
महोत्तरी । बर्दिवास नगरपालिका मनसुनजन्य विपद्को सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि सक्रिय भएको छ । नगर विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन तीन वटा महत्त्वपूर्ण निर्णय गरेको हो ।
बैठकले पूर्व–पश्चिम राजमार्गअन्तर्गत भप्सी, जंगाहा र बेलगाछी खोलाका पुल नजिक थुप्रिएका नदीजन्य पदार्थ हटाउन जिल्ला विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै, उद्धार कार्यका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्ने तथा पूर्वतयारीस्वरूप तारजाली, पाइपलगायत आवश्यक सामग्री खरिद गर्ने निर्णय पनि गरिएको छ ।
त्यसैगरी, सुरक्षा निकायसँग आवश्यकतानुसार समन्वय गर्न नगरस्तरीय विपद् व्यवस्थापन समिति गठन गरी फोकल पर्सन तोक्ने निर्णयसमेत बैठकले गरेको छ ।
गैरसरकारी संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको बैठकमा विपद् प्रतिकार्यका लागि आफूहरू पूर्ण रूपमा तयारी अवस्थामा रहेको प्रतिबद्धता छन ।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले विपद् व्यवस्थापनका लागि आवश्यक केही सामग्रीहरू मौज्दात रहेको र आवश्यकता परे जुनसुकै बेला परिचालन गर्न सकिने बताए ।
उनका अनुसार तत्काल राहतका लागि दुई लाख रुपैयाँसम्म बराबरका राहत सामग्री नगरपालिकाको एकद्वार प्रणालीमार्फत वितरण गर्न सकिने व्यवस्था रहेको छ ।
बैठकमा सहभागीहरूले क्रसर उद्योगहरूले बनाएका खाल्डाखुल्डी तथा अवैधानिक नदीजन्य पदार्थ उत्खननबाट सिर्जित जोखिमप्रति गम्भीर चासो व्यक्त गरेका थिए ।
उनीहरूले यस्ता गतिविधिका कारण विगतमा मानवीय दुर्घटनासमेत भएको उल्लेख गर्दै नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीलाई सम्भावित जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
प्रतिक्रिया