टाँसिनै आइपुग्ने बलेलाई ऊ फुटेको आँखाले पनि देखिसहन्नथ्यो । ‘बल्ल मौका मिल्यो ।’ उसले मनमनै गम्यो ।त्यसो त चौबीस घण्टा जाँडको नशामा हुने जाँड बले मात्र थिएन उसका श्रीमतीका चारैतिर मडारिने….। ‘सबलाई एक–एक गर्दै ठीक पार्छु ।’ उसका रगतमा बग्दै गरेको रक्सीको जोशमा उसले सोच्यो ।
‘कान सुन्न छाडिस् कि के हो ? कि फोक्सो छ्याङ्ग पार्ने डाक्टरी ओखतीसँगै जाँड धोकिस् ?’ जाँड बलेले पिँढीको मुडा तान्दै भन्यो ।
‘तँ जस्तो जाँडे भन्ठानिस् ? नामै के रे ?’ उसले आफ्नो प्रश्नमा आफैँ गमेर सम्झेजस्तो गरेर भन्यो, ‘जाँड बले †’
‘बढ्ता बोल्छस् ।मुख भत्किएला नि ।’ क्रुद्ध भई जाँड बले उठ्यो ।
‘दही जमाएका छन् मेरा हातमा चाहिँ…।’ दाह्रा किटेर ऊ अगाडि बढ्यो ।
रातदिन जाँडमा डुब्ने फुकिढल बले ऊ हान्निदै आएको देख्दा हच्किएर अलिक पछाडि सर्यो । अघिको उसको क्रोध डरमा परिवर्तन भएको थियो ।डराएको देख्दा झनै हौसिएर उसले बलेको गर्दन अँठ्यायो । आफ्नो सम्पूर्ण बल लगाउँदा पनि बलेले गर्दन छुटाउन सकेन ।
बलेले रुन्चे स्वरमा भन्यो, ‘मलाई पिटेर के पाउँछस् ? यतै शरणार्थी शिविरमा कुहुने मान्छे म त । अलिक स्वास्थ्यको ख्याल राखिस् भने फोक्सो राम्रो भएपछि तँ अम्रिका जान पाउलास् भनेर पो त्यसो भनेको त ।’ यति भनी सक्ता–नसक्तै बले ऽवाँऽवाँ रुन थाल्यो । बले रोएको देख्दा झट्पट् कठालो छोडी ऊ छेउ लाग्यो ।
‘भरे आइज भरे †’ उसले हत्तपत्त भन्यो, ‘भाउजू आएपछि आइज । मलाई त्यत्ति मेसो छैन ।’
आँसु पुछ्दै बले बाटातिर लाग्यो । धेरै जाँड–पानीले बलेका शरीरका सबै कलपूर्जा खराब भैसकेकाले ऊ तेस्रो मुलुक जान अयोग्य ठहरिएको थियो । घरका छोरा बुहारी उहिल्यै अमेरिका पुगिसकेका थिए । यहाँ बले र उसकी जहान काल कुर्दै बसिरहेका थिए । त्यस्तो बलेलाई हात हालेकोमा उसलाई थक्कथक्क लाग्यो ।
‘लौ हेर † बुहारी त भन्दै थिई बिर्सिन्छ भनेर । खोई त केरा बाहिर राखेको ?’ लिम्बू बज्यैले उसको सोचाइको लहरो चुँडाइदिइन् । उसले ङिच्च दाँत देखायो ।
दुवै हातमा केरा बोकेर बाहिर आउँदा उसले देख्यो बज्यैले ए.बी.सी.डी. को किताब खोलिकन पढ्न थालिसकिछन् ।
‘हैन हौ बज्यै † ए, बी, सी, डी, जानियो त ?’ उसले पालीमा टाँगिराखेको डोरीमा केराका काइँया झुण्ड्याउँदै सोध्यो ।
‘अलिअलि त जानियो हौ । हैन कति अप्ठेरो हो यो कुइरे भाषा ।’ किताबबाट आँखै नहटाई आमैले भनिन् ।
‘मर्ने बेलामा कुन्नी के भन्या जस्तो छ हाम्रीलाई पनि ।’ उसले अरू केरा भित्रबाट बाहिर ल्याउँदै भन्यो ।
‘आ, म त जान्दछु जस्तो लाग्दैन हो बोल्न त । मरिकाटे आउँदैन ।’ बज्यैले किताब बन्द गर्दै भनिन् । ‘बोल्न नजाने अम्रिका गएर पनि के गर्नु ।’ उनले उठ्ने तरखर गरिन् ।
‘बोल्न जाने पनि के गर्नु नि अर्काको देशमा ? खा भने खानुपर्यो । नाच् भने नाच्नुपर्यो, मर् भने मर्नुपर्यो । आफ्नै देशमा त खेदाए भने कुइरेले कतिञ्जेल राख्ला र ?’ उसले मनको उकुसमुकुस पोख्यो ।
‘संसारै ग’का छन् बाबै । राम्रै भएर त होला ।अब जे होला–होला ।’ बज्यै बाटातिर लागिन् ।
