शीर्ष नेताकैै छैन रुचि

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आक्कल झुक्कल देखापर्ने प्रमुख दलका शीर्ष नेताहरू संसदीय बैठकमा भने नगन्य रूपमा जाने गरेका छन् । दलकै कार्यक्रममा बढी व्यस्त रहने नेताहरू समितिमा हुने महत्वपूर्ण छलफलमा सहभागी नै हुँदैनन् । बरु समितिले नै उपसमिति बनाएर शीर्ष नेतासँग छलफल गर्न खटाउने गर्दछ ।

बैठकमा सहभागी नहुनेमा अधिकांश नेता नेपाली कांग्रेसका रहेका छन् । नेकपाका नेताहरू पनि अनुपस्थित हुने सूचीमा धेरै पछाडि भने छैनन् । संसदीय समितिको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिलेसम्म एकपटक पनि हाजिर भएका छैनन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवा विकास तथा प्राविधिक समितिमा छन् । गत साउन २१ गतेदेखि माघ मसान्तसम्म समितिका ३४ वटा बैठक बसेपछि देउवा कुनै पनि बैठकमा सहभागी भएका छैनन् । बैठकमा नआएको कुरा स्वयं संसद्ले देउवालाई भन्दा पनि ‘भ्याएको छैन, भ्याएपछि आइहाल्छु नि’ भन्ने जवाफ दिने गरेका छन् । शून्य सहभागी हुनेमा नेपाली कांग्रेसकै सांसद कर्मा घले पनि छन् । महिला तथा सामाजिक समितिमा रहेकी उनी समितिका कुनै पनि बैठकमा सहभागी भएकी छैनन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि अहिलेसम्म एकपटक मात्र बैठकमा सहभागी भएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनी पुष ११ गते बसेको बैठकमा मात्र उनले सहभागिता जनाएका थिए । बैठकमा प्रचण्डले भनेका थिए, ‘राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पहिलोचोटि सहभागी हुने अवसर पाएँ । चाहँदा चाहँदै पनि अन्य कामको चापले आउन सकेको थिइनँ ।

अबदेखि समिति बैठकमा सकेसम्म नियमित उपस्थित हुनेछु’, यद्यपि, त्यसपछिका बैठकमा उनी गएका छैनन् । कांग्रेसका सांसद प्रदीप गिरी अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छन् । उक्त समितिका हालसम्मका १६ वटा बैठकमध्ये गिरीको एउटा बैठकमा मात्रै सहभागिता छ ।
कांग्रेसका उपसभापति विजयकुमार गच्छदार र महामन्त्री शशांक कोइराला पनि समितिको बैठकमा खासै जाने गरेका छैनन् । अधिकांश समय कार्यकर्ताको बीचमा गुजार्ने यी दुई नेता अर्थ समितिका सदस्य हुन् । तर, दुवै नेता समिति बैठकमा दुइपटक मात्रै उपस्थित भए ।

विकास तथा प्रविधि समितिमै रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता झलनाथ खनालको उपस्थिति ११ दिन रहेको छ । संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङको समिति बैठकमा शतप्रतिशत उपस्थिति छ । उक्त समितिका सबै बैठकमा उपस्थित हुने गुरुङ मात्र हुन् । गत साउनमा समिति गठन भएपछि बसेका २० बैठकमध्ये सबै बैठकमा उनको उपस्थिति रहेको हाजिरी रेकर्डमा उल्लेख छ । कानुन समितिमा रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ २० वटामध्ये १८ वटा बैठकमा सहभागी भएका छन् । सोही समितिमा रहेका नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको भने आधा अर्थात्, १० वटा बैठकमा उपस्थित रहेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका पूर्वप्रधानमन्त्रीसमेत नेता माधवकुमार नेपाल समितिका बैठकहरूमा सक्रिय सहभागिता जनाउने सांसद हुन् । समितिका १६ वटा बैठकमध्ये नेपालको १३ वटा बैठकमा सहभागिता छ । गत असोज १२ गते सांसद नेपालकै संयोजकत्वमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसहित सञ्चालनमा रहेका देशभरका विमानस्थलको अध्ययनका लागि उपसमिति गठन भएको थियो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमै रहेका कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको उपस्थिति भने मूल समितिमा ८ दिन मात्रै छ । सोही समितिमा रहेका नेकपामा नेता भीम रावलको १२ दिन उपस्थिति रहेको छ । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेकपाका सांसद खगराज अधिकारी र नेकपाकै अर्का सांसद योगेश भट्टराई पनि समितिमा सक्रिय सहभागिता जनाउने सांसद हुन । दुवै नेता शिक्षा तथा स्वास्थ्य समितिमा छन् । शिक्षा स्वास्थ्य समितिमै रहेका पूर्वस्वास्थ्य मन्त्री एवं कांग्रेसका सांसद गगनकुमार थापाको भने ३३ मध्ये १६ दिन मात्रै उपस्थिति रहेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराई अर्थ समितिमा छन् । ३२ वटा बैठकमध्ये १२ वटा बैठकमा भट्टराई सहभागी भएको रेकर्ड छ । अर्थ समितिमै रहेका राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर ३२ मध्ये १५ वटा बैठकमा सहभागी छन् । सांसदले समयमा समितिको बैठक सुरु नगर्दा पनि सहभागिता जनाउन कठिन भएको प्रतिक्रिया दिने गरेका छन् ।

प्रतिक्रिया