मनको रोग भयानक हुन्छ । मनोव्यक्तित्व अतिसंकीर्ण हुँदा आकाशलाई कुवाको आयतनभन्दा बढी देखिँदैन । ‘सागर त गागरमा’ अटाउँदैन । शरीर बाङ्गो भए पनि मन, चेतना, ज्ञान र बुद्धि बांगिएका अष्टावक्र उदात्त चेतना हुन् भने धेरै जाती कुरा हो । तर, पूर्व एमाले केही नेताहरूको मन भने बाङ्गिएको देख्दा अचम्म लागेको छ ।
तिनका लोली र बोलीबाट बांगो मति, गति र प्रवृत्ति देख्नेलाई नै लाज लाग्ने खालको छ । यस खालका पूर्व एमाले पार्टी तथा वर्तमान कम्युनिस्ट पार्टीका ज्येष्ठ र अनुभवी मानिएका भरतमोहन अधिकारी पहिलो नम्बरमा देखिन्छन् । उनी पार्टीको भाग्य र भविष्यप्रति अभूतपूर्व अत्यन्त चिन्तातुर भएर अखबारी लेखन गरिरहेका छन् ।
यही असार २७ गते एक दैनिक अखबारमा कार्यभारको बोझ नामको लेखमा पार्टीमा गुटगत राजनीति हाबी भएको, प्राप्त सुविधाहरू गुटगत आधारमा वितरण गरेको, सामूहिक निर्णय र नेतृत्वको कमी रहेको आदि पहिलेझैँ खुला आलोचना गरेका छन् । हाल पार्टीमा आर्थिक आशक्ति बढेको भनेर आरोपित गर्ने अधिकारीले अर्थमन्त्री डा.युवराज खतिवडा मन्त्री वापत्को तलब र पारिश्रमिक लिँदैनन् र उनी आफ्नै पेन्सनमा जीवीका चलाउँछन् भन्ने बुझ्दा जाती ।
यसरी लेखनमा विषालु झारपात देखेपछि सोही अनुरूप नरम वा कडा प्रतिवाद गर्ने यस लेखकको बानीले लेखक नै हैरान भएका छन् त्यसैले भरतमोहनका हालसम्म प्रकाशित लेख नामका बारेमा संक्षिप्त प्रतिवादी लेख तयार गरिएको हो ।
अधिकारी पार्टी र सरकारका सकार खास देख्दैनन् र प्रतिपक्षी कित्ताको नेताझैँ आलोचना गरिरहन्छन् । विपक्षी, विरोधी र अराजकतामा बानी परेकाहरू देशलाई अनुशासित मर्यादित र पद्धति अनुरूप सञ्चालन भएको देखेर, तर्सिएर अलापविलाप गरिरहेका छन् र तिनले अधिनायकवादको फरेबी कुरा बजारमा फिटिरहेका छन् । तर, यस विषयमा भरतमोहन मौन साधना गर्छन् ।
केही दिनअघि आफ्ना सहकुलपति र अझ कुलपति प्रधानमन्त्री केपी ओलीसित सामान्य औपचारिक वा अनौपचारिक ख्यालै नराखी एक किसिमले राजनीतिक दुराग्रह र अत्यन्त संकीर्ण चिन्तनका कारण पूर्ण बेवास्ता गरेर क्यनाडामा हुने भनिएको कार्यक्रममा कुलेलम ठोक्न खोजे । तर, यस खालको चरम लापरबाहीदेखि त्यसलाई बेवास्ता गर्दा मुलुकको सरकार प्रमुखबारे के सन्देश जान्थ्यो होला ।
तर, यही विषयलाई उचालेर कथित, प्रायोजित आलेखहरू धुरिएर अखबारमा धारो लाग्दा भरतमोहनलाई यस विषयमा कलम समाउन मन लागेन । हुँदाहुँदा विगतमा अर्थमन्त्री आफ्नो इच्छालेभन्दा पार्टीले अर्थमन्त्री बन्न विवश पारेको विगतको प्रायोजित बखान आफैँले गरेको देख्दा लेखकको शिर सरमले भारी भयो ।
