काठमाडौं । प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको शपथ ग्रहण बिहीबार तीन बजे गरिने भएको छ ।
यस अघि चौधरीको शपथ आजै बिहान साढे ११ बजे गर्ने भनिएकोमा दिउँसो ३ बजेका लागि सारिएको हो ।
७२ सालको टीकापुर घटनाका मुख्य योजनाकार भनिएका चौधरी काठमाडौंको डिल्लीबजार कारागारका रहेका छन् । उक्त घटनामा एसएसपीसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
डिल्लीबजार कारागारमा रहेका चौधरीलाई प्रहरीले सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महराको कार्यालयमा ल्याउने र सपथ गराएर कारागार लैजाने तयारी छ।
उनलाई कारागारबाट बाहिर ल्याउन संसदले चिठी पठाउनुपर्ने भएपछि सपथको समय सारिएको जनाइएके छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उनलाई शपथ गराउनका लागि सरकारलाई बारम्बार दिएको दवावका कारण उनको शपथ ग्रहण गराउन सरकार तयार भएको हो । चौधरीलाई शपथ गराए पनि प्रतिनिधिसभा नियमावली अनुसार पारिश्रमिक र अन्य सेवासुविधा पाउने छैनन् ।
उनी प्रतिनिधिसभामा निर्वाचित भए पनि उनको सपथ भएको थिएन । घटना भएको झण्डै ३० महिनापछि गत असार १४ गते चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।
प्रतिक्रिया