समाजशास्त्री माधव आचार्यको अन्तर्वार्ता पढेर लेख्न बाध्य बनायो । समाजशास्त्रीको अन्तर्वार्ताको हेडलाइन पढ्नेबित्तिकै उनको महिलाप्रति हेर्ने दृष्टिकोण ६ वटा शब्दले नै उदांगो बनायो । ‘महिलाले रक्सी खान थालेकाले उच्छृंखलता बढ्यो ।’
यही हेडलाइनमा उनको अन्तर्वार्ता पढेपछि मेरो मन भित्रैबाट कुँडिएर आयो ।समाजशास्त्रीजस्तो व्यक्तिले यति तल्लो स्तरको शब्द र आशय व्यक्त गर्नु कति सुहाउला ? रक्सी कसैले पनि नखाँदा राम्रो हो । नखाइ नसक्नेले रक्सीसम्म खाँदा समाजले ठीकै ढंगले हेर्छ।
तर, जब रक्सीले मान्छे खान थाल्यो भने त्यसले निम्त्याउने परिणाम गम्भीर भएका धेरै घटना पढेका र सुनेका छौँ। समाजमा रक्सी खानेको संख्या हेर्ने हो भने, महिलाको तुलनामा पुरुषको संख्या निकै बढी छ । पुरुषले दिउँसै रक्सी खाएर हिँडेको भेटिनु सामान्य ठानिन्छ । रक्सीको नसामा उसलाई जे पनि गर्न छुटजस्तै छ ।
तर, सार्वजनिक स्थलमा रक्सी खाने महिलाको संख्या निकै कम छ । लुकीछिपी कसैले चाल नपाऊन्भन्दै डराइडराइ खाने र रक्सी खाएर बहादुरी देखाउने कसले हो, समाजमा उच्छृंखलता बढाएको समाजशास्त्रीज्यू ? जहाँसम्म सामाजिक विकृति र उच्छृंखलताको कुरा छ त्यो महिला वा पुरुष कसले बढी घटाएका छन् ?
त्यो पनि हेरिनुपर्छ । विभिन्न घटनामा संलग्न हुने गरेका अभियुक्तको संख्या यहाँले पनि हेर्नु पर्ला अनि मात्र यस्ता, विषयमा बोल्नु सान्दर्भिक होला । पछिल्लो समय सामाजिक विकृतिले सीमा नाघेकै हो । घर, परिवार, समाज, आफन्त कोही कसैसँग सुरक्षित छु भन्न सक्ने अवस्था छैन ।
कति वेला आफन्तैबाट महिलाको अस्मिता लुटिने हो वा को कति वेला कसको हातबाट मरिने हो भन्न सकिने अवस्था छैन । तर, यी सबै कुरालाई आजको युगमा धर्म, संस्कृति र महिलाको खानपिन अनि आचरणसँग जोड्न खोज्नु तपाईंको महान पुरुषवादी चिन्तनभन्दा केही होइन भन्ने प्रष्ट हुन्छ।
यसले पुरुषका नाममा समाजमा अपराधिक मनोवृद्धि बढाउने र महिलालाई निच देखाउन खोज्ने चिन्तनको हाबी भएको देखिन्छ । तपाईंको आशय पुरुषका कारण समाज सभ्य, शान्त र सुशील छ भन्ने खोज्नु भएको हो भन्ने संकेत तपाईंका शब्द र आशयले देखाउँछ ।