अधिकारीका लेखमा उनको वय, ज्ञान र अनुभव बृद्धता वा ज्येष्ठताभन्दा आवेश तथा भ्रम बढी अभिव्यक्त भएको देखिन्छ यथास्थितिको गोलचक्करमा बजेट शीर्षकमा (नयाँ पत्रिका आइतबार २० जेठ ०७५ ) अधिकारीको लेख हाल संघीय सभामा प्रस्तुत बजेट सन्दर्भको अत्यन्त उत्तेजनात्मक र सतही दृष्टिकोण प्रकाशित भयो । लेखको शीर्षकले नै लेखको कुरूप अन्तर्य स्पष्ट पारेकै छ ।
अझ अधिकारीको यस लेखमा शक्तिशाली सरकारले देशलाई सफल ड्राइब गर्ने बजेट ल्याउन नसकेको, बजेट राजनीतिक दस्तावेज हुनपर्नेमा त्यसो नभएको, यथास्थितिवादी बजेट, टेक्नोक्रयाटले बनाएको जस्तो, भावी राजनीतिक दिशाहीन बजेट, आदि अनेक आरोप लेखकले लगाएका छन् । यो लेख अधिकारीको समृद्ध अनुभवामा आधारितभन्दा सामान्य र सरदर आर्थिक पाठकको जस्तो देखिन्छ ।
लेखकले आफ्नो कार्यकालको आफैँ भारी प्रशंसा गरेका छन् । अधिकारीले सत्ताधारी पार्टीको प्रदेश सरकारले पनि बजेटको आलोचना गरेको प्रसंग नबुझी गरेको यस लेखकको ठहर छ । संघीय सरकारको अभ्यास सुरु र सिक्तै गरेका अवस्थामा हेर, पर्ख र जाँच नगरी प्रदेशमा ह्वात्तै बजेट बढाउँदा त्यसको भरपूर सदुपयोग हुने र गर्ने अवस्थालाई राष्ट्रको अभिभावकले ख्याल गर्नुपर्छ, कमरेड ।
यस्ता कुरा प्रधानमन्त्री वा देशको अभिभावक नहुनेलाई थाहा हुँदैन। अहिले प्रदेश सरकारमा कतिपय प्राविधिक कारण र दक्ष कर्मचारीका अभावमा विद्यमान रकम खर्च गर्न प्रतिकूल अवस्था विद्यमान रहेको अधिकारीको जानकारीमा नभएको पुष्टि भयो । यत्तिको अनुभवी नेताले जे मनलाग्दी लेख्न र बोल्न मिल्दैन । भारतमोहनजी, तपाईंलाई वर्तमान बौद्धिक अर्थमन्त्रीदेखि बढ्तै रिस उठेको लेख पढ्दा थाहा भयो । यो तपाईंहरू केही कथित, नेताको मनोरोग हो ।
यस्ता नेताहरू र बुद्धिजीवीका बीच तेलपानीको सम्बन्ध रहेको विरक्त स्थिति वरिष्ठ वकिल विश्वकान्त मैनालीले उहिल्यै बताउनु भएको थियो । अधिकारीले ऊर्जा दिने कार्यक्रमको अभाव रहेको बजेट भन्नुभएछ । तपाईंलाई बताऊँ, ‘सप्तकोसी नदीको पानी देखेर हरेकले आआफ्ना मस्तिष्कका कुण्डअनुसार उपयोगिताबारे सोचेको हुन्छ । शौच गर्न बसेको मान्छेले आची धुने पानी मात्र ठान्छ, तिर्खा लागेको मान्छेले प्यास मेटाउने जल ठान्छ र एउटा किसानले खेतीपातीमा सिँचाइ गर्ने पानी ठान्छ । तपाईं यीमध्ये चाहिँ कुनमा पर्नु भयो ।
तपार्इं आफैँ मनन गर्नु होला तर सप्तकोसीको पानीमा बिजुलीको ऊर्जा देख्ने विद्युत् इन्जिनियरीङको हेराइ र ज्ञान तपाईंमा पटक्कै देखिएन ।’ त्यसैले बजेटमा तपाईंले कुनै ऊर्जा नै देख्नुभएन । नदेख्न र नहेर्न पनि पाइन्छ । यस्तो प्रवृत्तिसित रिसाइहाल्नु पनि हुन्न । तर, चस्माको पावर फेरि हाल्नु होला। ढाँटढुँटमा बानी परेका तपाईंंजस्ता नेताले ढाँट्लान् तर एउटा विज्ञ र विद्वान्ले ढाँट कुरा गर्दैन । रिस खा आफू नगरे जाती कामरेड, आफ्नो आङ कन्याएर कति छारो मात्र उडाइ रहनुहुन्छ ?
