सिक्किम यात्रामा १० नेपाली साहित्यकार

काठमाडौं । सिक्किममा नेपाल र भारतका साहित्यकारको तीन दिवसीय सम्मेलन हुने भएको छ । नेपालबाट देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको संयोजनमा १० सदस्यीय साहित्यकारको टोली मंसिर ७ गते प्रतिष्ठानका अध्यक्ष समालोचक निनु चापागाईंको नेतृत्वमा सिक्किमको साहित्यिक यात्रामा प्रस्थान गर्दैछ ।

कार्यक्रममा नेपाल र सिक्किमका तीन दर्जन लेखक, कवि, पत्रकार र समालोचक सहभागी हुने बताइएको छ । प्रेस क्लब अफ सिक्किम र देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको प्रतिष्ठानका अध्यक्ष चापागाईंले बताए । ‘चार वर्षदेखि दुई संस्थाले संयुक्त रुपमा साहित्यिक सांस्कृतिक आदानप्रदानसहित कार्यक्रम गर्दै आएका छौं’, चापागाईंले भने, ‘यस्तो कार्यक्रम एक वर्ष नेपालमा र अर्को वर्ष सिक्किममा हुने गरी समझदारीपत्रमा हस्ताक्षर गरेका छौं ।’

समझदारीपछिको यो तेस्रो साहित्य सम्मेलन हो । अघिल्लो वर्ष सिक्किमलगायत भारत, भुटानलगायत देशका साहित्यकारको सहभागितामा पोखरामा ‘अन्तर्राष्ट्रिय काव्य संगम’ भएको चापागाईंले जानाकारी दिए । सिक्किममा भने समझादारीपछिको यो दोस्रो कार्यक्रम हो ।

सम्मेलनमा यसपटक नेपालबाट १० जना कवि, लेखक तथा संगीतकर्मी सहभागी हुन लागेको देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष तथा कवि मातृका पोखरेलले बताए । ‘२५ नोभेम्बरमा पश्चिम सिक्किमको गेजिङ, २६ मा नाम्ची र २७ मा विश्वप्रसिद्ध झिल छाङ्गुमा साहित्यिक कार्यक्रम हुने तय भएको छ,’ पोखरेलले भने, ‘त्यसबाहेक सिक्किमका महत्वपूर्ण पर्यटकीय स्थल अवलोकन गर्ने कार्यक्रम पनि छ ।’

सम्मेलनमा नेपालबाट समालोचक निनु चापागाईं, गायक तथा संगीतकार जीवन शर्मा, कविहरु विमल निभा, सीता शर्मा, मातृका पोखरेल, रणेन्द्र बराली, पुरुषोत्तम आचार्य, इन्द्र रेग्मी, खगेन्द्रा खुशी र सङ्गीत श्रोता सहभागी हुने छन् ।
२४ नोभेम्बरदेखि २७ नोभेम्बरसम्म सिक्किमका विभिन्न ठाउँमा साहित्यिक कार्यक्रम, भेटघाट र भ्रमण कार्यक्रम रहेको बुझिएको छ । २८ तारिखका दिन प्रेस क्लब अफ सिक्किमले गान्तोकबाट टोलीलाई बिदाइ गर्ने अध्यक्ष चापागाईंले जानकारी दिए ।

०७१ सालको जेठ १६–१९ मा प्रतिष्ठानको आयोजनामा १३ सदस्यीय नेपाली साहित्यकारले नेपालीभाषी समुदायका बीचमा साहित्यिक तथा सांस्कृतिक सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्यले सिलिगुडी, कालिङपोङ र भुटानको यात्रा गरेको थियो । त्यही अवसरमा १८ जेठ ०७१ का दिन यी दुई संस्थाका बीचमा साहित्यिक–सांस्कृतिक आदानप्रदान गर्ने हस्ताक्षर भएको थियो ।

त्यसयता प्रेस क्लब अफ सिक्किमको नेतृत्वमा सिक्किमका पत्रकार तथा साहित्यकार नेपाल र प्रतिष्ठानको नेतृत्वमा साहित्यिक र सांस्कृतिक व्यक्तित्व सिक्किमको भ्रमण आलोपालो प्रतिवर्ष गर्दै आएका छन् । सहमतिपत्रमा हस्ताक्षर भएयताको नेपाल पक्षका साहित्यकार तथा संस्कृतिकर्मीको यो दोस्रो यात्रा हो । प्रेस अफ सिक्किमको टोलीले यसअघि नेपालको दुईपटक यात्रा गरिसकेको चापागाईंले जनाए । पछिल्लोपटक सिक्किमी पत्रकार तथा साहित्यकारले प्रतिष्ठानले आयोजना गरेको पोखरा अन्तर्राष्ट्रिय काव्य संगमको अवसरमा सेप्टेम्बर ८–९, २०१७ मा भाग लिएका थिए ।

प्रतिक्रिया