उ भित्र पस्यो । उसको देब्रेपट्टी बाँसका खाटमाथि लुगाफाटाका साना–साना पोकाहरू कसिएका थिए ।खाटमुनि भाँडाकुँडाका त्यस्तै पोकाहरू थिए ।दुई प्राणीलाई चाहिने थाल, बटुका र कराही, कसौाडीबाहेक सबै भाँडाकुँडा धोइपखाली पोका कसिएका थिए । अम्रिका जानलाई तम्तैयार उसकी श्रीमतीका लागि एउटा मात्र बाधा उसको छातीको दाग थियो । उसले सोच्यो, ‘श्रीमतीको अम्रिका जाने ढिपीको अगाडि उसको प्रत्यक्ष विरोध टिक्न नसके पनि उसको न त शरीर मान्दैछ न आत्मा ।यही विरोधको रूप उसको फोक्सोको दाग बनेर देखापरेको हो ।’ आफ्ना मनमा कुरा खेलाउँदै ऊ बाहिर निस्कियो र वरिपरि हेर्न थाल्यो ।
बेलडाँगी शिविरका झुप्राहरू क्रमश: खाली हुँदै थिए । तेस्रो मुलुकमा पुनर्वासको लागि जानेहरूको नाम क्रमश: क्याम्पको सूचना पाटीमा टाँसिन्थ्यो । नयाँ हलचलबीच भिज्न नसक्ने ऊ र ऊजस्ता भुटानै फर्कन पाउनु पर्ने आवाज बोकेकाको आवाज सानो हुँदै गैरहेको थियो । र अन्तमा घर–परिवारको ढिपी, अनिश्चित भविष्य र अँध्यारो शिविरको वातावरणले त्यो आवाज निभेको थियो ।बाहिरको आवाज त निभेको थियो तर भित्रको ? भित्रको हाहाकार सुन्ने को ? यही आवाजलाई मत्थर गर्न ऊ रक्सीमा डुब्न थालेको थियो ।
अस्ति मात्र ऊ शिविरको पुछारबाट हिँड्दै गर्दा बूढी आमैले भनेकी थिइन्, ‘मेरा वरिपरिका सबै अम्रिका गए । मेरो एक्लो झुप्रो मात्र बाँकी रह्यो । बूढाबूढीलाई दिउँसै स्यालले घिच्याउला जस्तो छ हौ नानी ।’
आधा शरणार्थी मात्र तेस्रो मुलुक पुनर्वासमा परेका छन् । बाँकी शरणार्थीको टुङ्गो कसरी लाग्ने हो ? ऊ यही प्रश्नमा रुमल्लिँदै थियो ।‘केरा कसरी हो दाइ ?’ एउटी केटीले उसलाई सोधी ।
‘बाह्र हो दर्जनको । ’ उसले केटीलाई राम्ररी हेर्दै भन्यो । उसले बाह्र रूपैयाँ दिई ।ऊ केरा राखिदिन झोला खोज्न भित्र पस्यो तर झोला कतै पाएन । ऊ खोज्दै थियो । बाहिरबाट आवाज आयो । ‘दाजु † झोला होस् हातैमा लान्छु ।’
उसले एक दर्जन केरा केटीलाई दियो । पहेँला, मजाले पाकेका केरा हातमा पुग्नेबित्तिकै केटीले केरा ताछेर खान थाली । मीठो गरी केरा खाएको देखेर उसलाई पनि भोक बढेको जस्तो भयो । उसलाई केरा खाउँखाउँ लाग्यो । लगत्तै उसले श्रीमतीको उर्दी सम्झियो, ‘दश दर्जन केरा छन् । खबरदार † अम्रिका जान सामान पनि त किन्नुपर्यो । गाउँभरि बाँड्दै, खाँदै सक्ने होइन नि ।’ ऊ मन मारेर बस्यो ।
‘हत्तेरी † रक्सी भए पनि त पानी मिसाउन मिल्थ्यो नि † केरामा केही मिसाउन नमिल्ने…….।’ ऊ सोचाइमा बग्दै थियो । उसले टाढाबाट लर्बरिँदै आउँदै गरेको जाँड बले देख्यो ।
बले उसका घरअगाडि बाटामा उभियो । ऊ मातेको छ भन्ने उसको लर्याङ्तर्याङ्ले ठम्याउन सकिन्थ्यो । ‘गधा † केरा बेचेर अम्रिका पुग्छु भन्ने सोच्छस् ?’ बलेले राता आँखा पल्टाउँदै भन्यो । ऊ केही बोलेन ।
‘गधा † देश बेचेर, आफन्त बेचेर अम्रिका पुग्छु भन्ने सोच्छस् ?’ अझै बलेले उसलाई घुर्न छोडेको थिएन । उसलाई भित्रभित्रै असजिलो लाग्न थालेको थियो । के गरौँ, कसो गरौँका भावले ऊ यताउति हेर्न थाल्यो । विस्तारै रमितेहरू जम्मा हुन थाले । बलेको प्रश्नको उत्तर जाँड नखाएको समयमा दिने सामथ्र्य उसको थिएन । ऊ चुपचाप घरभित्र छिर्यो ।
प्रतिक्रिया