आजको युग भनेको सूचना र प्रविधिको युग हो । समयानुकूल सूचना र प्रविधिको विकास तथा उपभोग गर्ने देशहरूको शैक्षिकलगायत आर्थिक तथा सामाजिक क्षेत्रहरूमा पनि प्रगति भएको देखिन्छ । विकसित मुलुक र विकासशील राष्ट्रका बीचमा सूचना र प्रविधिको उपयोगको अवस्था ज्यादै भिन्न देखिन्छ । पछिल्लो समयमा विद्यालयमा सूचना प्रविधिको उपयोगमा जोड दिन थालिएको छ । शिक्षा र सूचना प्रविधिको बीचमा घनिष्ट सम्बन्ध रहेको हुन्छ । यसै यथार्थलाई मनन् गरी हामीले विद्यालयमा पनि प्रविधिको प्रयोगबाट प्रभावकारी शिक्षण गर्ने तर्फ अग्रसरता देखाउनु जरुरी छ ।
शिक्षामा सूचना र प्रविधिको उपयोगले शैक्षिक अवसरको विकासका साथै शैक्षिक गुणस्तर सुनिश्चित गर्ने सिकाइलाई प्रभावकारी र दिगो बनाउने तथा नवीनतम ज्ञानको संसारमा सहज प्रवेश गराउन सकिन्छ । प्रविधिको उपयोगले शैक्षिक व्यवस्थापनमा प्रभावकारीता ल्याउन मूल्यांकन प्रणालीमा सुधार गर्न शैक्षिक सुशासनको प्रत्याभूति गर्नका साथै शैक्षिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउन सूचना र सञ्चार प्रविधिको उपयोग अनिवार्य भैसकेको सत्यतालाई नकार्न मिल्दैन । आजको प्रतिस्पर्धात्मक समयमा जति सक्दो सूचना प्रविधिको पहुँचको बिस्तारमा जोड दिएर अगाडि बढ्नुको विकल्प देखिँदैन ।
सूचना प्रविधिको इतिहासलाई हेर्ने हो भने नेपालमा सर्वप्रथम वि.स. ०२८ सालमा स्थापित राष्ट्रिय कम्प्युटर केन्द्रद्वारा सञ्चालित कम्प्युटर प्रविधिसम्बन्धी तालिमको थालनीलाई लिइन्छ । विद्यालयमा भने वि.स. ०४९ देखि मात्र विद्यालय तहको शिक्षादेखि कम्प्युटर प्रविधिसम्बन्धी पठनपाठन हुँदै आएको देखिन्छ । शिक्षामा सूचना र सञ्चार प्रविधिको उपयोगको आवश्यकता विविध कारणले गरिएको हो । जसमा शैक्षिक पहँुचको विस्तार गर्न, सक्षमता तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, सिकाइलाई रोचक, प्रभावकारी र दिगो बनाउन, ज्ञानको दायरा फराकिलो बनाउन शिक्षकहरूको पेसागत दक्षता बढाइ शिक्षणको गुणस्तरमा सुधार ल्याउन सूचना प्रविधिको खाँचो महसुस गरिएको हो ।
त्यसैगरी व्यवस्थापकीय प्रणालीमा सुधार ल्याउन सक्षम तथा दक्ष जनशक्तिको उत्पादन गर्न, सूचना र सञ्चार प्रविधिमा पहुँच हुने र नहुनेबीचको खाडल कमगर्न र निरन्तर तथा जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गर्नका लागि सूचना र प्रविधिको उपयोग हुनु जरुरी भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूपमा सूचना र प्रविधिलाई शैक्षिक प्रवद्र्धनको मुख्य साधनको रूपमा लिइएको छ । प्रारूपले तीन किसिमबाट सूचना प्रविधिलाई उपयोग गर्न सुझाव दिएको पाइन्छ । पहिलो विद्यालय शिक्षासँग सम्बन्धित सूचना तथा तथ्यांकहरूको सञ्चार गर्ने साधनको रूपमा दोस्रो विद्यालयमा अध्यापन हुने अन्य विषयहरू शिक्षण गर्ने साधनको रूपमा र तेस्रो सूचना प्रविधि एक छुट्टै विषयको रूपमा शिक्षण गर्न प्रेरित गरेको छ ।
