नाम राशीको साइनोले रुवायो

गोकुल निरौला  लेखौटोमा आफ्ना मत लेख्न सुरु गरेदेखि नै समसामयिक राजनीतिको विषयमा लेख्दै आएको म कहिल्यै भावनामा बहेर लेखिनँ । मलाई मायाप्रीतिका कुरा लेख्न त्यति साह्रो आउँदैन र लेख्दिनँ पनि । हुनतः भावनामा डुबेर लेख्ने भइदिएको भए म आँसु कवि हुन्थेँ होला । भावनामा नडुब्ने भएरै म प्रतिपक्ष छु ।

आज मलाई कहिल्यै नदुखेको घाउ दुखेजस्तो लाग्यो, चिलाएजस्तो लाग्यो, कन्याउँदा शरीरमा भएको रगत नै बाहिर आएपछि अलिकति भावनामा डुबेछुझैँ लाग्यो ।

मेरा बाले पहिल्यै भनेका थिए बाबु गोकुल तिमी कुम्भ राशि हौ, तिमीले सत्य बोल्नु, निडर हुनु, अर्काको दुःखमा आँसु बगाउने हुनु, सही निर्णय दिने हुनु, अझ तिमीले त राजमाना (सरकारी जागिर) खाने योग पनि लेख्या छ तिम्रो नसिबमा । यति भनेपछि मलाई के कम गोकुल नामधारी फुरुंग ।

हुनतः मेरा बा पात्रो हेर्दैनन् र अर्काको भविष्य बताउँदैनन् । यो कुरा पनि मेरो चिना हेर्ने मेरै कुल गुरुले मेरा बा लाई मेरो चिना हेरेपछि भनेका रहेछन् । मेरा बा पनि कहिलेकाहीँ हातका नाडी समाउँछन र गाउँलेका बाल बचेराहरूलाई यो रोग लाग्या छ, त्यो रोग लाग्या छ, यताको भूत लाग्या छ, उताको भूत लाग्या छ भन्छन् र कालो मास, कालो तोरी, (सस्र्युं) फुकफाक गर्छन् र झ्यास्स आगोमा हालिदिन्छन् ।

गाउँलेका बालबच्चा कोही बाले फुमन्तर गरेझैँ फुमन्तर हुन्छन् भने कोही कोहीलाई अस्पताल नपुर्याई निको हुँदैन । म मेरा बाले भनेजस्तो गोकुल कहिल्यै भइनँ, भनौँ पढे लेखेर राजमाना (सरकारी जागीर ) पनि खाना सकिनँ । पछिसम्म पनि रेडियो नेपाल सुनेर हुन्की क्या हो मेरा बा भन्थे, ‘हेरत तेरो मित (रिडीयोमा काम अर्छ तु घरउडै मर्याको छै)’ तिम्रो मित रेडियोमा काम गर्ने भइसक्यो तिमी घरमै बस्या छौँ वेला वेला मलाई गाली गर्नुहुन्थ्यो ।

म बबुरोको कहाँ यस्तो भाग्य हुनु । मेरा बाले भनेको मेरा मित (गोकुल बाँस्कोटा) मेरै उमेरको थिए, थिएनन् बालाई थाहा थिएन तर पनि भनिदिन्थे तेरै मित । यो अहिलेका सञ्चारमन्त्री गोकुल बास्कोटासँग चिनजानै नभएरै बाले लगाइदिएको मिते साइनोले हिजो आज साह्रै रुवाएको छ । मेरा मितले बहुमतको प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायामा बालकोट दरबारमा विराजमान हुने अवसर पाए रातारात सूचना तथा सञ्चारमन्त्री पनि भए ।

सञ्चारमन्त्री भएपछि नै नेपाल टेलिभिजनबाट एक कार्यक्रम हटाए भारतलाई भाले दिने कुरा ओकले । बालाई हाइसन्चो भो, मित छोरा मन्त्री भो भनेर । गोकुल बाँस्कोटा सूचना तथा सञ्चारमन्त्री हुँदा गाउँभरि गोकुल मन्त्री भो भन्ने हल्ला फैलियो । कसै–कसैले त मेरो मोबाइलमा समेत बधाई दिन भ्याए मैले नि म्यासेज फकाई दिए बडो ठूलो मन बनाएर मेरो मित हुन् क्या मन्त्री भएका।

आज मेरा बालाई तिम्रो मित छोराले तिम्रै छोराको पेसा गर्ने एक जना पत्रकारको जागिर खायो भन्न पनि सकेको छैन । पत्रकारिता पेसाबाटै राजनितिमा आएका र बहुमतको सरकारका सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता बनेका गोकुल बाँस्कोटाको विषयमा सामाजिक सञ्जालमा यत्रोविधि विरोध हुँदा म नाथे मनुवाको मिते साइनोले चित्त दुखायो ।

