सारापोभालाई महिला उपाधि


पेरिस,२८ जेठ । मारिया सारापोभाले यस वर्ष महिलातर्फको फ्रेन्च ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छन् । शनिबार सम्पन्न खेलमा सारापोभाले सारा एरानीलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरिन् । जितपछि सारापोभा चारवटै ग्रान्डस्ल्याम उपाधि जित्ने महान खेलाडीको सूचीमा सूचीकृत भइन् । उपाधि जित्ने क्रममा सारापोभाले सुरुआतदेखि नै खेलमा पकड जमाएकी थिइन् । एरानीको पहिलो सर्भिस नै ब्रेक गरेकी सारापोभाले खेल जित्न ८९ मिनेट मात्र लगाइन् । जितपछि उनी डब्लुटिए वरीयताक्रमको शीर्षस्थानमा उक्लन पनि सफल भइन् ।
सारापोभाभन्दा अघि महिला खेलाडीहरू स्टेफी ग्राफ, मार्टिना नाभ्रातिलोभा, क्रिस इभर्ट, बेली जेन किङ, मार्गेट कोर्ट र सेरेना विलियम्सले चारवटै ग्रान्डस्ल्याम उपाधि जितेका थिए । तेस्रो सेटमा एरानीको प्रहार नेटमा लाग्दै आफू विजयी भएपछि सारापोभाले र्‍याकेट उचालिन् र भुइँमा चुम्बन गरेर खुसियाली मनाइन् । चोटका कारण १० महिना कोर्टबाहिर रहेकी सारापोभा चोटमुक्त भएपछि पहिलो उपाधि जित्न सफल भएकी हुन् ।
सिजे डेलाकसँगको पहिलो चरणको खेलमा नै कठिन संघर्ष गर्नुपरे पनि त्यसपछि फर्ममा फर्कंदै २४आंै वरीयताकी एरानीले फाइनल प्रवेश गर्दै सबैलाई आश्चर्यमा पारेकी थिइन् ।
पुरुषतर्फ राफेल नाडाल र नोभाक जोकोभिकबीच उपाधि भिडन्त हुने भएको छ । फाइनल प्रवेश गर्ने क्रममा नाडालले अर्का स्पेनिस खेलाडी डेविड फेररलाई ६–२, ६–२, ६–१ ले पराजित गरे । यसैगरी जोकोभिकले फेडेररलाई ६–४, ७–५, ६–३ ले पराजित गरे । जोकोभिकले नाडालसँगको खेलमा जित हात पारेमा उनी ग्रान्डस्ल्याम टेनिसको ४३ वर्षे इतिहासमा लगातार चार ग्रान्डस्ल्याम जित्ने पहिलो खेलाडी हुनेछन् । जोकोभिक ग्रान्डस्ल्याम टेनिसमा लगातार २७ खेलमा अपराजित छन् जसमा उनले गत वर्ष नाडालविरुद्धको विम्बल्डन फाइनलको जित पनि समावेश छ । नाडालले पनि फ्रेन्च ओपनमा खेलेका ५२ मध्ये ५१ खेल जितेका छन् । उनी बाहेक ब्योर्न बोर्गले मात्र सर्वाधिक प्रेmन्च ओपन जितेका छन् ।

प्रतिक्रिया