रेलको ड्राफ्ट बनाउँदै चिनियाँ टोली

काठमाडौं । चिनियाँ प्राविधिक टोलीले नेपाल सरकारलाई रेल निर्माणको ड्राफ्ट बुझाउन तयारी थालेको छ ।

चीनबाट ल्याउने रेलको सम्पूर्ण रिपोर्ट अध्ययनका आधारमा चिनियाँ टोलीले ड्रफ्ट बुझाउने तयारी थालेको रेलवे विभागले जनाएको छ । अघिल्लो साता टोलीले आंशिक विवरण सार्वजनिक गरिसकेको छ ।

जेठ दोस्रो साता चिनियाँ टोलीले गरेको प्रारम्भिक अध्ययनको रिपोर्टअनुसार ७२ दशमलव २५ किमी रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ लाग्नेछ

नेपाल र चीनबीच रेलमार्ग बनाउने सम्झौता भएपछि चिनियाँ टोलीले आवश्यक अध्ययन थालेको थियो । ‘टोलीले अध्ययन सकेको छ, अहिले धमाधम रिपोर्ट बनाउने काम भइरहेको छ,’ रेलवे विभागका एक अधिकारीले भने, ‘टोलीले छिट्टै नेपाल सरकारलाई रिपोर्टको ड्राफ्ट दिँदै छ ।’ रिपोर्टका आधारमा रेल निर्माणको सर्वे सुरु हुने उनले जानकारी दिए ।

यसअघि गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपालभित्र निर्माण गर्ने रेलको सामान्य खाका सार्वजनिक भइसकेको छ । प्रारम्भिक अध्ययनले केरुङ–काठमाडौं रेलमार्ग बनाउन साढे दुई खर्ब रुपैयाँ चाहिने देखाएको छ ।

जेठ दोस्रो साता चिनियाँ टोलीले गरेको प्रारम्भिक अध्ययनको रिपोर्टअनुसार ७२ दशमलव २५ किमी रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ लाग्नेछ । यो रेलमार्ग बनाउन नौ वर्ष लाग्ने प्रारम्भिक अनुमान छ ।

शुक्रबार मात्रै अवकाश पाएका रेलवे विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले चिनियाँ टोलीले उत्साहजनक रूपमा अध्ययन गरेकाले यसको प्रारम्भिक लागत सार्वजनिक भइसकेको जानकारी दिए । ‘यो अध्ययन एक मोडेल हो,’ उनले भने, ‘यसको आधारमा आयोजनाले काम गर्छ ।’ अहिलेसम्म सार्वजनिक भएका विवरणबाहेक विस्तृत रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले गरेको अध्ययनको रिपोर्टअनुसार रेलमार्गको ९८ दशमलव ५ प्रतिशत भागमा पुल र टनेल रहने उल्लेख छ । कम्पनीले अध्ययनको यो ड्राफ्ट दुवै देशका सरकारी निकायलाई बुझाउने काम सुरु गरिसकेको छ । यो अध्ययनको सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो ।

असार पहिलो साता चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल काठमाडौं लाने सहमति गरेका थिए । रेलवे अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिएपछि यसको ड्राफ्ट बुझाउन टोली सक्रिय भएको हो ।

चीनको सिगात्सेबाट काठमाडौं जोडिने रेलको अन्तिम प्रस्थानविन्दु टोखा हुनेछ । चिनियाँ कम्पनी फस्र्ट सर्वे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा रसुवागढीबाट टोखासम्म रेलमार्ग ७२ किमी हुने उल्लेख छ । नेपाल–चीन सीमा रसुवागढीदेखि काठमाडौंसम्मको लम्बाइ करिब ७२ किमी हुने यस रेलमार्गको अधिकांश भाग सुरुङ र केही अग्ला पुल हुँदै काठमाडौंको टोखामा अन्तिम स्टेसन रहनेछ ।

भौतिक पूर्वाधार मन्त्रलाय स्रोतका अनुसार दुवै पक्षसँग रिपोर्टमा सुझाव लिएर सोही आधारमा ड्राफ्ट बनाउन टोली लागेको छ । यो ड्राफ्ट सुझावसहित हुनेछ । कस्तो सुझाव हुने केही दिनमै सार्वजनिक हुने स्रोतले जनायो ।

नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रतिनिधिमण्डल र चीनको रेल प्रशासनबीच चीनको सियानमा ३ देखि ६ भदौसम्म पूर्वसम्भाव्यता अध्ययनमाथि छलफल भएको थियो । पूर्वसम्भाव्यता अध्ययन गरेको कम्पनीले रेलको अधिकांश भाग पुल र सुरुङमार्ग हुने जनाएको थियो ।

प्रतिक्रिया