यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्राधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने

काठमाडौँ । यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्राधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ । नेपालको न्यायिक निकायको नेतृत्व गरी त्यसको संस्थागत विकासमा उनले पु¥याएको अनुकरणीय योगदानको सम्मान गर्दै पूर्व प्राधानन्यायाधीश श्रेष्ठलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।


नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई २१औँ संस्करणको हेमबहादुर मल्ल सम्मान प्रदान गर्न लागिएको जानकारी दिएको हो । यसअघि नेपाल सरकारका पूर्व मुख्यसचिव केदारभक्त माथेमादेखि वरिष्ठ कूटनीतिज्ञ, लेखक र विश्लेषकको पहिचान बनाएका डा. भेषबहादुर थापासम्मका २० जनाले यो सम्मान प्राप्त गरिसकेका छन् ।

संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा उनका विचार, अडान र फैसलाहरूको ऐतिहासिक भूमिकालगायतको विशिष्ट योगदानको कदरस्वरूप उनलाई सो सम्मान प्रदान गर्न लागिएको नेपाल जन प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए ।

सम्मान प्राप्त गर्न लागेका श्रेष्ठ जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै मुलुकको २५औँ प्रधानन्यायाधीश बनेका थिए । दश वर्षे द्वन्रूको अवसान र वृहत् शान्तिसम्झौता, संविधान सभाको निर्वाचनजस्ता घटनाहरूका बखत पूर्वप्रधानन्यायाधीश श्रेष्ठको न्यायिक सक्रियता विशिष्ट रहेको अध्यक्ष आचार्यले बताए ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । सो छनोट समितिमा नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्वसहसचिव जीवराज कोईराला सदस्य छन् । त्यस्तै संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्यका रूपमा रहेका छन् ।

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा प्रदान हुँदै आएको दुई लाख रुपैयाँ राशीको सो सम्मान आगामी बिहीबार भव्य समारोहकाबीच घोषित व्यक्तिलाई प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, जनप्रशासन संघका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालगायतले मन्तव्य व्यक्त गरेका थिए भने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया