गजुरेल उपाध्यक्ष र गुरुङ सचिवमा प्रस्तावित

काठमाडौं, १२ असार । नवगठित नेकपा–माओवादीको उपाध्यक्षमा सिपी गजुरेल र सचिव पदमा देव गुरुङ र नेत्रविक्रम चन्दको नाम प्रस्ताव भएको छ । पार्टी गठनपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकमा सोमबार महासचिव रामबहादुर थापाले पदाधिकारीका लागि उनीहरूको नाम प्रस्ताव गरेका हुन् ।
महासचिव थापाले बैठकमा पार्टीको संगठनात्मक प्रस्ताव पेस गरेका छन् । उपाध्यक्षका लागि प्रस्ताव गरिएका गजुरेल एकीकृत माओवादीको सचिव थिए भने गुरुङ र चन्द स्थायी समिति सदस्य । थापाको प्रस्तावअनुसार जारी बैठकले उनीहरूलाई उपाध्यक्ष र सचिवमा नियुक्त गर्नेछ ।
महासचिव थापाको प्रतिवेदन केन्द्रीय सदस्य थप गर्ने विषयमा भने मौन छ । अहिले देशभरिबाट केन्द्रीय सदस्य पनि थप गर्दा पदका लागि पार्टी विभाजन गरेको सन्देश जाने भएकाले तत्काल केन्द्रीय सदस्य थप नगर्ने योजना पार्टीले बनाएको स्रोतले जनाएको छ ।
बैठकमा अध्यक्ष मोहन वैद्यले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । आºनो विचार समूहको विस्तारित बैठकमा पेस गरेको प्रतिवेदन नै उनले केन्द्रीय समितिमा पेस गरेका हुन् । मंगलबारदेखि बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सुरु हुनेछ ।

प्रतिक्रिया