नेपालमा सूचना तथा प्रविधि नीति ०६७ पारित भै सकेको छ जसमा सूचना र प्रविधिको विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधारको विकास शिक्षा क्षेत्रमा यसको प्रवद्र्धन गर्ने लगायतका नीतिगत व्यवस्था गरेको छ । त्यति मात्रै नभई विद्युतिय शासन गुरुयोजना सूचना तथा सञ्चार प्रविधिको उपयोगद्वारा सेवा प्रवाहको स्तर अभिवृद्धि गर्नुका साथै यसका लागि शिक्षा एक प्राथमिकता प्राप्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । आज विश्व नै सूचना प्रविधिका कारणले एउटा सानो गाउँझँै बन्दै गएको छ । विश्वका कुनै कुनामा भएका नयाँ खोज अनुसन्धान र घटना क्षणभरमा नै संसारभर सञ्चार हुन्छन् ।
प्रविधिको उपयोगले विश्वलाई साँघु¥याउँदै लगेर एउटा भूमण्डलीय ग्रामका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ । सूचना र प्रविधिको प्रयोगले कक्षामा शिक्षण कार्य प्रभावकारी हुन्छ । विद्यार्थी सिकाइप्रति जागरूक हुन्छन् भने सिकाइ पनि चीरस्थायी हुन्छ । सुनेका कुराभन्दा देखेर सिकेको सिकाइ स्वाभाविकै रूपमा दीर्घकालीन हुन्छ । प्रविधिको उपयोगले गर्दा सिकाइको उद्देश्य हासिल गर्न सहज हुन्छ भने विद्यार्थी सिकाइप्रति उत्प्रेरित हुन्छन् । तसर्थ, प्रविधिको प्रयोग पठनपाठनका लागि अनिवार्य बन्दै गएको छ । गुणस्तरीय शिक्षाका लागि शिक्षकले आफूलाई पेसागत दृष्टिले दक्ष र सक्षम बनाउनका लागि प्रविधिको उपयोग जरुरी हुन्छ ।
पठनपाठनमा नवीन विषयवस्तु विधि प्रक्रिया, बालमनोविज्ञान आदिप्रतिको बुझाइ, सिकाइ, ज्ञान, सीप, मनोवृत्तिजस्ता पक्षको विकास गर्दै कक्षा कोठाको वातावरणमा परिवर्तन ल्याउन र विद्यार्थी केन्द्रित सिकाइ गर्नका लागि पनि प्रविधिको प्रयोग प्रभावकारी हुने कुरामा दुईमत रहँदैन । हाम्रोजस्तो विकासशील राष्ट्रका लागि देशका सबै विद्यालयमा विद्युत्को सर्वसुलभ अभावका कारण पनि प्रविधिको उपयोगमा कठिनाई हुँदै आएको छ । शिक्षकलाई पनि समय सापेक्ष रूपमा सूचना र प्रविधिको उपयोगका सम्बन्धमा तालिम दिएर शिक्षकलाई सक्षम बनाई राख्नुपर्ने हुन्छ ।
आज केही सहरका सुविधा सम्पन्न विद्यालयमा बाहेक अन्यन्त्र सूचना र प्रविधिको उपयोग भएको देखिन्न । पछिल्लो समयमा शिक्षा मन्त्रालयबाट शिक्षामा सूचना तथा सञ्जाल प्रविधि सम्बन्धी गुरुयोजनामा चारवटा अवयवलाई जोड दिइएको छ । अन्तरक्रियात्मक डिजिटल विषयवस्तुको विकास, सूचना प्रविधि र मानवस्रोतको विकास, सूचना प्रविधि पूर्वाधारको विकास र विद्यालयमा इन्टरनेटको जडानजस्ता प्राविधिक पक्षलाई समेटिएका छन् ।
सूचना र प्रविधिको सहजरूपले उपयोग गर्नका लागि सम्बन्धित उद्योग र सूचना प्रविधि शिक्षा दिने शैक्षिक संस्थाहरूका बीचमा सहकार्यको उत्तिकै खाँचो देखिन्छ । परम्परागत शिक्षण विधि बदलिएमा नवीनतं प्रवद्र्धनात्मक विधिहरूको प्रयोग, सिकारुहरूको सिकाइलाई सहजीकरण गरी मनोरञ्जनपूर्ण वातावरणमा सहज र सुलभ सिकाई गर्न, सिकाइलाई अर्थपूर्ण र उपयोगी बनाउनका लागि पनि सूचना र प्रविधिको उपयोग गर्नुपर्ने देखिन्छ । हाल सञ्चालनमा रहेको दूरशिक्षा पनि सूचना र प्रविधिको उपयोगबाटै सम्भव भएको हो । अबका दिनमा सबै विद्यालयमा विद्यार्थीको रुचीअनुसार आफ्नो स्रोत र साधनले धान्ने सम्मका प्रविधिको प्रयोगलाई बढाउँदै लैजानुपर्छ । जसले गर्दा पठनपाठन प्रभावकारी बन्छ भने सिकाइको उद्देश्य प्राप्तिमा पनि सहजता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
प्रतिक्रिया