पूर्वीय दर्शन तथा सभ्यता र पश्चिमा दर्शन तथा सभ्यताले आजसम्म विश्वमा भएका मानवीय अभ्यासहरूलाई परिभाषित गरेको छ । यहाँ पूर्व र पश्चिम दिशाको रूपमा होइन, पूर्वीय दर्शन, सभ्यतालाई पहिलो र पुरानो मानिएको छ । मानव जातिको विकाससँगै हिमाली क्षेत्रमा पूर्वीय सभ्यताको विकास भएको छ । प्राचीन कालमा हिमाली क्षेत्रमा बसोवास गर्ने मानव समुदायका अगुवा जसले सनातन पूर्वीय दर्शनको सिर्जना गरे तिनलाई आज ऋषिमुनी भनेर चिनिन्छ । उनीहरूले सूत्र र मन्त्रको रूपमा सिर्जना गरी स्थापित गरेको र व्यवहारबाट प्रमाणित विषयहरूलाई वेद, उपनिषद्, मनुस्मृति, पुराणहरू भनेर आजको पुस्तासम्मले अनुशरण गरिरहेको छ । यो आज पनि त्यत्तिकै सान्दर्भिक र उच्चकोटीको ज्ञानको भण्डारको रूपमा सुरक्षित छ जुन संस्कृत भाषामा लिपिबद्ध छ ।
आज हिमालय क्षेत्रको कला, संस्कृति, भाषाधर्म, परम्परा, सामाजिक मूल्य मान्यता, आर्थिक, राजनीतिक, परिस्थितिकिय प्रभाव र जैविक विविधताको महत्व एकैसाथ बढेको छ । विगतको भन्दा यो शताब्दीमा पृथ्वीको तापक्रम दिनानुदिन बढ्नु, जलवायु परिर्वतको असर विश्वको कुनै पनि कुनामा भन्दा हिमाली क्षेत्रमा बढी देखिनुजस्ता कारणले आज हिमालको महत्व बढेको छ । विशेषतः तिब्बतीय प्लेट, हिमाली शृंखला, हिन्दकुश क्षेत्र, काराकरमदेखि गंगानदी किनारसम्म प्रत्यक्ष असर देखिन्छ । विश्वमा हिमालय राष्ट्र भनेर नेपाल, तिब्बत, चीन, पाकिस्तान, भारत, भुटान, अफगानिस्तान, आदिलाई मूलतः बुझिन्छ ।
वेलावेलामा हिमालयको काखमा रहेका यी राज्यहरूमा जलवायु परिर्वतनले हुने असरले क्षति निम्त्याएको छ । हिमालय बचाऊ अभियानमा विश्वका धेरैजसो देशका नागरिकहरू जुटेका छन् । जसका कारण विश्वको ध्यान यस क्षेत्रमा गम्भीर रूपमा देखापरेको छ । हिमाल र हिमाली राज्य बचाउन नसके हिउँ पग्लने, हिमताल फुट्ने र तल्लो तटीय क्षेत्रमा शुद्ध पानीको अभाव हुने सम्पूर्ण प्राणी जगत्को अन्त्य हुने, जैविक विविधता नष्ट हुने, मानवीय जीवन समाप्त हुने खतरा रहन्छ । अहिलेको मानव जातिको अहंकार, दम्भ, स्रोतमाथिको अस्वस्थ प्रतिस्पर्धा, औद्योगीकरण र युद्धको कारण पृथ्वीको जीवन समाप्त हुनसक्छ ।
त्यसैले हिमालयको संरक्षण भनेको पूर्वीय सभ्यता र दर्शनको संरक्षणको साथै जगत्को रक्षा गर्नु हो । पृथ्वी र महासागरको रक्षा पनि हो । हिमालमा रहेको हिउँ पग्लनु र हिमताल फुट्नु भनेको त्यसभन्दा तलका सिंगो धरालत बग्नु र समुद्रमा मिल्नु हो । समुद्रको क्षेत्रफल बढ्नु, घट्नु, पुरिनुको कारण सिंगो पारिस्थितिक प्रणालीमा फेरबदल आउनु हो ।
आज हिमाल र हिमालयको संरक्षण भन्नुको तात्पर्य केवल जलवायु परिवर्तनसँग मात्र सीमित छैन । यो विश्वको भूराजनीतिक, राजनीतिक अर्थतन्त्र, राजनीतिक प्रणाली, विकास र यस क्षेत्रको मानव जातिको समृद्धि गौरव र स्वाभिमानको प्रश्नसमेत अन्तरनिहित छ ।
