लागू भएन घरबहाल कर

नेपालगन्ज, ७ असोज । सरकारले घरबहाल कर लागू गर्ने बताए पनि यो अझै कार्यान्वयनमा आएको छैन ।
घरधनीले घरभाडा असुले पनि त्यसबापत उनीहरूले सरकारलाई राजस्व तिर्ने गरेका छैनन् । सरकारी ऐनअनुसार प्रत्येक घरधनीले घरभाडाको २ प्रतिशत घरबहाल कर तिर्नुपर्छ ।
नेपालगन्ज नगरपालिकामा गत आर्थिक वर्षमा नौ लाख घरबहाल कर असुली भएको छ । ‘नेपालगन्जमा अधिकांश घर भाडामा दिएका छन् तर कर भने नौ लाख मात्र उठ्छ । घरधनीले कतिसम्म अटेर गरिरहेका छन् भन्ने कुरा यसैबाट पुष्टि हुन्छ,’ नेपालगन्ज नगरपालिकाका प्रशासकीय अधिकृत मोहन हमालले बताए ।
हमालका अनुसार घरधनीले भाडामा बस्ने व्यक्ति संघ/संस्था तथा फर्मसँग धेरै भाडा असुल गरेर नगरपालिकालाई थौरै रकमको सम्झौता देखाउने गरेका छन् । ‘भाडा लिँदा ५० हजार लिने र नगरपालिकालाई २० हजारको सम्झौता देखाएपछि असुली प्रक्रियाले गति लिन नसकेको उनको भनाइ छ ।
जथाभाबी भाडा बढाउने र घरबहाल करमा ठगी गर्नेलाई कारबाही गर्ने संयन्त्र नभएकाले उनीहरूको मनोबल बढेको हमालको भनाइ छ ।
त्यस्ता घरधनीलाई कडा कारबाही गर्नसके मात्र मनोमानी रोक्न सकिनेमा उनी जोड दिन्छन् । राजनीतिक दलको सहयोग भए घरबहाल करमा ठगी गर्नेलाई कानुनको दायरामा ल्याउन सकिनेमा उनी आशावादी छन् । बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था भित्रिएपछि नेपालगन्जका घरधनीले घरभाडा दोब्बर/तेब्बर वृद्धि गरेका छन् । जसको मारमा निम्न आर्थिक अवस्थाका कर्मचारी, सर्वसाधारण, व्यवसायी र विद्यार्थी परेका छन् । उनीहरूको आम्दानी घरभाडा तिर्नमै ठिक्क हुने गरेको छ ।
नेपालगन्जका मुख्य सडकका घर मात्र होइन भित्री टोलका घरधनीले पनि घरभाडा दुई/तीन गुणाले बढाएका छन् । नेपालगन्जको सुर्खेत रोडका प्रायजसो सबै घर बैंकले भाडामा लिएका छन् । घरधनीका अनुसार ती क्षेत्रमा न्यूनतम पचास हजारदेखि दुई लाखसम्म घर भाडा दिइएको छ । उक्त क्षेत्रमा पाँच दर्जन बैंक र वित्तीय संघ/संस्था रहेका छन् ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका स्ववियु सभापति रामबहादुर विकका अनुसार कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरु यहांको महँगो घरभाडाका कारण कोठा लिन नसकेर गाउँ पढ्ने भन्दै फर्किर्ने गरेका छन् । ‘आफन्त भएकाहरू आफन्त चाहर्दै छन् भने कोही क्याम्पसको होस्टेलमा रहेका छन्, उनले भने ।
नेपालगन्जमा पछिल्लो समय सामान्य कोठालाई पनि दुई हजार पाँच सयजति भाडामा लगाउने गरिएको छ । अधिकांश बैंक रहेको सुर्खेत कोठामा मध्यमवर्गीय सर्वसाधारण र उद्योगी व्यवसायीले कोठा भाडा लिनसक्ने अवस्थासमेत रहेको छैन । न्युरोड, त्रिभुवनचोक, बसपार्क, पुष्पलालचोक, बिपीचोक वरपरसमेत घरभाडाको मूल्य धेरै छ ।

प्रतिक्रिया