जागिर पाएपछि सचिवबाट राजीनामा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा जागिर पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले पदबाट राजीनामा दिएकी छन् । लामो समय लविङ गरेर सचिव भएकी चौधरीले डब्लुएचओमा जागिर पाएपछि भने राजीनामा दिएकी हुन् ।

‘कन्ट्री अफिस’ पि फाइभ तहमा जागिर पाएपछि चौधरीले कात्तिक ४ गतेदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिएकी हुन् । अझै करिब दुई वर्ष पदावधी छँदाछँदै उनले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा. चौधरीले डब्लुएचओको ‘कन्ट्री अफिस’ भारतमा गई काम गर्नका लागि नै राजीनामा दिएको स्रोतको भनाइ छ । उनले गत असारमा डब्लुएचओको भारतस्थित ‘कन्ट्री अफिस’को लागि पी फाइभ (सहसचिव तह) लेभलको पोस्टमा छनौट भइसकेकी थिइन् । उनले राजीनामा दिन पनि लामो कसरत गर्नुपरेको छ ।

विगतमा आफूले भनेको मन्त्रालय नपाएको भनेर सरकारविरुद्ध मुद्दा दायर गरेकी थिइन् । यस विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि लामो समय स्वास्थ्य मन्त्रालयमा दुई सचिवले काम गरे । डब्लुएचओमा जागिर खाने पक्का भएपछि भने उनले प्रतिष्ठाको विषय बनाएर दायर गरेको मुद्दा फिर्ता लिएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको आफ्नो रिट शुक्रबार फिर्ता लिएकी छन् । सरकारविरुद्धको मुद्दा फिर्ता लिएसँगै राजीनामा स्वीकृत हुने वातावरण देखेपछि चौधरीले आइतबार राजीनामा दिएकी हन् । चौधरीलाई सरकारले २०७५ असोज २८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेपछि कात्तिक १५ मा रिट दायर गरेकी थिइन् ।

रिटअनुसार अदालतले अन्तरिम आदेश दिएपछि सरकार आदेश विरुद्ध भ्याकेटमा समेत गएको थियो । अदालतले भ्याकेटमा समेत चौधरीकै पक्षमा आदेश दिएको थियो । सचिव सरकारविरुद्ध गएको भन्दै प्रधानमन्त्री, मुख्यसचिवसहितका अधिकारी चौधरीसँग चिढिएका थिए । सरकारविरुद्ध गएको भन्दै उनको राजीनामा अड्काइदिएको थियो ।

चौधरीले राजीनामाबारे पटक–पटक मुख्य सचिवसँग परामर्श गरे पनि विशिष्ट श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलो पटक मुद्दा हालेको भन्दै उनको राजीनामाका विषयमा मौन बसिदिएको थियो । चौधरी गत वर्ष कात्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा गएकी थिइन् । अदालतले उनकै पक्षमा आदेश दिएसँगै उनको सरुवा रोकिएको थियो ।

चौधरीलाई सरुवा गर्न नसकेपछि सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फको समेत सचिवको दरबन्दी सिर्जना गरेर दुई सचिवको व्यवस्था गरेको छ । दुई सचिवको व्यवस्थापछि चौधरीको अधिकारलाई खुम्च्याइएको र त्यहीबीचमा सम्मानजनक विकल्पको खोजीमा लागेकी थिइन् । सोहीक्रममा उनले डब्लुएचओमा प्रतिष्ठित र आकर्षक अवसर जुरेपछि सरकारी जागिर छाड्नका लागि राजीनामा दिएकी हुन् । चौधरीले रिट फिर्ता लिने निवेदन दिएपछि सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले निवेदकको मागअनुसार मुद्दा फिर्ता दिने आदेश गरेको छ ।

प्रतिक्रिया