देशमा राजनितिक परिर्वतन ल्याउनमा जति राजनितिक दलहरूको भूमिका छ, त्यति नै पत्रकारिता जगतको पनि भूमिका छ । भूमिका हुँदाहुँदै पनि नेपालमा वेला वेला पत्रकारितामाथि बन्देज लगाइयो । धेरै पुरानो इतिहास नखोजौँ राजतन्त्र विरुद्धका, गणतन्त्र प्राप्तिका समाचार बजाउँदा, लेख्दा एफएम रेडियोका स्टेसनहरू तत्कालीन शाही नेपाली सेनाले कब्जा गरेको थियो ।

शाही मन्त्रीहरूको आदेशमा छापा मिडियाका सम्पादकहरूलाई केरकार गरेर दुःख दिएको थियो । गणतन्त्र प्राप्तिपछि मेरा मित तथा शक्तिशाली वामपन्थी सरकारका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफूलाई दाइजोको विषयमा खरो प्रश्न सोधेको निहुँ पारेर १२ वर्षदेखि निरन्तर नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको कार्यक्रम नै बन्द गराए ।

नेपालमा १२ वर्षको यो अवधिमा नौ ओटा सरकार आए गए । कुनै कांग्रेसका सरकार बने भने कुनै वामपन्थी दलहरूका सरकार बने । तर, थापाले आफ्नो कार्यक्रम निःसंकोच कुनै अवरोध विना नै सञ्चालन गरिरहेका थिए । कार्यक्रममा राजु थापाले सञ्चारमन्त्रीसँग सोधेका प्रश्न पूर्वाग्रही र मन्त्रीको पदीय गरिमा सुहाउँदो नभएकाले बन्द गरिएको सुनिएको छ ।

कम्युनिस्टहरू श्रम गर्ने मान्छेको पक्षमा हुन्छन्, मजदुरको पक्षमा हुन्छन् । मेरा मित अथवा नेपाल सरकारका प्रवक्ता के कम्युनिस्ट होइनन् ?वामपन्थिकै कित्ताबाट बहुमतको अहंकार बोकेर भनौँ प्रधानमन्त्री केपी ओलीको आर्शिवाद पाएर सूचना तथा सञ्चारमन्त्री बनेका हुन् । नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन पर्ने पत्रकार राजु थापाले के परिश्रम गरेका थिएनन् ? थापा के काम गर्ने मान्छे होइनन् र ?

वामपन्थी सरकारलाई मेरो पनि यही एउटा प्रश्न छ । नेपाल टेलिभिजन र रेडियो नेपालमा आजसम्मको परिपार्टी हेर्ने हो भने राजनीतिका आस्थाका आधारमा जागिर खुवाउने काम गरिन्छ । सञ्चारमन्त्रीले पनि त्यसैको निरन्त्रता दिन खोजे वा लामो समयसम्म पत्रकारिताको राजनीतिमा लागेका बास्कोटालाई थापाले सहयोग नगरेको रिस पो पोखेकी ?

यो त मितज्युलाई नै थाहा होला । तर पेसाको हिसाबले उनी पत्रकार हुन् । पत्रकार भनेको प्रतिपक्ष हो । प्रतिपक्ष भनेको प्रेरणाको स्रोत पनि त हो ।गणतन्त्रपछि पार्टी एकता गरी ठूलो दल बनेको नेकपाका सञ्चारमन्त्रीले पञ्चायती शैलीमा सरकारी संयन्त्रहरू जम्मै मेरो हो, मैले जे भन्यो त्यही हुनुपर्छ भन्ने हो भनेजस्तो भावनाले गणतन्त्रको स्वाद नमीठो भयो मितज्यू ।

हुनतः पत्रकारहरूका सबै संघ–संस्था विभाजित र पार्टीमुखी भएको अहिलेको अवस्थामा स्वतन्त्रताको रक्षा गर्नु जति महत्वपूर्ण छ, त्यति नै कठिन पनि छ । संसद्मा दुई तिहाइ मतसहितको शक्तिशाली सरकारका रूपमा नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकार साँच्चै शक्तिशाली छ । शक्तिशाली साकारका प्रधानमन्त्री केपी ओली पत्रकार र पत्रकारीतासँग धेरै नजिक छन् ।

पत्रकार पनि प्रधानमन्त्रीका चुट्कीका हुन् वा नयाँ योजना सुन्नकै लागी भए पनि बडो रमाइलो मानी केपीको निम्तोमा विराजमान हुन्छन् । यहि सरकारका सूचना तथा सञ्चारमन्त्रीले प्रेसलाई राज्यको दासका रूपमा हेरे । हुनतः प्रेसलाई दासका रूपमा हेर्ने चलन सोह्रौँ र सत्राैँ शताब्दीमा विश्वव्यापी रूपमा चलेको थियो । कुनै न कुनै बहाना र नियम कानुन बाँधी अहिलेसम्म पनि चलेकै छ ।

दशवर्षे द्वन्द्वपछि देशमा विकासको कुरा सुन्दा–सुन्दा दिक्क वाक्क भएका नेपाली जनता समृद्धिको कुरा सुनेर रमाएका छन् । शक्तिशाली प्रधानमन्त्रीको रेल योजना, पानीजहाज योजना, उनीहरूको पहिलो आकर्षण भएको छ । समृद्धिप्रति यो आकर्षणको चित्र निर्माण गर्न नेपाली प्रेस, खास गरेर अनलाइन प्रेसको भूमिका निकै महत्वपूर्ण छ ।

त्यसैगरी, टेलिभिजन र सामाजिक सञ्जालले पनि नेपाली चेतनाको स्तर उचाल्न निकै महत्वपूर्ण योगदान गरेका छन् । देशको विकट गाँउबस्तीमा अहिलेसम्म पनि राम्रोसँग टेलिफोन पुर्याउन सकेको छैन । टेलिभिजन सेवा पु¥याउन सकेको छैन । विकट गाउँ बस्तीको सूचनाको स्रोतको रूपमा रेडियो, एफएमले महत्वपूर्ण भूमिका खेलेको छ । रेडियो एफएमको स्तर उन्नतिको लागि अहिलेका सञ्चारमन्त्रीले विशेष योजना ल्याउनुपर्ने र श्रमजीवी पत्रकारको श्रमको मूल्यांकन गरी उचित ज्यालाको व्यवस्था गर्नुपर्ने हो ।

तर, शक्तिशाली सरकारका सञ्चारमन्त्रीले सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल टेलिभिजनबाट नै एक जना श्रमजीविको अपहेलना गर्नु गणतन्त्रको खिल्ली उडाएको छ । हुनतः नेपालका पत्रपत्रिका पार्टी लाइनमा चलेकामा गुनासो मात्र होइन कहिलेकाहीँ प्रष्टरूपमा देखाउँछन् पनि  । उद्योगी, व्यवसायी, व्यापारी र आर्थिक क्षेत्रका व्यक्तिहरू नेपाली प्रेस पूर्वाग्रही भएको र निष्पक्ष नभएकामा गुनासो गर्छन् । यो गुनासो केही हदसम्म सही पनि छ ।

देशमा पहिले पनि उद्योगी, व्यापारी नेपाली प्रेसका आलोचक थिए भने अहिलेको पनि त्यसैलाई निरन्तरता दिएको छ । उद्योगी व्यावसायीले विरोध गर्यो भन्दैमा प्रेस उद्योगमा काम गर्ने कामदारलाई गलहत्याई पनि त गर्नुभएन । विश्वव्यापी रूपमा सूचना प्रवाह गर्ने प्रेसमाथि बन्देज लगाउनु गणतन्त्र विरुद्ध नै भुसको आगो सल्कने खतरामा गुग्छ ।

हुनतः केही दिन पहिले नेपाल टेलिभिजनबाट आफ्नो कार्यक्रम बन्द गराएपछि बेरोजगार बनेका राजु थापालाई म चिन्दिनँ । नेपाल टेलिभिजनको रिपोर्टर भइदिएको भए राजु थापासँग चिनजान हुनथ्यो, उमेरले बुढयौली छोएको भए मेरा बाले मिते साइनो लगाइदिएका सञ्चारमन्त्रीलाई मित भन्न पाइन्थ्यो । म अभागी नै रहेछु । बेकार समृद्धिका कुरा गर्ने कम्युनिस्ट सरकारले प्रेसमाथि बन्देज लगाउने होइन, परिमार्जन गर्नु आवश्यक छ ।

पहिलो नेपाल टेलिभिजनबाटै व्यावसायिक पत्रकारिताको सुरुआत गर्नु सञ्चारमन्त्रीले सकारात्मक भूमिका खेल्न सक्नुपर्छ । यसरी आफूअनुकूल प्रस्न नसोधेको झोकमा पत्रकारलाई कार्याक्रम सञ्चालन गर्न नै बन्द गराउँदै जाने हो भने पत्रकारको भविष्य नै अन्योलमा पर्ने मात्र होइन, देशमा गणतन्त्र नभई लुटतन्त्रको सुरुआत हुन्छ । अहिलेका सञ्चारमन्त्री तथा मेरा मित कुम्भ राशी नै हुन्, गोकुल वृन्दावनमा भगवान श्रीकृष्ण रमाएको ठाउँ हो ।

गोकुलमा गएपछि उ वेला पनि देउताहरू न्याय पाउँथे रे । मितज्यू कुम्भ राशिजस्तै न्यायिक, निःस्वार्थ भावनाले काम गर्ने श्रमको सम्मान गर्ने र न्यायिक बन्नुहोस् सञ्चारमन्त्री भएपछि आस्थाका आधारमा होइन, क्षमताका आधारमा मूल्यांकन गर्नुहोस् न कि स्वर्ग जाने सुनको सिंढी बनाउँछु भन्ने रावणजस्तो घमण्ड र अहंकारी । त्यस्तो नहोस् मितज्यूलाई थाहा नै होला रावणले मर्ने वेला रामलाई दिएको अर्ति ख्याल गर्नुहोस् ।

प्रतिक्रिया