राष्ट्रि महिला लिग फुटबल : आर्मी र एपिएफकोे सहज जित

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा विमला चौधरीको ह्याट्रिक मद्दत वालिङ नगरपालिकालाई ७–०ले पराजित गरेको हो । आर्मीका लागि दीपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरेका थिए । तीन विदेशी खेलाडीसहित मैदान उत्रिएपनि वालिङले गोल गर्न सकेन । १४ औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । २८ औं मिनेटमा दीपाले आर्मीले अग्रता दोब्बर पारिन् । ४४ औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मी पहिलो हाफमा ३–० को अग्रता लियो । दोस्रो हाफमा पनि आर्मीले चार गोल थप्यो ।

खेलको ६६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ४–० को अग्रता बनायो । विमलाले ७५ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् ।
८९ औं मिनेटमा हेमाले र खेलको इन्जुरी समयमा भुजुङ्गाले गोल गर्दै आर्मीलाई ७(० को फराकिलो जित दिलाईन् । पहिलो जितपछि आर्मीले २ खेलमा ४ अंक जोडेको छ । आर्मीले पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको वालिङको यो पहिलो हार हो । वालिङले २ खेलमा १ अंक जोडेको छ ।

आर्मीका प्रशिक्षक राजु तामाङले अट्याकिङ थर्डमा राम्रो खेलेको र शुरुमै गोल हुँदा जित सहज भएको बताए । टिममा अझै सुधार गर्नुपर्ने ठाउँ रहेको उनले बताए । यस्तै वालिङका प्रशिक्षक दीलिप थापाले विदेशी खेलाडी भएपनि अझै तालमेल राम्रो नमिलेको बताए । उनले एकजना वपदेशी खेलाडी ट्रेनिङमा घाईते भएकोले आइतबार नखेलेको बताए । विदेशी खेलाडी टेक्निकल्ली राम्रो रहेको र उनीहरुबाट सिक्न सकिने दीलिपले बताए । यस्तै यही प्रतियोगिताको अर्को खेलमा सावित्रा भण्डारी साम्बाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि विभागीय टोली एपीएफले लगातार दोस्रो जित हात पारेको छ ।

साम्बाले ह्याट्रिकसहित चार गोल गरेपछि लिग अन्तर्गत आइतबार भएको खेलमा एपीएफले विराटनगर महानगरपालिका मोरङलाई ७–० ले पराजित गरेको हो । एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई पनि ६–० ल नै पराजित गरेको थियो ।लगातार दोस्रो जितपछि ६ अंक जोडेको एपीएफ शीर्ष स्थानमा उक्लेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफका लागि साम्बाले चार गोल गर्दा अनिता केसीले दुई तथा सरु लिम्बुले एक गोल गरिन् ।

साम्बाले पहिलो हाफमा दुई र दोस्रो हाफमा पनि दुई गोल गरिन् । एपीएफले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो ।
खेलको नवौं मिनेटमै अनिता केसीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । सावित्राले २५औं र ४२औं मिनेटमा गोल गरेपछि एपीएफले पहिलो हाफमा ३–० को अग्रता बनायो । सावित्राले ७४औं मिनेट र खेलको अन्तिम समयमा गोल गरिन् । यस्तै सरु लिम्बुले ७२औं मिनेटमा गोल गरिन् । अनिताले ८०औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

प्रतिक्रिया