सहरी क्षेत्रमा सहकारी दर्ता बन्द गर्ने तयारी

काभ्रे, १४ असोज । सरकारले केही समयभित्र सहरी क्षेत्रमा सहकारी दर्ता प्रक्रिया बन्द गर्ने तयारी गरेको छ । सहकारी ग्रामीणमुखीभन्दा सहरमुखी भएको गुनासो आउन थालेपछि सरकारले यस्तो तयारी गरेको हो ।
नेतृत्व विकास तथा तनाव व्यवस्थापनसम्बन्धी चारदिने तालिमको शनिबार धुलिखेलमा उद्घाटन गर्दै सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले सहरी क्षेत्रका सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गरेको बताए । अनुत्पादक क्षेत्रमा लगानी गरेर बचतकर्ताको बचत जोखिममा पार्ने काम तत्काल बन्द गर्न ढकालले बचत तथा ऋण सहकारीलाई निर्देशन दिए । सरकारका निकायले सबै सहकारीको अनुगमन गर्न नसकेकाले सहकारीमा विकराल रूप आउन लागेको उनले बताए ।
मन्त्री ढकालले सहकारीलाई व्यवस्थित गर्न सरकारले कार्यदल गठन गरिसकेको जानकारी दिए । सहकारी ऐन र कानुन पुराना भएकाले परिवर्तनको तयारी अन्तिम चरणमा पुगेको भन्दै ढकालले ३ प्रतिशत उत्पादन धानेका सहकारीको व्यवस्थापनका लागि सहकारी नीति तत्कालै लागू हुनेमा जोड दिए । सहकारीको क्षेत्र फराकिलो बनाउन, सहकारीको विकासका लागि दीर्घकालीन र अल्पकालीन विकासका लागि सरकारले पाँचवर्षे रणनीतिक योजना बनाउन सुरु गरेको ढकालले बताए । नेपालमा २६ हजार सहकारीमा ३६ लाख सेयरकर्ताले बचत संकलन गर्ने गरेको उनले बताए ।
कार्यक्रममा एनेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेसलगायत दलबाट ५/५ जना प्रतिनिधि तालिममा सहभागी भएका थिए । कार्यक्रममा एनेकपा माओवादीका नरेश ठकुरी, नेकपा एमालेका पोलिटब्युरो सदस्य काशिनाथ अधिकारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शोभाकर पराजुली, नेपाल परिवार दलका केन्द्रीय सदस्य गणेशकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद बाँस्कोटा, सहअध्यक्ष सरोजकुमार शर्मा, राष्ट्रिय सहकारी बंैकका प्रबन्ध सञ्चालक केवी उप्रेती, राष्ट्रिय सहकारी संघका सञ्चालक ओमदेवी मल्ल, सगरमाथा आरोही सहकारीकर्मी शिव डाँगी, आयोजक संस्थाका रामशरण बस्नेतलगायतले नेपालका सहकारीभित्रका समस्या, सहकारीले पुर्‍याएको योगदान र भावी दिनमा सहकारीले खेल्नु पर्ने भूमिका विषयमा धारणा राखेका थिए ।
यसैबीच असोजभित्र साधारणसभा गर्नुपर्ने नियमका कारण काभ्रेमा शनिबार मात्र एकैदिन दर्जन बढी सहकारीको साधारणसभा सम्पन्न भएको छ ।
सहकारी कार्यालयले सहकारी ऐनमा बचत तथा ऋण सहकारीले असोजभित्र सहकारीले साधारणसभा सम्पन्न गरिसक्नु पर्ने व्यवस्था गरेपछि त्यस्ता सहकारीले हतारमा साधारणसभा गरेका हुन् ।
एकैदिन साधारणसभा भएका सहकारीमा स्वर्ण लक्ष्मी, आदर्श, सिद्धार्थ, गोसाइकुण्ड, शिक्षक हितलगायत बचत तथा क्रण सहकारी रहेका छन् । त्यसैगरी पनौती र धुलिखेलमा लक्ष्मी महिला, एकीकृत, कुशादेवीमा हिमाललगायत सहकारीले वार्षिक साधारणसभा गरे । त्यस्ता संस्थाले एक करोड बढीको कारोबार गरिरहेका छन् ।
संकटाद्वारा एटिएम सञ्चालनको माग
काठमाडौं : संकटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एटिएम सञ्चालन गर्न माग गरेको छ । विभिन्न निकायसँग माग गरे पनि संस्थालाई एटिएम सञ्चालनको अनुमति नदिएको संस्थाका प्रबन्ध सञ्चालक विन्देश्वर श्रेष्ठले बताए । संस्थाको १३औँ साधारणसभामा श्रेष्ठले संकटालाई एटिएम सञ्चालनको अनुमति दिने हो भने एक साताभित्र सञ्चालनमा ल्याउने दाबी गरे ।
आफ्ना सदस्यको विश्वासका लागि नाफातर्फ भन्दा गुणस्तर र टिकाउतर्फ विशेष जोड दिएको उनले बताए । बैंक तथा वित्तीय संस्थाजस्तै सहकारीलाई पनि एटिएम सञ्चालन गर्ने अनुमति दिनुपर्नेमा उनले जोड दिए । ‘दसँैअगाडि नै डेबिट कार्डको व्यवस्था गर्ने योजना रहेको छ,’ श्रेष्ठले भने, ‘यस्तो अवस्थाले रकम बोकेर हिँड्ने झन्झटबाट सदस्य मुक्तहुने छन् ।’ संस्थाको भावी कार्यक्रमअनुसार काठमाडौं उपत्यकाका दुई सयवटा सफा टेम्पोलाई लगानी गर्ने योजना रहेको उनले बताए ।
आर्थिक वर्ष ०६८/६९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ईश्वरमान तुलाधरले आव ०६८/६९मा पाँच करोड नौ लाख आठ हजार नौ सय सेयर पुँजी रहेको बताए । त्यस्तै सोही आवमा ६२ करोड ८५ लाख सात सय निक्षेप संकलन गरी ४७ करोड ८० लाख आठ हजार नौ सय कर्जा लगानी गर्न सफल भएको संस्थाले बताएको छ । आव ०६९/७० मा सेयर पुँजी पाँच करोड ५० लाख र निक्षेप ७३ करोड पुर्‍याउने योजना रहेको संस्थाले जनाएको छ । त्यस्तै संकटा सहकारीको वार्षिक कार्यक्रमअनुसार यस वर्ष अष्टावक्र बचत तथा ऋण सहकारी पुरस्कृत भएको छ । संस्थाले आफ्नो लगानी तथा आम्दानीको स्रोतलाई अझ बढी विविधीकरण गर्दै लैजाने र उत्पादन, सेवामूलक क्षेत्रमा लगानी गर्ने नीति अवलम्बन गर्ने पनि जनाएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडाल, केबी उप्रेती, अर्थविद् डा. चिरन्जीवी नेपाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष मीनराज कडेंललगायत सहभागिता रहेको थियो ।

प्रतिक्रिया