यस्तो रमिता कति देखाउनु हुन्छ ? यो उमेरमा पनि तपाईंलाई जहिले पनि तपाईंलाई नकार मात्र खकार्न सुहाउँदैन । ज्येष्ठ नागरिक भत्ता पाँच हजार, अहिले र आजै नबढाएकामा तपाईं धेरै चिन्तित देखिनु भयो । वाह ! पूर्व अर्थशास्त्रीज्यू आयात ९४ प्रतिशत रहेको यस मुलुकमा निर्यात ६ प्रतिशत पनि नभएको यस देशमा वितरणमुखी मात्र बजेट निर्माणको हतारो गरेर समृद्धि हुन्छ ? ज्येष्ठ नागरिक भत्ता बढाउने समय घर्केको छैन । धैर्य गर्नुहोस् ।
यस्तै गरी अधिकारीले नयाँ पत्रिका (बुधबार २ फागुन ०७४) मा प्रकाशित उहाँको ‘अष्टलक्ष्मीको पराजयले उब्जाएका प्रश्न’ शीर्षक लेखमा पार्टीको धेरैै चिन्ता गरेको देख्दा अचम्मै लाग्यो । यत्रो पार्टीमा आएका ससाना समस्यालाई उरालधुराल गरेर आकाशै खस्यो भनेर रोइलो लेख लेख्नुको खासै काम छैन।
बरू तपाईंले पूर्व माक्र्सवादी कालका धराने नेता रामप्रसाद खनाल र विराटनगरका पुराना र प्रतिबद्ध पूर्व माक्र्सवादी कम्युनिस्ट नेता राधेश्याम दली आदि सक्षम तथा एउटा समयको इतिहास निर्माण गरेका नेताको ढाडलाई लिस्नो बनाएर आफैँ मात्र माथि माथि चढ्नु र बढ्नु भएको यस लेखकको जानकारीमा छ, अधिकारी जी । दलीसितको एक अन्तर्वार्तामा तपाईंको त्यस वेलाको निष्क्रिय र उदासीन पार्टी जीवनका बारेमा सविस्तार जानकारी पाएको छु ।
उहाँ जत्तिको योग्य अनुभवी र पार्टीको उत्थान र विकासमा ज्यान फालेरलागि परेका दलीजस्ता नेतालाई पन्छाएर कलेजका एक शिक्षकलाई विराटनगर उपमहानगर पालिकाको प्रमुख बनाइएको छाती चिरिने पीडा यस लेखकले सुनेको छ । भरतमोहन जी, यसरी बल्लबल्ल उठेको जुटेको कम्युनिस्ट आन्दोलनलाई वेलावेला कोखाबाट छिर्के लगाएर हान्ने बानी त्याग्नु होस् ।
तपाईंले यसरी मार्जिन नराखी बोल्दा तपाईंप्रति जानेर र नजानेर सकारात्मक प्रभावमा परेका कमरेडहरू अरू भ्रमित हुन्छन् । उमेरको यो आखिरी अवस्थामा यस्तो पटक्कै नगर्नु होस् । तपार्इंहरूले आन्दोलनमा जे जति गरे पनि नगरे पनि तपाईंहरूले साउँ ब्याज मात्रै होइन ब्याजको स्याज र स्याजको स्याज पनि उठाइसक्नु भएको छ।
हिजोका तुलनामा आजको पार्टी र परिणाम हेर्दा तपाईं आफैँ पनि छक्क पर्दै जानु भएको होला तर गुटगत संकीर्णता, आग्रह र आदतका कारण तपाईंलाई ओली नेतृत्वको पार्टी र सरकारका धेरै सकारलाई लेखेर र बोलेर सकार्न अप्ठ्यारो परेको यो लेखक बुझ्दछ । तर, यो आशा, विश्वास र भरोसामा पानी खन्याएर भावी पुस्तालाई निराश नपार्नुहोस् । राधेश्याम दली, विराटनगरजस्ता आजीवन आन्दोलनमा त्याग र समर्पण गरेका नेताहरू पटकपटक पछि पारेकै हुँदा विराटनगरमा पूर्व एमाले निकै कमजोर बनेको हो ।
ढोडको तक्माका भरमा सगरमाथा चढ्न सकिन्न कमरेड, मनमोहनका कनिस्ट भ्राता, अर्थ विषयका जानकार तथा वकिलका नाताले तपाईं त्यति उच्च तहमा पुगे पनि यस खालका लेखबाट तपार्इंको उचाइ अग्लो देखापर्दैन । आफैँ र आफ्ना गुटलाई आकाश र प्रकाश देख्नेहरू जुनकिरीको पुच्छर मात्र हुन्छन् । जुन कुरा दुनियाँले प्रत्यक्ष देख्छ । (लेखक पूर्व एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन् ।)
प्रतिक्रिया