छोरी बलात्कारको आरोपमा बाबु पक्राउ !

दैलेख । ‘घरैदेखि सुरु गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने नारासाथ लैंगिक हिंसा रोकथाम गर्न सचेतनामूलक १६ दिने अभियान सुरु भएकै दिन हिजो मंसिर ९ गते बिहीवार दैलेखमा १७ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोपमा ३६ वर्षीय एक पुुरुष पक्राउ परेका छन् । तीन वर्षदेखि पटकपटक बलात्कार गर्दै आएको बुबाले पछिल्लो पटक गत साउन २८ गते बलात्कार गरेको भन्ने पीडित पक्षले मङ्सिर ९ गते दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी भुवनेश्वर साहले बताए ।

आरोपितलाई थुनामा राखी अनुसन्धान गर्न दैलेख जिल्ला अदालतबाट शुक्रवारदेखि लागू हुने गरी १० दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण बिहीवार दैलेख अस्पतालमा गरिएको र घटनाको अनुसन्धान थालिएको बताइएको छ । बलात्कार घटनापछि आफू असुरक्षित भएको महसुस गरेपछि बालिका झण्डै साढे तीन महिनादेखि जिल्ला बाहिर आफन्तको संरक्षण बसेकी ती बालिकाले मङ्सिर ५ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतमा पुगी घटना बारे खुलाएकी हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा बालिकाको सुरक्षा र कानूनी उपचारका लागि सामाजिक सेवा केन्द्र (सोसेक)को महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । सेवा केन्द्रले पीडित महिला तथा बालबालिकाहरुलाई आपत्कालिन आवास र कानूनी सहायता दिने गरेको छ ।

प्रतिक्रिया