ओलम्पियन हमाल भए मन्त्री

काठमाडौं । ओलम्पियन बाँकेका सुरेन्द्र हमाल लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री बनेका छन् । हमालसँग नवनियुक्त प्रदेश सरकारका मन्त्रीले आइतबार सपथ लिएका छन् । उनका आइतबार नै पदभारसमेत ग्रहण गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष समेत रहेका हमालल बाँके क्षेत्र २ (ख) बाट नेपाल कांग्रेसकोतर्फबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पदभारपछि कर्मचारीहरुलाई सम्बोधन गर्ने क्रममा हमालले आफू खेलकुद पृष्ठमूभीबाट आएकोले नतिजामा विश्वास गर्ने बताएका थिए ।

हमालले आफू खेलाडीका रुपमा सफल रहेको स्मरण गर्दै राजनीतिमा पनि असल नेताका रुपमा परिचिय बनाउने चाहना रहेको र सोही अनुसार काम गर्ने बताएका छन् । फरक मन्त्रालयको जिम्मेवारी भएपनि खेलकुदको विकासमा पनि हामीले सहकार्य गर्ने हमालले बताएका छन् । आफ्नो खेल जीवनमा हमालले सन् १९८३ मा दमसकसमा भएको एसियन वेट लिफ्टिङ च्याम्पियनसिपको ६७.५ केजी तौल समूहमा स्न्याचतर्फ कास्य पदक जितेका थिए । त्यस्तै दक्षिण एसियाली खेलकुद (साग) तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को भारोत्तोलनमा ५ रजत र ७ कास्य पदक जितेका थिए । स्वदेशमा सन् १९८४ मा भएको पहिलो सागमा ३ रजत जितेका हमालले १९८५ दोस्रो सागमा २ रजत र १ कास्य, पाकिस्तानमा १९८९ मा भएको चौथो साग र श्रीलंकामा १९९१ मा भएको पाँचौं सागमा ३ कास्य पदक जितेका थिए ।

हमालले १९८४ मा अमेरिकाको लस एन्जल्समा भएको ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका थिए । भारोत्तोलनका सफल खेलाडीका रुपमा रहेका हमालको आत्मकथा ओलम्पियन २०७३ विमोचन भएको थियो । क्रिएटिभ बुक्सले प्रकाशन गरेको ओलम्पियन ः सुरेन्द्र हमालको सहलेखन टीएस ठकुरीले गरेका थिए ।

प्रतिक्रिया