सौर्य उर्जाको वर्तमान अवस्था
नेपालमा झण्डै २५ वर्षको व्यावसायिक इतिहास बोकेको सौर्य उर्जा क्षेत्र हिजोदेखि आजसम्म ग्रामिण क्षेत्रमा केन्द्रित छ । हाल नेपालमा करिब ५५ मेगावाट सौर्य उर्जा उत्पादन भइरहेको छ । जसमध्ये करिब ३ मेगावाट मात्र ग्रिडमा जोडिएको छ । हालको कुल विद्युतीकरणमा १७ प्रतिशत योगदान सौर्य उर्जाको छ ।
कुनै पनि माध्यमबाट विद्युतीकरण हुन नसकेका र नभएका दूर दराजमा सौर्य उर्जाको विकास गरिँदै आएको छ । चार वर्ष अगाडिसम्म ग्रामीण दूर दराजमा नै केन्द्रित सौर्य उर्जा ०७२ को भूकम्प तथा भारतबाट गरिएको नाकाबन्दीपछि सहरी क्षेत्रमा आएको हो । जब विपत पर्यो तब सबैले बुझे सौर्य उर्जा भनेको जलविद्युत्कै सहपाठी हो प्रतिस्पर्धी होइन भनेर ।
जब देशमा विकराल समस्या आयो नाकाबन्दीले तब सौर्य उर्जाप्रति एकदमै आकर्षण बढ्यो । पहिलेपहिले एक दुईओटा बत्ति बाल्ने सोलारको माग हुन्थ्यो भने नाकाबन्दीको वेला खाना पकाउन मिल्ने, पानी तान्न मिल्ने, पानी तताउन मिल्ने, टिभी हेर्न मिल्ने लगायतका बढी पावर भएका सोलारहरूको माग बढेको थियो । त्यसपछि सबैलाई छर्लङग भयो सौर्य उर्जाले पनि धेरै काम गर्न सक्छ भन्ने ।
त्यसवेला सोलारको अत्यन्तै माग बढ्यो अर्को वर्षको तयारीमा सबै जुटे सबै सोलार व्यावसायीहरूले पुँजी तथा जनशक्ति बढाए । तर, अन्तिममा आएर नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक आएपछि लोडसेडिङ अन्त्यय हुने निश्चित देखियो र अन्त्यतः लोडसेडिङ नहुने नै भयो । त्यसवेला जसले लोडसेडिङलाई मात्र आधार मानेर काम गरेका थिए ति सौर्य उर्जा तथा सोलार व्यवसायीका ठूलो मात्रामा उपकरणहरू स्टक रहे ।
त्यतिवेला नै बैंकको ब्याज बढेको कारण पनि व्यावसायीहरू पलायन भए । कतिपय बैंकको लोन तिर्न नसकेर कालो सूचीमा नै परे । त्यसको केहि समयपछि सडकमा सोलार बत्ति जडान गर्ने भनिएपछि व्यावसायीहरूलाई केहि राहत भएको हो। पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले घरको छत–छतमा सोलार राखेर सरकारलाई नै विद्यु बेच्न सकिने नीतिगत व्यवस्था गरेको छ । कार्यान्वयन भने हुन बाँकि नै छ ।
लोडसेडिङ अन्त्यय हुनु भनेको सौर्य उर्जाको लागि स्वर्णिम युग हो । हाल औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भनिएको छ । तर, जसको लागि भारतबाट करिब ४ सय ५० मेवा विजुलि भारत बाट आयात भइरहेको छ । जसको महसुल ५ रुपैयाँ ५० पैसादेखि ६ रुपैयाँ भारुसम्म छ । जसलाई नेरुमा भन्ने हो भने ९ रुपैयाँ ६० पैसा हुन्छ ।
तर, सौर्य उर्जा यहि उत्पादन गरेर बेच्छौँ भन्दा पनि त्यो मुल्य पाउन नसकिराखेको अवस्था छ । त्यसकारण राज्यले सुरक्षासँग जोडिएको चिज उर्जामा परनिर्भरता घटाउनुपर्छ । यसको लागि राज्यले मिश्रित प्रणालीमा जानुपर्छ । मिश्रित प्रणाली भनेको सौर्य उर्जामार्फत उत्पादित बिजुली राष्ट्रिय लाइनमा जोडेर प्रयोगमा ल्याउन पहल गरिनुपर्छ ।
