सत्ताको लोभमा उजाडिएको राष्ट्रियता

१४ जेठमा संविधानसभा विघटन गरिंदा मंसिरमा पुन: संविधानसभाको निर्वाचन घोषणा गरिएको थियो । विरोधमा उत्रिएका नेपाली कांग्रेस र नेकपा एमाले यतिखेर पूरक बजेटका विषयमा घोत्लिएका छन् र त्यतिखेरको अपमान बिर्सेर नयाँ शिरामा सम्झौता या संघर्षको राजनीतिक कसरत गरिरहेका छन् । एमाले र कांग्रेसलाई बिरालाले मुसा खेलाएझैँ गरिदिँदा सत्ताको दाउमा च्याँखे थाप्ने मौका भने राष्ट्रियताका चर्का कुरा गर्ने र रामबहादुर थापालाई प्रधानमन्त्री बनाउन पाए जसका अघि पनि लम्पसार पर्ने नेकपा–माओवादीलाई परेको छ । चरम बदनामी कमाएका मन्त्रीहरूको भीड बोकेर एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई एक्लै सत्ता वैतरणीको पुच्छरमा झुन्डिरहेका छन् । ठूला दलको यो ताल देखेर गाउँमा भएका युवायुवती सयकडा पाँच ब्याजमा ऋण लिएर खाडी मुलुकमा भाँडा माझ्न हिँडेका छन् । दुई ठूला दल संविधानसभाको निर्वाचन या पुन:स्थापनाको ललिपपमा करिब ६ महिना निकम्मा सरकारको सिकार भए र झुम्राको पुतली नै बने । अझै ६ महिना मुलुकमा निर्वाचन हुने संकेत देखिएको छैन । केन्द्रमा सत्ताको रन्कोमा रन्थनिएर ठूला भनिएका दलहरू एमाओवादी र नेकपा–माओवादीका नेतासँग कुम हल्लाउँदै समय बर्बाद गरिरहेका छन् ।
काठमाडौंमा सरकारको दाबी गर्ने नेकपा–माओवादीका कार्यकर्ता जिल्लातिर चन्दा आतंकमा सरिक छन् । राष्ट्रियताका नाममा भारतीय सिनेमा, गीत र सवारी साधनलाई रोक लगाएर बेमौसमी उपस्थिति जनाएका उनीहरूले अन्तत: त्यसलाई पनि पार्टीलाई सहयोग जुटाउने सूत्र सावित गरे । माउपार्टीसँग सम्पत्ति पाए अंशबन्डा, नपाए कब्जा गर्ने नियत लिएको नेकपा–माओवादीले यतिखेर जिल्लामा फेरि ०५२ सालकै झल्को दिने गरी जनसरकार, जनकारबाहीका नारा दिइरहेका छन् । फेरि, भूमिगत राजनीति, बमबारी, रक्तपात, रगतको फाल्साको रवाफ दिँदै राष्ट्रियताका चर्का नारा उरालेका छन् । १६ वर्षसम्म पनि समर्पयतत् हुन नसकेको युद्धको रापमा फेरि नेपाली समाज सेकिनु पर्ने हो कि भनेर सर्वसाधारण आतंकित बनेका छन् ।
युद्धका लागि कहाँबाट आउँछ बल, सहयोग ? कसले माओवादीलाई फेरि जंगल जाने मन्त्र फुकिरहेका छन् र नागरिक सास्तीको कल्पनामा डुबेर अहिले नै ज्वरोको सिकार हुन थालिसकेका छन् । १४ जेठका भाकामा संविधानसभा अगाडि अनशन बस्ने र हल्ला गर्ने नागरिक समाज यतिखेर मौन छन् । यतिखेर नागरिक समाज हिजो लोकतान्त्रिक आन्दोलनमा एमाले, माओवादी र कांग्रेसलाई सघाएवापत पाएको नियुक्ति, सहयोगको ब्याज लगाएर बसेका भैँm देखिन्छन् । बिहान एउटा टिभी च्यानलमा निर्वाचन या पुन:स्थापना भनेर दुई धारको बहस गर्ने ठूला बुद्धिजीवीहरू बेलुका अनामनगरमा बाजेको सेकुवामा एउटै प्लेटमा एउटै सिन्काले सेकुवा घोचिरहेका हुन्छन् । मुलुकको यति टीठलाग्दो हालतमा सर्वसाधारणका कोही पनि छैनन् । गाउँका झोलेदेखि टोले गुन्डासम्म संरक्षणका लागि समाजमा जुन पार्टी बलियो छ, त्यसैको सदस्य र चन्दादाता भएका छन् । पार्टी कार्यालयमा हिजो त्याग र बलिदान दिनेहरू आज तिनै तोरीलाहुरेको तलुवा हेरेर फर्कनु पर्ने अवस्था छ । नेतृत्वसम्म पुग्न तिनैले छेकेका छन् ।
