घिमिरेको उपचारमा सहयोग जुट्दै

काठमाडौं । दुघर्टनाबाट सिकिस्त परेकी कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्षअघि कलाकारिता अध्ययन गर्न भारतको देहरादुन गएकी उनी सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ ।

निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले सामाजिक सञ्जालमा घिमिरेको तस्बिर सार्वजनिक गरेका थिए । तस्बिरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बिरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर प¥यो । चौधरीले निशालाई अस्पतालले ल्याइ तत्काल निःशुल्क उपचार सुरूआत गरिन् । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ । निशालाई अस्पतालको उपचारपछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग संकलन थालिएको छ । कलाकारसँग सम्बन्धित विभिन्न संघ संस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई ५१ हजार सहयोग गरेको छ ।

उनलाई अहिले देश तथा विदेश समेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसाद घिमिरेको नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’ को खाता नं. ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए । सोमबार सो खातामा एक लाख ९७ हजार ५५० जम्मा भएको उनले बताए ।

प्रतिक्रिया