समग्र उर्जाको वर्तमान अवस्था विश्लेषण
विश्वमा जलश्रोतमा धनि देशहरूको सूचीमा पर्ने हाम्रो देश नेपाल लाखौँ मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भाबना पनि रहेको अवस्थामा उर्जा उत्पादन हुन थालेको एक सय वर्षमा मात्र ७÷८ सय मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । यो एकदमै दुर्भाग्य हो । जलविद्युत् तथा उर्जा उत्पादनमा राज्यले दिने प्राथमिकता र नीति निर्माण तथा कार्यान्वयनमा भर परेको हो।
जुन गतिले राज्यले उत्पादक तथा व्यावसायीहरूलाई पनि उचित वातावरण निर्माण गरेर लाग्नुपर्यो त्यो हुन सकेन । त्यस्तै, अर्को भनेको राजनीतिक अस्थिरता पनि उर्जा उत्पादनको बाधक बनेको अवस्था थियो । अपेक्षा गरेअनुसार उर्जा उत्पादन हुन नसकेको अवस्था नै हो । यसमा एउटा समुदायको पनि भूमिका रहन्छ । स्थानीय जनसमुदायको अवरोधको कारण पनि उर्जा उत्पादनमा समस्या भएको छ।
जस्तैः तामाकोसी को सेयर विगत केहि वर्षदेखि नै रोकिएको अवस्था छ । मुआब्जा वितरणको समस्या पनि उर्जा उत्पादनमा हाललाई तगारो नै बनेको विषय देख्न सकिन्छ । त्यस्तै, प्रसारण लाइनको समस्या ले गर्दा पनि जति उर्जा विकास हुनुपर्ने हो त्यति हुन नसकेको हो । विद्युत् वितरण गर्ने उपकरणहरूको कारण पनि चुहावट तथा अन्य समस्या देखिने गरेको छ ।
यी सम्पूर्ण कुराहरू समेटने गरी सरकारले दीर्घकालीन परिपक्व नीति ल्याएर कार्यान्वयन गर्ने हो भने उर्जा विकास राम्रो हुन्छ । उत्पादनको हिसाब गर्ने हो, भने हाल निर्माणाधीन आयोजना र पाइपलाइनमा भएका आयोजना सम्पन्न गर्ने हो भने पनि राम्रै हुन्छ । तर, यहि गतिमा उर्जाको क्षेत्रमा सरकारी तथा अन्य प्रक्रियागत काम हुने हो भने १० वर्ष १५ हजार मेगावाट उर्जा उत्पादन हुन सक्दैन ।
यदि राज्यले घोषणा गरेका कुराहरू समयमै पूरा गर्ने हो भने व्यावसायीहरूलाई पनि हरेक क्षेत्रमा उचित वातावरण गरिदिनु पर्छ। निजी क्षेत्रलाई पनि प्रमोसन गर्ने गरी उचित वातावरण निर्माण गर्ने हो भने उर्जा विकासमा राम्रो प्रगति हुनेछ । लगानीकर्ताको लगानीको सुरक्षा राज्यले गर्नुपर्दछ । त्यस्तै, उर्जाको बजार पनि खोजी गर्नु आवश्यक छ । उर्जाको प्रयोग नेपालमै पनि बढाउन सकिन्छ जस्तैः हाल रेमिट्यान्सबाट जति रकम आउछ त्योभन्दा बढी रकमको पेट्रोलियम पदार्थ आयात गरिरहेका छौँ ।
ग्यास तथा डिजेट पेट्रोलमा राज्यले दिएका सुविधा कटौती गरेर कम्तिमा पनि एक प्रतिशत कर लगाएर नवीकरणीय उर्जालाई प्रवद्र्धन गर्न सक्दछ । कम्तिमा पनि हरेक भान्सालाई उर्जा खपत गर्ने सिस्टममा सरकार लाग्ने हो भने पनि ग्यासमा बाहिर गइरहेको रकम नेपालकै उर्जा विकासमा खर्च गर्न सकिन्छ ।