यही समाजमा बसेर समाजका गतिविधि हेरिरहेको व्यक्तिले त्यस्ता, शब्द प्रयोग गर्दा समाजका ५१ प्रतिशतभन्दा बढी संख्यामा रहेका महिलामाथि चोट पुग्ला भन्नेतर्फ तपाईंको ध्यान किन गएन ? समाज भनेकै विभिन्न प्रकारका मान्छे बसेर बनेको हुन्छ । त्यहाँ नराम्रा र विकृतिजन्य कार्यमा महिलाको सहभागिता हुँदै नभएको भने होइन ।
फेरि सबै खालका विकृति नशाकै सुरमा हुन्छ भन्ने पनि होइन । जीवनभर नशा नखानेले पनि कैयौँ अपराधिक घटना गराएका छन् । यस्ता, यथार्थलाई तपाईंको विचारमा नजरअन्दाज गरिएको देखिन्छ । रक्सी नखाने महिलाले पनि कैयौँ गलत काम गरेका छन् ।
तपाईंको नजरमा महिलाले रक्सी खान थालेका कारण उच्छृंखलता बढेको देख्नु समाजका सबै महिलाले रक्सी खान थाले र उच्छृंखलता मच्चाउन थाले भनेर प्रमाणित गर्न खोज्नु त होइन ? यदि, त्यसो हो भने त्यसले महिलाको आत्मस्वाभिमानमा चोट पुर्याउँछ । समाजको बौद्धिक वर्गले प्रयोग गर्ने भाषा र शब्दले कुनै समुदाय वा वर्गको मानमर्दन हुन्छ भन्ने कुरा ध्यान दिनुपर्छ ।
बोल्न पाएँ भन्दैमा जे पनि बोल्न पाइँदैन । बोलेको कुराले कहाँसम्म असर पर्छ त्यसबारेमा पनि सोच्नुपर्छ । केही प्रतिशत महिलाले सार्वजनिक स्थानमा रक्सी खाएको विषय बनाएर समाजका सबै पुरुषका आचरण नैतिकता ठीक छ, अनि सबै महिलाका कारण समाजमा विकृति बढेको भन्नु कतिको जायज होला ? एकपटक सोच्नुहोस् ।
हाम्रो समाज मात्र होइन पश्चिममा समाजमा पनि रक्सी खाएर एउटी महिलाले पति, छोरा, देवर, भान्जा, भतिजाको बलात्कार वा हत्या गरेको घटना धेरै छन् कि ? पुरुषका कारण पत्नी, छोरी, बहिनी, भान्जी, भतिजीलगायतका बलात्कार वा हत्या गरेका घटना धेरै छन्। सामाजिक अपराध र हिंसाका घटनामा अहिलेसम्म जति पनि व्यक्ति सहभागी भएका छन्।
त्यो महिलाको तुलनामा पुरुषको निकै बढी छ त्यो वास्तविकतालाई तपाईंका यी शब्दले राम्रैसँग ढाक्ने प्रयत्न गरेको देखिन्छ । सिंगो समाजको महिलाप्रति तपाईंका शब्दले व्यंग्यवाण गरिरहेको छ। कुरा रक्सीको मात्रै होइन तपाईंले महिला अधिकार र स्वतन्त्रतामाथि पनि धावा बोल्नुभएको छ।
कसैका अधिकार र स्वतन्त्रताले समाजलाई हानि पुर्याउँछ भने अलग कुरा नत्र, यसरी बोल्न पाइँदैन । तपाईंले भनेजस्तै ‘महिला हकअधिकार संरक्षण, महिला सशक्तीकरणका नाममा गर्भपतन गर्न पाइने कानुन बनाइयो ।’ यसले पनि सामाजिक विकृति बढेको हो भने त्यो कार्यमा महिला एक्लैको सहभागिता थियो भनेर पुरुषलाई इमानदार कर्तव्यनिष्ठ बनाउन खोज्नु भएको हो ?