एसियामा २ हजार ४ सय किलोमिटर क्षेत्रफलभित्र नेपाल, चीन, भारत, पाकिस्तान र भुटान विभक्त छन् । ग्रेट हिमाल, लेसर हिमालय र आउटर हिमालय भनेर चिनिन्छ । सगरमाथा हिमालय क्षेत्रको मात्र अग्लो स्थान नभई पृथ्वीकै अग्लो स्थान हो । अरू महत्वपूर्ण चुचुराहरू काराकोरम, कैलाश, कञ्चनजंघा, नानागा पर्वत, अन्नपूर्ण र मनास्लु प्रसिद्ध छन् । हिमालय नै सिन्धु, ब्रह्मपुत्र, गंगा, एल्लो मेकान्गनजिंग, यांस्ते नदीको पानीको स्रोत हो । १५ हजार हिमतालसहित नेपालको ७५ प्रतिशत भूभाग हिमाली क्षेत्रले ढाकेको छ । सगरमाथालाई बह्माण्डको देवी र आकाशको निधार भनिन्छ । जैविक विविधताको भण्डार हो । अन्य मुलुकभन्दा नेपालका लागि हिमालको सार्वभौमिकताको रक्षा र प्रवद्र्धन सिंगो राज्यको गौरव र स्वाभिमान भएको कुरा तथ्यले बताउँछ ।
हिमालयको सम्बन्ध केवल हिउँले ढाकेको सेता चुचुरासँग मात्र सम्बन्धित छैन । त्यसको वरिपरिका मानिस र त्यहाँको संस्कृतिसँग मात्र पनि सम्बन्धित छैन । हिमालय क्षेत्रभन्दा तल समुद्री सतहसम्म हिमालको प्रभाव र अन्तरसम्बन्ध र अन्तर निर्भरता रहन्छ । यसको सम्बन्ध हिमाल, पहाड, तराईसँग अन्योन्यास्रित छ । यसबाट एकले अर्काेलाई छुट्ट्याउनै सकिँदैन । त्यसैले नेपालले भन्न सक्नुपर्दछ, नेपालको हिमालय नेपालको भन्दा तल रहेका एक अर्ब मानिसको जीवनको स्रोत र जीविकाको आधार हो । हिमाल संरक्षण गर्नु भनेको हिमालयको सभ्यता अर्थात् पूर्वीय सभ्यता, दर्शन, संस्कृति, मूल्य मान्यता र त्यसको आर्थिक, राजनीतिक, सामाजिक प्रणालीको सम्वद्र्धन र विकास हो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उत्प्रेरणामा भर्खरै भानुभक्तको २०५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी साहित्य सम्मेलन सम्पन्न भयो । हिमालयको काखमा रहेको हिमवत् खण्डका करिब ४० जनाभन्दा बढी साहित्य, कला र संस्कृतिका विद्वान्हरूले यस क्षेत्रको उत्पति, विकास, संवद्र्धन र यस क्षेत्रको सफलताले मानव जातिमा विकास र समृद्धिमा पु¥याएको योगदान र यस क्षेत्रको नेतृत्वको सबिस्तार चर्चा भएको खबर सम्प्रेषण भएको छ ।
विगतमा नेपालले हिमाली राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर हिमालयको महत्व र यसको रक्षा गरी यसलाई बचाउन नेपालले नेतृत्वको आवश्यकता महसुस गरी स्वामित्व ग्रहण गरेको थियो । हिमाली देशका सरकार, नागरिक समाज, पत्रकारहरूले घोषणा पत्र जारी गरी विश्व समुदायलाई हिमाल र यसको सभ्यता, सांस्कृतिक धरोहर, जलवायु परिवर्तन, आर्थिक र राजनीतिक प्रणाली बचाउन आह्वान गरेको थियो । अहिले साहित्यक कार्यक्रममार्पmत आफ्ना वर्गीय मुद्दा मात्र उठाएन पूर्वीय दर्शन र सभ्यताको रक्षा र नेतृत्वको आवश्यकताको बारेमा छलफल र बहस थालेको छ ।