जसबाट एक त व्यापार घाटा कम हुन्छ । अर्को परनिर्भरता घटाउन सकिन्छ । त्यस्तै, नेपाली जनताले रोजगारी पाउँछन् ।त्यसैगरि, पेट्रोल डिजेलको आयात कम गर्न विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्नुपर्ने हुन्छ । नेपालको उर्जालाई सकभर नेपालमै खपत गर्न सक्ने बजार बनाउनु जरुरी छ ।
अनि वारि निर्यातको लागि सरकारले लाग्नु जरुरी छ । खपत बढाउन बढी उर्जा प्रयोग गर्ने उपभोक्तालाई केहि सानो प्रतिशतमा भए पनि सहुलियत दिनुपर्दछ । यी यावत तरिकाबाट सरकार अगाडी बढ्ने हो सौर्य उर्जा, जलविद्युत्, वायु उर्जा सबैको लागि राम्रो सम्भाबना छ ।
सौर्य उर्जाको आवश्यकता र सम्भाबना
नेपालमा सौर्य उर्जाको सम्भाबना एकदमै राम्रो छ । नेपालको भू–बनोट दक्षिण मोहडा परेको भएकोले पनि अझै सम्भाबना भएको विज्ञहरूले बताउँदै आएका छन् । अझैँ हाम्रोजस्तो पहाडी हिमाली भू भाग भएको देशमा सौर्य उर्जा सुरक्षित पनि हुन्छ । हाइड्रोको पहुँच पुग्न नसकेका कतिपय दुर्गम भूभागहरूमा ढुवानीका हिसाबले पनि सौर्य उर्जा नै सरल हुन्छ ।
विज्ञहरूको अध्ययनअनुसार नेपालमा २१ हजार मेगावाट सौर्य उर्जा उत्पादन गर्न सकिने सम्भाबना छ । नेपालमा औसतमा साढे चार देखि ५ घण्टा घाम लाग्ने अवस्था छ, जसलाई हेरेर सौर्य उत्पादकहरूले काम गरिरहेका हुन्छन् । नेपालमा सौर्य उर्जाले मेगावाटको प्लान्टहरू राखेर विद्युत् उत्पादन गरेर केन्द्रीय विद्युत् लाइनमा जोड्न सकिन्छ ।
त्यस्तै, विद्युतीकरण नभएको ठाउँहरूमा मिनि ग्रिड माइक्रो ग्रिड बनाएर उच्च गुणस्तरको बिजुलि सप्लाई गर्न सकिन्छ । धेरै चुहावट हुने, प्रसारण लाइन लान गाह्रो हुने ठाउँहरूमा लोकल ग्रिड बनाएर पनि सप्लाई गर्न सकिन्छ । घर–घरमा खपत हुने बिजुली सौर्य उर्जाबाट उत्पादन गरेर प्रयोग गर्न सकिन्छ । त्यसैगरि ठुल्ठूला उद्योगहरू सञ्चालन गर्न पनि सौर्य उर्जाको प्रयोग गर्न सकिन्छ ।
ठूला उद्योगहरूमा घाम लागेको वेला सोलार र पानी परेमा तथा रातीको लागि जलविद्युत्को प्रयोग गर्न सकिन्छ । सौर्य उर्जामार्फत खानेपानी पम्पिङ प्रणालीको को पनि विकास गर्न सकिन्छ । यस प्रविधिमा तल खोलाको पानी सोलारको प्रयोग गरेर माथि डाँडामा तान्न सकिन्छ । नेपालका कतिपय पहाडी भु–भागहरूमा यसको प्रयोग भइरहेको पनि छ । सोलार बाट सिँचाइ पनि गर्न सकिन्छ । जसलाई सौर्य सिँचाइ प्रणालीको सम्भावना पनि छ ।
जुम्ला मुस्ताङतिर फल्ने स्याउलाई ड्राई गरेर अफ सिजनमा बेच्न सिकन्छ । जसलाई सौर्य ड्रायर प्रविधि भनिन्छ । अर्को कुरा जलवायु परिवर्तनको कारण पानीका स्रोतहरू सुक्दै गएका छन् । जस्तै, हिमालमा हिउँ पग्लने क्रम बढेको छ । सेता हिमालहरू अब काला डाँडामा परिणत हुँदै जाने स्थिति छ । हाइड्रो कति वर्षसम्म चल्न सक्छ ?
