स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ युवाको ज्यान गयाे

काभ्रे । नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फी डाँडामा शुक्रबार साँझ भएको एक भीषण सडक दुर्घटनामा २ युवाको ज्यान गएको छ । स्थानीय स्तरमै शोकको लहर फैलिएको यो दुर्घटना स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको हो । नमोबुद्धबाट भकुण्डेबेंसीतर्फ गइरहेको बा ४ ख ७१ नम्बरको ‘सगुन बिद्या मन्दिर’को स्कुल बस र विपरीत दिशाबाट आउँदै गरेको बा.७१ प ६८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मोटरसाइकल चालक र पछाडि सवार दुबैजना गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारको लागि धुलिखेल अस्पताल पुर्‍याइएको थियो ।दुवैको उपचारको क्रममा मृत्यु भएकाे हाे । २३ वर्षीय पासाङ तामाङ, २२ वर्षीय विजय तामाङ दुबै जना नमोबुद्ध नगरपालिका–२ कै स्थायी बासिन्दा हुन् ।

एकै वडाका २ युवाको एकैचोटि निधन भएपछि नमोबुद्ध–२ मा सिङ्गो वडामै शोकमा छ । प्रहरीका अनुसार, दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाको थप अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक विवरणमा तीव्र गतिले चलिरहेको मोटरसाइकल अनियन्त्रित भएर बसमा ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ, तर अनुसन्धान पछि मात्र यकिन विवरण आउने जनाइएको छ ।

प्रतिक्रिया