सरकारले विदेशी लगानीलाई नेपालमा प्रोत्साहन गर्छ : प्रधानमन्त्री

काठमाडौँ । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले शनिबार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरू नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा २ देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरूपमा बुुझ्न भ्रमणमा आएको अवगत गराएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुुनी र संरचनात्मक सुधारहरू गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गरे । उनले आगामी दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सधँै व्यवसायीसँग सहकार्यमा रहने जानकारी दिए । प्रतिनिधिमण्डलले आफूहरूले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा कााम गर्न उत्सुक भएको जनाएको छ । भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।

मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा आएको उक्त प्रतिनिधिमण्डल ३ दिने यात्राका लागि यही असार १८ गते काठमाडौँ आएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा.युुवराज खतिवडालगायत सहभागी थिए ।

महासंघ–एमएनबीच सहकार्यबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघ र मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबिसी) बीच नेपाल–मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आपसी सहकार्यका विषयमा छलफल सम्पन्न भएको छ । बिहीबार महासंघ सचिवालय टेकुमा भएको छलफलमा दुवै पक्षबीच नेपाल–मलेसिया द्विपक्षीय व्यापार, लगानी प्रवद्र्धन, पर्यटन विस्तार, निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रको विकासमा सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।

सो अवसरमा महासंघका पदाधिकारीहरूले नेपाल र मलेसियाबीच सहकार्य विस्तार गर्न सकिने सम्भावना र अवसरबारे जानकारी गराएका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालले बिमस्टेक र सार्कजस्ता क्षेत्रीय संगठनहरूमार्फत क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै मलेसियासँगको व्यापार घाटा कम गर्न नेपालले निर्यात वृद्धि र मलेसियाबाट थप लगानी भित्र्याउन चाहेको बताए ।

उनले नेपाललाई एसियाली राष्ट्रहरूको आर्थिक समूह आसियानसँग जोड्न मलेसियाली निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्न नीतिगत सुधारहरू गरिरहेको जानकारी गराए ।

महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र मलेसियाबीच पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, मानव स्रोत र सूचना प्रविधिमा सहकार्यको सम्भावना रहको बताए । महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल सरकारले लगानीसम्बन्धी विभिन्न ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै मलेसियन व्यवसायीहरूलाई नेपालमा लगानी तथा व्यापार विस्तारका लागि सहयोग गर्न महासंघ सधैँ तयार रहेको बताए ।

कार्यक्रममा मलेसिया–नेपाल व्यापार परिषद्(एमएनबिसी)का अध्यक्ष डाटो प्रदीपकुमार कुकरेजाको नेतृत्वमा आएको मलेसियन प्रतिनिधिमण्डल सहभागी भएको थियो । सो अवसरमा एमएनबिसीका अध्यक्ष ड.कुकरेजाले नेपाल र मलेसियाबीच लगानी तथा व्यापारको पर्याप्त सम्भावना रहेको बताए ।

प्रतिक्रिया