एक मात्र उर्जा उपनाएमा विपद् पर्दा होस या अन्य कुनै कारणले उर्जा आपूर्ति बन्द भएमा के होला । त्यसकारण विश्वव्यापी मान्यता मिश्रित उर्जा प्रणाली अपनाउनुपर्ने आवश्यकता छ । विश्का कतिपय मुलुकमा हाइड्रोको बिजुलीभन्दा नवीकरणीय उर्जाका अन्य स्रोतहरूको बिजुली बढी छ ।
नेपालकै कुरा गर्दा सिन्धुपाल्चोकको भोटेकोसीमा आएको बाढीले तथा भूकम्पले गर्दा उर्जा आपूिर्त बन्द हुनुपरेको थियो त्यसवेला सौर्य उर्जाले नै धान्नुपरेको थियो। आरोआर प्रणालीबाट हाइड्रो निर्माण भइरहेको नेपालमा हिउँदमा उत्पादन घट्छ । त्यसलाई व्यवस्थित गर्न पनि हालकै अवस्थामा पनि केहि आयोजनाहरू जलाशययुक्त छन् जसको पावर दिनमा रोकेर रातमा मात्र अथवा पिक आवरमा मात्र प्रयोग गर्न सकिन्छ ।
दिउँसो घाम लागेको समयमा सौर्य उर्जा प्रयोग गर्न सकिन्छ । लोड भएको वेला सहायक रूपमा सौर्य उर्जा प्रयोग गर्न सकिन्छ । केही समय अगाडि भएको एक अध्ययनअनुसार काठमाडौं उपत्यकाका घरहरूमा १ दशमलव ५ किलोका सोलार जडान गर्न सकियो भने पनि उपत्यकामा मात्र पाँचसय २५ मेगावाट विद्युत् उत्पादन हुन सक्ने अवस्था देखिएको थियो । जसको लागि नेपाली पुँजीले सम्भव छ । राज्यले केहि ठाउँमा बाध्यकारी केहि नीतिहरू ल्याइदियो भने यो सम्भव छ ।
जस्तैः सरकारी कार्यालयहरू तथा दिनमा घाम लागेको वेला सञ्चालन हुने कार्यालयहरू जसले कम उर्जा खपत गर्छन् त्यो सौर्य उर्जा बाट सञ्चालन गर्न सकिन्छन् । राज्यले प्रत्येक वर्ष स–साना प्रवद्र्धनात्मक सहयोग गर्दै जानु पर्ने देखिन्छ । राज्यले एउटा मात्र उर्जामा भर पर्दा उर्जा सुरक्षा हुँदैन भनेर मिश्रित रूपमा उर्जाका स्रोतहरूको पहिचान तथा विकास गर्नुपर्ने देखिन्छ ।
सौर्य उर्जामा आयोजना परियोजना
नेपाल विद्युत् प्राधिकरणले करिब तीन वर्ष अगाडि एउटा २५ मेगावाटको टेन्डर गरेको थियो । त्यो झण्डै दुई वर्षजति लेखा समिति के–के भन्दै अल्झियो । हाल बल्ल काम सुरु भएको छ । त्यो भन्दा बाहेक करिब ६० मेगावाटको नयाँ टेन्डर आएको छ । त्योभन्दा बाहेक काम गर्न पनि विद्युत् प्राधिकरणले निर्धारण गरेको मूल्य (पिपिए दर) व्यवहारिक नभएको कारण पनि लगानी गरेर काम गर्न सक्ने अवस्था छैन ।
यसकारण हाल सौर्य उर्जामा खास आयोजना छैनन् । निजी क्षेत्रबाट काम गर्दा पनि बेच्ने भनेको त बिद्युत् प्राधिकरणलाई नै हो । हालको रेट ७ रुपैयाँ ३० पैसामा सम्भव छैन । हाल वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा रहेका स–साना परियोजना काम भइरहेका छन् । सरकारले घरको छत–छतमा सोलार राखेर विद्युत् बेच्न पाइने भनेर भने पनि एक वर्षदेखि त्यो कुरा पनि अलमलिएर वसेको छ । नीतिगत रूपमा त्यो स्पष्ट भएर आयो भने अब जनता उर्जा उत्पादक हुन पाउने स्थिति छ ।
सौर्य उर्जा विकासका समस्या र चुनौतिहरू
प्रमुख समस्या नै पिपिए रेटको छ । पिपिए रेट एकदमै कम भएको अवस्था हो । सौर्य उर्जासँग सम्बन्धित केहि सामग्री आयात गर्दा करमा सहुलित भए पनि महत्वपूर्ण सामग्री आयातमा चर्को कर तिर्नुपर्ने अवस्था छ । मेगा आयोजना गर्नलाई बाटो तथा भौतिक पूर्वाधारको समस्या छ । दक्ष जनशक्तिको समेत अभाव छ । ठूला आयोजना सम्पन्न गरेर पनि ग्रिड लाइनमा जोड्न प्रसारण लाइनको समस्या छ ।
आयोजनाहरूको लागि जग्गाको समस्या रहेको छ । वितरण प्रणालीको पनि समस्या रहेको छ । सोलार सिस्टममा वितरण प्रक्रिया त सजिलो छ, तर सरकारि मापदण्डको अभाव छ । राज्यको उर्जा नीति आउनुप¥यो अनि मात्र सौर्य उर्जाको विकास सम्भव छ । व्यवसायीको लगानीको सुरक्षा तथा प्रतिफलको ग्यारेन्टी छैन ।
सौर्य उर्जामा अनुदान र सहयोग
सरकारले सौर्य उर्जामा केहि उपकरण ल्याउँदा भन्सार छुट दिने गरेको छ । जस्तै, सौर्य पातामा भन्सार र भ्याट छुट छ, इन्भरटरमा भ्याट लाग्छ भन्सार छुट छ, चार्ज कन्ट्रोलरमा भ्याट लाग्छ भन्सार लाग्दैन, ब्याट्रीमा ४३ प्रतिशत भन्सार र भ्याट तिर्नुपर्ने अवस्था छ । एलइडी बत्तिहरू तथा उपयोगी उपकरणमा सरकारले सहयोग गर्नुपर्ने आवश्यकता छ ।
हाल सौर्य उर्जा अन्तर्गत एउटा प्रणालीमा दुई सय किलोबाट उर्जा उत्पादन गरेमा २० हजार रकम अनुदान सरकारको वैकल्पिक प्रवद्र्धन केन्द्रमार्फत दिने गर्दछ । व्यावसायिक हिसाबले सोलार जोड्दा साढे ४ प्रतिशत र घरायसी प्रयोजनका लागि साढे ७ प्रतिशत ब्याजमा सहुलियत दिने व्यवस्था छ । अन्य सेवा सुविधा खास केहि छैनन् ।
सौर्य विद्युत् उत्पादक संघ
०५७ सालमा स्थापना भएको यस नेपाल सौर्य विद्युत् उत्पादक संघमा हाल एक सय १० ओटा कम्पनीहरू आबद्ध भएका छन् । सौर्य उर्जाको क्षेत्रमा हालसम्म तीन सय करोड लगानी रहेको । संघले विशेषगरी कुनै व्यावसायी यस क्षेत्रमा आउँछ भने उसले ग्राहकलाई दिने सेवा सुविधा गुणस्तरीय होस् भनेर काम गरिरहेको हुन्छ ।
यसको सदस्यता लिन फरक मापदण्ड छन् । लगानी र पुँजी हेरेर हैन प्राविधिक पक्ष हेरेर सदस्यता दिने गरिन्छ । सेवा दिन सक्ने गरी हरेक व्यवसायी आउनुपर्छ भन्ने संघको भनाइ हो । त्यस्तै, संघले जनचेतनामूलक तथा जानकारीमूलक कामहरू गर्दै आएको छ ।
व्यवसायीहरूलाई पनि विभिन्न प्रकारका तालिमहरू दिने काम भइरहेको छ । त्यसैगरी सौर्य उर्जासँग सम्बन्धित नीति नियम निर्माणमा सरकारसँग लबिङ गर्ने र कार्यान्वयन गर्ने काम गरिरहेका छौँ । (विगत १५ वर्षदेखि सौर्य उर्जाको क्षेत्रमा काम गरिरहेका युवा व्यवसायी किरण गौतमसँग सौर्यकर्मी केशव भट्टले गरेको कुराकानीमा आधारित )
प्रतिक्रिया