कुनै महिलाको इच्छाबिना गर्भ रहन सक्छ ? कि, कसैलाई गर्भवती बनाउने महिला नै हो ? यसमा तपाईंको बुझाइ कति सानो । गर्भमा महिलाको पूर्ण रूपले अधिकार हुन्छ । कुनै पनि महिला पुरुषको इच्छामा बच्चा जन्माउने मेसिन हो भन्ने ठान्नुभएको होला त्यो कदापि, होइन ।
तपाईं आफैँ पनि आमाको इच्छाले महिलाकै कोखबाट जन्मिएको पुरुष हुँ भनेर नभुल्नुहोस् । अनि, परिवर्तित व्यवस्थालई दोष दिएर कुन व्यवस्थाको वकालत गर्न खोज्नु भएको हो ? ‘प्रजातन्त्रको नाममा अपराधलाई राजनीतिकरण गरिएको छ ।’ भनेर वर्तमान व्यवस्थाका विरुद्ध भ्रम सिर्जना गर्ने प्रयास गर्न पाइँदैन ।
यही व्यवस्थाका लागि महिलाले पनि बलिदान गरेका छन् । त्यो कुरा तपाईंले बुझ्नु भएकै होला ! तपाईं जतिको बौद्धिक मान्छेलाई भन्नु नपर्ला। महिलालाई अंश दिने व्यवस्थाले घरव्यवहार बिग्रिएको छ, अंश व्यवस्था खारेज हुनुपर्छ भन्ने तपाईंको आवाज पूरै महिला विरोधी हो । अंशमा छोराले एकलौटी बदमासी गरिरहेका थिए ।
त्यही बराबर बदमासी हामीले पनि गर्न पाउनुपर्छ भनेर महिलाले अंश मागेका हुन् भन्ने समाजशास्त्रीको विचारले महिला साच्चै दोस्रो दर्जाको नागरिक हुन् र उनीहरूलाई कुनै प्रकारका अधिकार दिनु हुँदैन दासी बनाएर राख्नुपर्छ भन्ने देखिन्छ । आजको युगमा बौद्धिक वर्गले महिलाका सवालमा यति तल्लो स्तरको संकुचित मानसिकताले ग्रसित भनाइ दिँदै हिँड्ने हो भने हाम्रो समाज कहाँ पुग्ला ?
महिलाले पाएको वर्तमान अधिकार गफले होइन त्याग र संघर्षले हो । त्यसका लागि धेरै महिलाले आफ्ना वैयक्तिक जीवन लथालिंग बनाएका छन् । जेल बसेका छन् र सबै प्रकारका संघर्ष गरेका छन् । यसलाई दान वा बक्सिसको रूपमा नबुझियोस्, दिएको वस्तु हो फिर्ता हुन्छ, भनेर ।
तपाईंलाई भ्रम हुन सक्छ । महिलाहरू आफ्ना अधिकार रक्षा गर्नका लागि जस्तोसुकै त्याग र संघर्ष गर्न तयार छन् । हिजो पनि गरेकै हो, आवश्यकता परे फेरि पनि गरिन्छ। दुःखको कुरोचाहिँ के हो भने, रक्सी खाएर समाजमा उच्छृंखलता मच्चाउँदै हिँड्ने पुरुषलाई तपाईंले आजसम्म देख्नुभएको रहेनछ।
समय मिल्यो भने तपाईंको ध्यान त्यता पनि जाओस् र त्यसका बारेमा तपाईंको धारणा पढ्ने अवसर मिलोस् भन्ने चाहन्छु । रक्सी खाएर उत्पात मच्चाउने अधिकार पुरुषलाई पनि छैन । अनुशासित महिला मात्रै होइन पुरुष पनि हुनुपर्छ अनि मात्र समाज सभ्य हुन सक्छ । कहिल्यै रक्सी नछोएको महिला वा पुरुष दुवैबाट समाजमा हजारौँ उच्छृंखलता भएका छन् ।
सबै अपराध रक्सीकै कारण भएको हुँदैन । समाजमा राम्रा वा नराम्रा हरेक प्रकारका मान्छे बस्छन् । त्यो नेपालमा मात्र होइन दुनियाँमा छ । कहीँ बढी होला कहीँ कमी । त्यसैले, समाजमा उच्छृंखलता मच्चाउने महिला मात्र हुन् र त्यसको दोष रक्सी र महिलालाई दिएर पुरुषलाई उन्मुक्ति दिने प्रयास हो भने यहीँ बन्द होस् ।
प्रतिक्रिया