सन् २०२० सम्म माउन्टेन राष्ट्रहरूको दिगो विकास समृद्धिका लागि अर्काे सम्मेलन गरिँदै छ । यसबाट पनि हिमाल र हिमालय क्षेत्रको संरक्षण र दिगो विकासको एजेन्डाले क्रमशः स्थान पाउने नै छ । यिनै तथ्यलाई हृदयंगम गरी हिमालय राष्ट्र भएकाले नेपाल र नेपालीको यस विषयमा चासो बढ्नु स्वाभाविक हो । भारत र चीनको बीचमा रहेको हिमाली राज्य नेपालको र नेपालीको मौलिक पहिचान र प्रभाव विशिष्ट छ । यी दुवै देशको राजनीतिक र आर्थिक प्रणाली भिन्न छ ।
बढ्दो भारत चीन सामिप्यता र यसको विश्व राजनीति र कूटनीतिमा छुट्टै विशेषता र प्रभाव रहन्छ । कतै नेपालको कूटनीति सम्बन्ध यी दुवै को चेपुवामा पर्ने त होइन छलफलको विषय हुँदै छ । यी दुई एसियन ठूला राष्ट्रको सम्बन्धले कुन दिशा लिने स्पष्ट भइसकेको छैन । तथापि, आज नेपालले नेपाली मौलिक सांस्कृतिक, भूराजनीतिक र अर्थराजनीतिमा दिशा कस्तो लिने स्पष्ट दिशा निर्देश गर्नुपर्ने खाँचो भएको छ । यसको प्रस्थान बिन्दु पूर्वीय सभ्यता र पूर्वीय दर्शनको मार्गदर्शनमा हिमालय संस्कृतिको प्रकाशमा हिमालयको सार्वभौमिकता जगेर्ना र स्वतन्त्र हिमालय अर्थतन्त्रको विकासका लागि क्रमशः पाइला चाल्नु पर्दछ ।
दुई ठूला छिमेकीको विकास र समृद्धिको मार्ग बन्ने कुराले नेपाल र हिमालयको पहिचान गुम्छ कि, भन्ने आशंका बढ्न थालेको छ । यसले नेपालको समृद्धि पनि छलफलको र प्रचारको विषयमा मात्र बन्न सक्छ । दुई छिमेकीको विकास समृद्धि र प्रभावमा नेपालको आर्थिक, राजनीतिक विकास ओझेलमा पर्न सक्नेछ । यसबाट नेपाललाई मुक्त गर्दै छुट्टै अस्तित्वसहित हिमालयका प्राकृतिक स्रोत जैविक विविधता, सांस्कृतिक विविधताको र पहिचानको प्रकाशमा सार्वभौम नेपालको विकासको मार्ग कोरिनु पर्दछ । आयतित विकासको मोडलको लामो अभ्यासले नेपालको न त गरिबी निवारण हुन सक्यो न आर्थिक विकास नै ।
न रोजगारी, न समृद्धि केवल परनिर्भरता र छिमेकीको बजार मात्र बन्यो नेपाल । यहि अवस्था रहेमा भावी दिनमा झन् परनिर्भरता बढ्दै जानेछ । विश्वको बढ्दो प्रविधिको विकासको सही उपयोग गर्दै नेपालको आर्थिक विकासमा स्वतन्त्र विकास नीतिको जग बसाल्नु पर्दछ । हिमालयको स्रोतमा आधारित स्वतन्त्र सार्वभौम आर्थिक नीति नै हिमालयको समृद्धि हो । सरकाले आउँदा दिनमा विगतको विकासका गलत अभ्यासलाई अन्त्य गर्र्न बढ्दो दलाल पुँजीको प्रभाव र बिचौलियाको अन्त्य गरिनु पर्दछ ।
प्राकृतिक स्रोतमा आधारित दिगो विकास नीति र द्रुत आर्थिक वृद्धिको नीतिअगाडि सारिनु पर्दछ । जसले नेपालको स्वाधिन आत्मनिर्भर अर्थतन्त्र विकासमा सहयोग पु¥याउँछ । समन्यायिक विकास प्रणालीलाई प्रभावकारी बनाउँदै नेपाल र नेपालीको विकासमा समान पहँुच स्थापना गर्न सक्षम हुनेछ ।
‘कोही पनि यो अभियानमा नछुटुन्’ भन्नका लागि समान आर्थिक पहुँचमा, समान अवसर, समान सहभागिता, समान अधिकार, समान वितरण प्रणाली र समान प्रयोग स्थापित हुनेछ र हुनुपर्दछ । यहि नै हिमालय समृद्घि र पूर्वीय दर्शन र सभ्यताको संरक्षण हुनेछ ।
प्रतिक्रिया