निर्धारित समयमै साग हुने

काठमाडौं । नेपालमा आगामी मंसिरको तेस्रो सातादेखि तोकिएको १३औँ दक्षिण एसियाली खेलकुद निर्धारित समयमा नै हुने भएको छ । काठमाडौंमा शनिबार सम्पन्न दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले प्रतियोगिता नेपालमै आयोजना हुने तय गरेको हो । बैठकमा सहभागी राष्ट्रका प्रतिनिधिहरूले पनि दक्षिण एसियाली खेलकुद आयोजना गर्न जोड दिएका थिए । बैठकमा उपस्थित काउन्सिलका सदस्यहरूले शनिबार सातदोबाटोमा रहेको खेलकुद परिसरको निरीक्षण गरेर पोखराका पूर्वाधारहरू निरीक्षणका लागि त्यसतर्फ जाने बुझिएको छ ।

प्रतियोगिताको उद्घाटन र समापन गर्ने प्रमुख स्थल दशरथ रंगशालाको भिआइपीतर्फको प्यारापिट बन्न बाँकी छ भने पोखरा रंगशालाको काम अघि बढ्न सकेको छैन । यो संस्करणमा सहभागी देशहरूबाट उल्लेख्य सहभागिता भने नहुने भएको छ । नेपाललेमात्र सबै खेलमा सहभागिता जनाउने भएको छ ।

२७ खेलमध्ये बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँनेछन् । सागमा सबैभन्दा कम खेलमा सहभागिता जनाउने देशमा माल्दिभ्स रहेको छ । उसले ११ खेलमा मात्र भाग लिने भएको छ । यस्तै भारतले १७, पाकिस्तानले १८, भुटानले १४ खेलमा भाग लिने भएका छन् । आयोजक नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।

प्रतिक्रिया