बन्द गर समाचारहरू !

             बलराम तिमल्सिना

ओ पत्रकार महोदयहरू
बन्द गर ती समाचारहरू
जहाँ भोकले तड्पिएर
केवल मलर सदाहरू मर्छन्
केवल सूर्य तामाङहरू मर्छन् !

ती समाचारहरू बन्द गर
जहाँ हिरासतमा पासो लागेर
शम्भु सदाहरू मात्र मर्छन्
जहाँ पखालाले छटपटाएर
केवल राजु सदाहरू मात्र मर्छन्
बन्द गर ती समाचारहरू !

ती समाचारहरू बन्द गर
जहाँ वर्षौं सड्छन् शवगृहमा
केवल अमित मिजारहरू
जहाँ जातकै आधारमा मारिन्छन्
केवल नवराज बिकहरू
यी परम्परागत समाचारहरू बन्द गर !

केही त नयाँ समाचार सुनाऊ
जस्तो कि–
‘रक्सी पार्टीमा रक्सी सर्केर
फलानो मन्त्री ठहरै !’
जस्तो कि–
‘नयाँ कार्पेटमा चिप्लिएर
राष्ट्रपतिका दुवै खुट्टा ठनक्कै !’
जस्तो कि–
‘सरकार ढल्ने चिन्ताले
प्रमलाई हृदयाघात
डाक्टरहरू भन्छन्–
बिरामीको हालत चिन्ताजनक’ !
जस्तो कि–
‘बालुवाटारभित्रै हानाहान
दुई दर्जन घाइते
तीन जनाको स्थिति चिन्ताजनक
झगडाको कारण–कमिसन’ !

पत्रकार महोदय
नयाँ समाचार सुन्न आतुर
यी मेरा कानहरू
वर्षौंदेखि उदास छन्
तिम्रा समाचारहरूको बाकसमा
यी कान पवित्र पार्ने
छैन एउटै पनि समाचार ?

कि नयाँ समाचारहरू सुनाऊ
हाम्रो जिन्दगीलाई मात्र गिज्याउने
बन्द घर यी तिम्रा समाचारहरू !

प्रतिक्रिया