रोल्पाको लेकमा रमाउँदै भेडी गोठाला

रोल्पा । रोल्पा नगरपालिका–९ चोयबाङ निवासी मइमन पुन विगत सात वर्षदेखि भेडी गोठालो हुन । वर्षले ५१ पुगेका पुनको दैनिकी करीब ५०० भेडा र बाख्राको हेरचाहमै बित्छ । उनी घरदेखि करीब तीन हजार ५०० फिट अग्लो रानीवास भन्ने लेकमा भेडाबाख्रासँगै रमाइरहेको देखिन्छन ।

सुनसान अग्लो, लेकको जंगलमा सानो छाप्रा बनाई भेडा र बाख्रासँगै दैनिकी काटिरहेका पुनले सुरक्षाका लागि चार वटा भोटे कुकुरसमेत पालेका छन । आधुनिक तरिकाले भेडा र बाख्रा पालन नगरिएकाले उनलाई कहिलेकाहीँ चरिचरनको समस्या पर्ने गर्छ । ‘सधैं एकै ठाउँमा भेडाबाख्रा राख्दा चरिचरनमा घाँस सकिने भएकाले अग्ला–अग्ला लेकहरू रानीवास, धरमपानीलगायत आसपासका लेकहरूमा चरनका लागि लैजान्छु’, पुनले भने ।

यसरी जंगल क्षेत्रमा बास सार्दा विभिन्न समयमा भेडा, बाख्रा र च्याङग्रा हराउने गरेको उहाँले दुःखेसो पोखे । पुनले पालेका भेडा र बोका पूजाका लागि डोल्पा, रुकुम, सल्यान, दाङ, प्युठान, बुटवल, नेपालगञ्जलगायतका स्थानमा लैजाने गरिएको बताए । एउटा भेडालाई चार हजारदेखि आठ हजारसम्म र च्याङग्रा खसीलाई ४२ हजारसम्ममा विक्री गर्ने गरेको उनको भनाइ छ ।

यसरी वार्षिक १० लाखसम्म आम्दानी गर्ने गरेको पुनले बताए । अर्का काले रोका पनि त्यहीँ भेडी गोठालोमै व्यस्त छन । बिहान उठ्यो, भेडाबाख्राको स्याहार ग¥यो, बर्सातको समय, चारैतिर कुहिरोले ढाकेको अग्लो पहाडी भूभाग, नजिक कतै घरगोठ छैन । सुनसान वातावरण, चराचुरुङ्गीको आवाज, सर्प र जुकाको त्रासमा दिनचर्या बिताउनु कम्तीको पीडा छैन तर यस्तै जीवन व्यतित गरिरहेका रोका हेर्दा खुशी देखिन्छन ।

वैदेशिक रोजगारमा गएर अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै देश, आफ्नै गाउँठाउँको पाखा पखेरीमा यसरी भेडा पालन गर्दा आनन्द महसुस भइरहेको रोकाले बताए । उनी विदेशमा गएर अरुको भनाइ खानुभन्दा आफ्नै ठाउँमा स्वतन्त्ररूपमा पेशा गर्न पाएकोमा गर्व गर्छन । ‘दुःख केही लाग्दैन, बानी भइसक्यो, एक्लै आनन्दले पेशा ग¥यो, मेहनतअनुसार दुई÷चार पैसा कमाइ भइहाल्छ’, रोकाले भने । रोका र पुन त प्रतिनिधि पात्र मात्रै हुन् ।

उनीहरू जस्तै ग्रामीण भेगका केही घरपरिवार लेकमा भेडा, बाख्रा, च्याङग्रा पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । भेडा, बाख्रा र च्याङग्राको रौँबाट विभिन्न वस्तुहरू उत्पादन गर्न सकिन्छ । भेडाको ऊनबाट कम्बल, पटुका, कोटलगायत न्यानोका लागि विभिन्न वस्तुहरू तयार पार्न सकिने ८० वर्षीया मतिकला केसीले बताइन । ‘ऊनबाट तयार गरिएको कम्बल, पटुका निकै न्यानो हुन्छ, चिसोबाट शरीरलाई बचाउन यसले खुबै राम्रो काम गर्छ’, केसीले थपिन । पूजापाठ गर्दासमेत भेडाको ऊनबाट बनेको कम्बलमा बसेर पूजा गर्ने चलन रहेको केसीको भनाइ छ । भेडाको ऊनबाट निर्मित कम्बल बजारमा चार हजारसम्म बिक्री हुने गरेको उनले बताइन ।

रोल्पाका करिब ४० हजार युवा भारतलगायत वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने गरेका छन् । विश्वभर फैलिएको कोरोना कहरका कारण भारतबाट हालसम्म दुई हजार १८१ जना घर फर्किसकेका छन् । वैदेशिक रोजगारका लागि तेस्रो मुलुक पुगेका १७८ जना जिल्लामा फर्किसकेका छन । प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण रोल्पामा पुन र रोका जस्तै व्यावसायिक रूपमा भेडाबाख्रा पालन गरेर मनग्य आम्दानी गर्न सकिन्छ ।

अधिकांश कृषि तथा पशुपालन गर्ने रोल्पालीलाई स्थानीय सरकारले समय सुहाउँदो प्रविधि, सीप र क्षमता अभिवृद्धि गरी पेशालाई आधुनिकीकरण गर्न सके स्वदेशमै स्वरोजगारको ढोका खुल्ने स्थानीय समाजसेवी कृष्णबहादुरले घर्ती बताए । झट्ट हेर्दा आर्थिक आम्दानी धेरै हुने देखिए पनि मेहनत धेरै गर्नुपर्ने, जंगल क्षेत्रमा बस्नुपर्ने भएकाले यस पेशालाई युवा पुस्ताले भने रुचाउने गरेका छैनन् । बाउबाजेले पेशालाई निरन्तरता दिए पनि अहिलेको बदलिँदो समयमा आएको नयाँ प्रविधिका कारण युवा पुस्ताले यो पेशालाई खासै अँगालेको देखिँदैन । तीनै तहका सरकारले यहाँको पशुपालनलाई आधुनिकीकरण गर्न जरुरी रहेको स्थानीय अगुवाहरूको भनाइ छ ।

प्रतिक्रिया