तीनपटक रिपोटर्स क्लबमा भारतीय राजदूत जयन्तप्रसादले नेपालका शक्तिहरू भनेर प्रजातन्त्रवादी, राजावादी र माओवादीको उच्चारण गरे । यसर्थ, मुलुकमा राजावादीलाई अझै पनि शक्तिमै देख्न चाहने भारतको नियतबारे प्रजातन्त्रवादी र माओवादी शक्तिले बुझ्नु जरुरी थियो । उसले अहिले पनि राजावादी शक्तिलाई उचाल्नुुको अर्थ के थियो ? पटकपटक भारतीय राजदूत पूर्वराजासँग भेटको समय मागिरहेका र बरु पूर्वराजाले नै यतिखेर आनाकानी गरेर बसेको विषय पनि गौण मान्छन् दलहरू । एउटा संरचनामा अटाएका राजनीतिक दलको त यति भद्रगोल अवस्था छ भने गाउँबाट बसभाडा तिरेर ल्याइएका भीडलेमात्र शक्तिकेन्द्र स्थापित हुन सक्दैन र चेन अफ कमान्डको राजावादी राजनीतिक सन्तुलन छैन भन्ने कुरा सायद पूर्वराजाले बुझेका छन् । यद्यपि, दलहरूको बेथिति हेरेर राजावादीहरू सक्रिय हुनु अन्यथा पनि होइन ।
राष्ट्रियताका चर्का कुरा गर्ने एमाओवादी आज निर्लज्ज भएको छ । उसले हिजो कांग्रेस र एमालेलाई लगाएको धारे हातको बदला पाइसकेको छ । गाउँमा बेपत्ता र मारिएका परिवारका आँसु पनि पुछ्न नसकेका माओवादीले देशभक्त र राष्ट्रवादीहरू एक हुनुपर्छ भन्दा त्यसै हिजो राजावादीहरू हाँसेका रहेनछन् । भारतका अघि लम्पसार परेर उसले बनाएको जाली तमसुकमा दायाँबाँया फड्के किनारामा ल्याप्चे लगाउने औकातबाहेक यो राष्ट्रवादी क्रान्तिकारी शक्तिको सत्ताले केही गर्न सकेन । बरु, उसका हर्कतले हिजो तर्सिएर राजावादीबाट लपक्कै माओवादी भएका आज फेरि राप्रपा नेपाल र कमल थापाकै धार ठीक भन्दै फर्किएका छन् । राष्ट्रियताका सवालमा हिजो २२ जिल्लाको तराई राज्य बनाउँछु भन्दा राजीनामा मागिएका शरदसिंह भण्डारीभन्दा दसगुणा बढी अपराध बाबुराम सरकारले गरेको छ । १४ जेठमा संविधान जारी भएको भए पनि यतिखेर मुलुकमा कति घरहरू जलाएर आगो ताप्ने काम हुन्थ्यो, त्यो अशान्त घडीबाट मुलुक केही महिनाका लागि जोगाएको भ्रम पालेर एमाओवादी बस्दा राष्ट्रियता झन् कमजोर विषय बनेको छ ।
आज एमाओवादीले भारतपरस्त भएर राष्ट्रियताको लालपूर्जा भारतलाई सुम्पियो भनेर जति चिन्ता भएको छ उति नै नेताहरू भन्न थालेका छन्, मुलुक असफल राष्ट्र बन्दै छ । यसैको नतिजा हो नेकपा–माओवादीको सक्रियता पनि । बिभाजन भए पनि निर्वाचन आयोगमा नियमानुसार बहुमत नपुग्ने एउटा पार्टीले आज हल्ला गरेको भरमा नेपालमा अराजकता मच्चिएको छ । दसैँका बेला रुपन्देहीको भैरहवा नाकामा राष्ट्रियताका नारा घन्काउने काम हुुँदा नेपाली ट्रक भारत छिर्न पाएनन् । भारतमा ट्रक छिर्न नसकेका अवस्थामा कसरी लुम्बिनी भारतले दाबी गरेको खण्डन गर्न सक्छ नेकपा–माओवादीले ? कसरी उसले राष्ट्रियताको बारे बोल्न सक्छ ? सीमाका एसएसबीले घर फर्केका नेपालीलाई लुट्ने र कुट्ने गर्दा चुइँक्क बोल्न नसक्ने सरकारले किन हिजो सुजाता कोइरालालाई भारतको पुच्छर भनेर खिल्ली उडायो ? अनि माओवादीको समूहले राष्ट्रियताका नाममा सुरु गरेको आन्दोलनले अरू क–कसका स्वार्थ पूरा हुँदैछ नेपाली भूमिमा ? सर्वसाधारणले दिएको चन्दाका भरमा नेकपा–माओवादीले जंगल पस्ने, युद्ध लड्ने र रगतको भेल बगाउने कुरा पक्कै गरेको छैन । उसले पस्ने भनेको जंगल, बगाउने भनेको रगतको भेल यति सहज छैन । हिजो राज्य आतंक र लाल आतंक थियो मुलुकमा । यही घानमा परेका थिए नेपाली । तर, साँच्चै उसले यो रहर कसैको इसारामा पूरा गर्ने तयारी गरेको छ भने पक्कै पनि अरू विदेशी शक्तिलाई नेपालमा चलखेलका लागि बोलाउनु हो । संविधानमा एउटा विदेशीको रहर, जातीय राजनीतिमा अर्को विदेशीको रुचि । लुम्बिनीमा भारतको चासो । विमानस्थलको साँचोमा उसको लामो हात । अनि नेकपा–माओवादीलाई उचाल्नुमा अर्को शक्तिको उदय र यसपछि मुलुकमा विदेशी सेनाको आगमनका लागि औपचारिक रूपमा ढोका खुल्ला । त्यसपछि अफगानिस्तानमा विदेशी सेनाले लात हानेको दृश्यको नेपाली संस्करण । के हामीले राष्ट्रियताका विषयमा साँच्चै मिहीन ढंगले केलाएर सोच्न भ्याएका छौँ ? हिजो जनमोर्चामा रहँदा देश फिजीकरण हुँदै छ भनेर कुर्लने अमिक शेरचनहरूले आज एकीकृतको छाप लाग्दैमा राष्ट्रियताका विषयमा यसरी आँखा चिम्लेर बस्न मिल्छ ?
गाउँमा युवा नै छैनन् । राजधानी काठमाडौंमा भएका पनि कुनै न कुनै बहानामा विदेशिने योजनामै छन् । यो अवस्थामा भएका युवालाई किन युद्धमा पठाउने ? किन फेरि भूमिगत राजनीतिको आवश्यकता पर्‍यो ? किन मुलुकमा रगतको भल बगाउने रहर बढ्यो र किन विदेशीहरू राष्ट्रियताकै चम्चा प्रयोग गरेर नेपाललाई असफल मुलुक बनाउने तयारीमा छन् ? राजनीतिक दलका नेताले न बुझेका छन् न बुझाउन सकेका छन् । तालिवानीले अघि लागेका अमेरिकी सैनिकलाई पछाडिबाट गोली ठोकेभैँm हामी सकौँला विदेशी सेनालाई फिर्ता हो भन्न ? कसरी सकौँला, जब कि भारतबाट घर फर्केकाहरू सीमामा रोकिएका छन् र नेपाली ट्रक भारत छिराउने हुति छैन हामीसँग । अब युद्ध होइन, राष्ट्रियताका सवालमा किन हामी छलफल नगर्ने ? उजाडिएको राष्ट्रियता किन हाम्रो चिन्तनको विषय बनेन ? संविधानसभाको निर्वाचन तोक या संविधानसभा पुन:स्थापना गर । तर, कम्तीमा मुलुक रहनु पर्छ र राष्ट्रियता जाग्नु पर्छ भनेर किन दलहरू सुझाउन सक्दैनन् नागरिकलाई ? राष्ट्रियता सत्तामा टिक्ने या सत्तामा पुग्ने साँचो त्यतिखेर कामयाव हुन्छ जब मुलुक सबल रहन्छ । विदेशीको रणभूमिमा हामीले राष्ट्रियताका विषयमा कुर्लनु सिउँदो उजाडिएका अगाडि मिलन र मधुमासको गीत गाउनु जस्तै हुन्छ ।

प्रतिक्रिया