को पहिला बोल्नेमा विवाद

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा को पहिला बोल्ने भन्ने विषयमा सरकार र विपक्षीबीच विवाद श्रृजना भएको छ । विहान ११ बजे बोलाइएको बैठकमा यही विषयमा गलफत्ती भएको एक घण्टा ढिलो सुरु भएको थियो ।

बैठक सुरु हुनेबित्तिकै सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिए । सामान्यतया प्रधानमन्त्रीले बोल्नका लागि समय माग गरेपछि पहिला बोल्न दिने यसअघिको संसदीय अभ्यासलाई नै सभामुखले लागु गर्न खोजेपछि काँग्रेसका सांसद रोस्टम नै घेर्न पुगेका थिए । शुरुमा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गरे । उठेर विरोध जनाईरहेपछि कांग्रेस सांसदलाई सभामुखले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले समसामयीक विषयमा बोल्न समय माग्नु भएको छ, उहालाई बोल्न दिऔं, त्यसपछि प्रतिपक्षलाई बोल्न समय दिन्छु ।’ तर, काँग्रेस सांसदले उठेर विरोध जनाईरहे ।

त्यसक्रममा प्रधानमन्त्री ओली बोल्नका लागि रोष्टम उक्लिदै गर्दा कांग्रेसका सांसदले आफू बसेको स्थानबाट उठेर रोस्टर्म घेर्न लागे । काँग्रेसले प्रधानमन्त्री भन्दा पहिला आफूले बोल्न पाउनुपर्ने माग ग¥यो । उसले संसदीय सर्वोच्चता कायम राख्नुपर्ने भन्दै चर्को नारा समेत लगाए । त्यसक्रममा प्रधानमन्त्री ओली भने रोष्टममा घरी घरी घोसेमुन्टो लगाई उभिइ रहेका थिए । उनले काँग्रेसको सो व्यवहारप्रति आश्चर्यचकित मुद्रामा रोस्टर्मबाटै उभिरहे ।

सभामुखले काँग्रेसको नाराका बाबजुत ‘प्रधानमन्त्रीलाई बोल्न दिनुहोस्, त्यसपछि म समय दिन्छु’ भनेर पटक पटक भने । तर, काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाकै नेतृत्वमा रहेको कांग्रेसले रोष्टम घेरिरह्यो । निरन्तर नाराबाजी भईरहेपछि सभामुख महराले बुधबार बिहान ११ बजेसम्मका लागि भनेर संसद स्थगित गरे । संसद स्थगितको सूचना जानकारी गराईरहदा पनि प्रधानमन्त्री ओली भने रोष्टममै उभिरहेका थिए । यस्तो, आश्चर्यजनक घटना नेपाली संसदीय इतिहासमा सायद पहिलो पटक भएको होला । संसदीय कार्यव्यवस्था परामर्श समितिमा समेत यसविषयमा सहमति खोज्ने प्रयास भएपनि सफल भएन ।

प्रधानमन्त्री ओलीले आफ्नो नौ दिने युरोप भ्रमण, गुठी विधेयकका विषयमा उठेका कुरासहित विभिन्न समसामयिक विषयमा संसदमा बौल्न संसद सचिवालयसँग समय माग गरेका थिए । तर, काँग्रेसले प्रधानमन्त्री होइन् आफूले पहिला बोल्न पाउनुपर्ने जिकिर गर्यो । नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री अघि समसामयिक विषयमा कुरा राख्नका लागि समयको माग गरेपनि प्रधानमन्त्री ओलीलाई मात्रै समय दिइएकोले कांग्रेस सांसदहरू विरोधमा उत्रिएको दाबी काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले गरे । ‘हामीले सभामुखलाई बिहानै शेरबहादुर देउवा बोल्नुहुन्छ भनेर समय माग गरेका थियौं । तर, उहाँले प्रधानमन्त्रीले बोल्नुहुन्छ भन्दै समय दिनु भएन,’ खाँडले भने, ‘उहाँहरूले प्रतिपक्षको बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने काम गर्नुभएको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्षको माग नाजायज भएको टिप्पणी गरे । नेता नेपालले प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परानुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ, त्यसपछि प्रतिपक्षीेले बोल्न पाउनुपर्ने बताए । ‘सभामुखको रुलिङ पनि त्यही हो, त्यो कुरा पालना नगर्नाले गलत संसदीय नजीर बसाल्न खोजेको देखिन्छ’, उनले भने ।

संघीय समाजवादी पार्टी नेपालका सांसद बाबुराम भट्टराईले भने संसद् बैठक स्थगनका सम्बन्धमा सत्ता र प्रतिपक्ष दुवैको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरे । ‘प्रतिनिधिसभा भनेको जनता र जनताको हितमा सर्वाेत्तम अभ्यास गर्ने थलो हो । प्रक्रियागत ढंगले कसले अघि बोल्ने र कसले पछि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेर फाल्नु जनताको अभिमतको दुरुपयोग हो’, उनले भने ।

प्रतिपक्षीको व्यवहार अमर्यादित– प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूलाई बोल्न रोकेर प्रमुख विपक्षी काँग्रेसले अमर्यादित चरित्र देखाएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार अपरान्ह पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दीप्रति खेद समेत व्यक्त गरे ।

‘संसदमा काँग्रेसले अमर्यादितक्रियाकलाप देखाएको छ । यसले संकेत गर्न खोजेको विषय गम्भीर हो’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र, गणतन्त्र र संघीयताका विरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी भएको छ । यसमा घोर दक्षिणपन्थीदेखि अति वामपन्थीहरूसम्म एकजुट भएका छन् ।’ लोकतान्त्रिक शक्तिले आफूबाहेक अरू पनि सत्तामा आए भने स्वीकार्नुपर्ने उल्लेख गर्दै उनले यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताए ।

जनपक्षीय शक्तिहरूलाई देखिनसहने कारणले १७ साल आएको प्रधानमन्त्रीले स्मरण समेत गराए । प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता र राष्ट्रिय हितप्रति सरकार अत्यन्तै सजग भएको बताए । शान्ति, स्थायित्व र समृद्धिका लागि क्रियाशील रहेको बताउँदै जो आत्तिए पनि सरकारको समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे ।

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चार जगतलाई पनि मर्यादित र जिम्मेवार हुन आग्रह गरे । ‘सञ्चार जगत लोकतन्त्रको खम्बा हो । तर, आज हामी सञ्चारको क्षेत्रमा संक्रमणकालीन अवस्थामा छौं, हाम्रो सामाजिक मूल्य मान्यता हराइसक्यो’, प्रधानमन्त्रीले भने, ‘हरेक भाषाको आ–आफ्नो मर्म हुन्छ । तर, हाम्रा सञ्चार माध्यममा मर्म हराउँदै आएको छ । नेपाली सञ्चार माध्यमले बाबुलाई पनि तिमी, आमालाई पनि तिमी भन्न सिकाएका छन् । यहाँबाट आदरार्थी शब्द हराइसक्यो ।’

प्रतिक्रिया