७० हेक्टर जमिनलाई सिँचाइ पुर्याइने

सिन्धुली । कमलामाई नगरपालिका–१० बेलाह सरकारी टोलमा ७० हेक्टर जमिनलाई सिँचाइ पु¥याउन सिँचाइ आयोजना सुरु भएको छ । बागमती प्रदेश सरकारको १ करोड ७१ लाख २० हजार ४ सय ३३ रुपैयाँ ९६ पैसा लागतमा बेलाह सरकारी टोलको सिँचाइ आयोजना सुरु भएको हो । उक्त आयोजनाको बागमती प्रदेशसभा सांसद विनोदकुमार खड्काले एक कार्यक्रमका बीच शुक्रबार शिलान्यास गरेका छन् ।

सांसद खड्काले सिँचाइ आयोजनाको काम छिट्टै सक्न निर्माण ठेक्का लिएको आत्रय निर्माण सेवा सिन्धुली र उपभोक्ता समितिलाई आग्रह गरे । यस्तै उनले निर्माण सामग्री गुणस्तर हाल्नसमेत आग्रह गरेका छन् । सिँचाइ योजना निर्माणमा बजेटको अपुग भएमा बागमती प्रदेश सरकारले त्यसलाई थप गर्ने पनि उनले जानकारी दिए ।

०७८ कार्तिक २४ गते सम्ममा निर्माण सम्पन्न हुने उक्त योजनाले ७० हेक्टर क्षेत्रफलको बाली र १ सय ८० घरधुरीका आठ सय नागरिक लाभान्वित हुने जनाइएको छ । उक्त योजनाको आत्रय निर्माण सेवा सिन्धुलीले ठेक्कामार्फत काम गर्नेछ भने १७ लाख लागतको काम उपभोक्ता समितिमार्फत हुने बेलाह सरकारी टोल समितिका अध्यक्ष नारायण खड्काले जानकारी दिए ।

कार्यक्रममा जलस्रोत डिभिजन कार्यालय सिन्धुलीका प्रमुख घनश्याम कार्की, कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री, बेलाह सरकारी टोल समितिका अध्यक्ष नारायण खड्का र कमलामाई नगरपालिका–१० का वडाध्यक्ष कैलाश ढुंगेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया