हरि लम्साल सारा विश्व नै अहिले फुटबलमय बनेको छ । विश्वकप सुरु भएको सन् १९३० देखि २०१८ सम्ममा ८८ वर्षपछि रुसमा आयोजना भइरहेको विश्वकपमा संसारको ध्यान आकृष्ट भएको छ । विश्वकप फुटबलको २१औँ संस्करणमा ३२ राष्ट्रको घम्साघम्सी चलिरहेको छ ।
जुलाई १५ सम्म चल्ने विश्वकपमा कुल ६४ खेल हुँदै छ । विश्वकपमा युरोपबाट १४, एसियाबाट पाँच, अफ्रिकाबाट पाँच, उत्तर अमेरिकाबाट तीन तथा दक्षिण अमेरिकाबाट पाँच राष्ट्र सहभागी छन् । कुल सात सय ३६ खेलाडी सहभागी छन्, जसमध्ये युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेल्ने खेलाडीको संख्या पाँच सय ४४ छ ।
यो कुल खेलाडी संख्याको ७४ प्रतिशत हो । विश्वकपको २१औँ संस्करणसम्म आइपुग्दा जम्मा आठवटा देशले मात्र उपाधि जितेका छन् । विश्वकपको उपाधि होडसँगै पुरस्कार राशिको चर्चासमेत उत्तिकै छ । कुल ४० करोड अमेरिकी डलर पुरस्कार राशि रहेको विश्वकप विजेताले तीन करोड ८० लाख डलर (करिब चार अर्ब नेपाली रुपैयाँ) पुरस्कार पाउनेछन् भने उपविजेताले दुई करोड ८० लाख अमेरिकी डलर पुरस्कार हात पार्ने छन् ।
सन् १९६६ जुलाई २३ का दिन विश्वकपको आठौँ संस्करण चलिरहेको थियो, इंग्ल्यान्डमा अर्जेन्टिना र इंग्ल्यान्डबीच क्वार्टर फाइनल खेल भइरहेको थियो, खेल सुुरु भएको ३५ मिनेट पुगिसकेको थियो, रेफ्रिकेन एस्टनले अर्जेन्टिनाका चर्चित खेलाडी एन्तोनियो रेटिनलाई खेलबाट बाहिरिन निर्देशन दिए । उतिवेला फुटबलमा रातो–पहेँलो कार्ड देखाउने नियम बनिसकेको थिएन । सन् १९६६ को वल्र्डकप सकिएको केही दिनपछि केन एस्टन केनिजङटन हाइ स्ट्रिटमा ड्राइभ गरिरहेका थिए ।
उनको दिमागमा एउटा आइडिया फुर्यो, ‘फुटबलमा भाषाको समस्यालाई अन्त्य गर्न ‘रेड कार्ड’ र ‘यल्लो कार्डको प्रयोग गर्ने । सडकमा हुने ट्राफिक लाइटको नियम मैदानमा पनि प्रयोग गर्नेबारे उनले सोचे ।’ ड्राइभिङ गर्दा ट्राफिक लाइट’ को निर्देशन पालना गर्नुपर्ने नियम छ । पहेँलो बत्ती बल्दा सचेत हुनुपर्ने रातो बत्ती बल्दा रोकिनुपर्ने । एस्टनले सोचे, ‘पहेँलो कार्ड देखाउँदा खेलाडी सचेत हुनुपर्ने रातो कार्ड देखाउँदा रोकिनुपर्ने अर्थात् खेलाडीको खेलअवधि सकिने ।’
सन् १९७० देखि फुटबल संसारमा नयाँ नियम भित्रियो, रातो र पहेँलो कार्डको । मेक्सिकोमा आयोजित सन् १९७० को विश्वकपमा कुनै पनि खेलाडी कार्डको भागीदारचाहिँ बन्नुपरेन । सन् १९७४ मा पहिलोपटक व्यवहारिक प्रयोगमा आयो, रेड कार्ड । विश्वकपको इतिहासमा पहिलो रेड कार्ड पाएर चिलीका खेलाडी कार्लोस क्यासजेलीले इतिहास रचे, तुर्किस रेफ्री डोगन वावाक्यानबाट ।
वल्र्डकपमा सन् १९८६ मा सबैभन्दा छिटो समयमा रेड कार्ड पाउने दोस्रो खेलाडीमा कार्लोस सान्चेनको नाम आउँछ । सन् २०१८ जुन १५ मा रसियामा सुरु भएको वल्र्डकपको समूह चरणको खेल खेलिरहेका कोलम्बियाका खेलाडी डिबक्सभित्र सान्चेनले ह्यान्ड गरेपछि स्लेभिनियमका रेफ्री डमिर क्कोमिनाले रेडकार्ड देखाए ।
वल्ड्र इतिहासमा सबैभन्दा धेरै कार्ड पाउनेमध्येका चारपटक पहेँलो र दुईपटक रेड कार्ड पाउने भेट्रान खेलाडी जिनेदिन मियर, पाँचपटक रातो र एक पटक पहेलो कार्ड पाउने मेक्सिकोका खेलाडी राफेल माक्र्जज थिए । ६ वटा रेड कार्ड पाउनेमा ब्राजिलका डिफेन्डर काफु थिए । वल्ड कपमा पाँचवटा कार्ड पाउनेमा ६ जना खेलाडीको नाम अग्रस्थानमा छ ।
क्यामरुनका रिगोवर्ट सङ, अस्टलियाका टिम कहिल, अर्जेन्टिनाका डियगो म्याराडोना, घानाका सुली मुन्तरी, अर्जेन्टिनाका जामियर माच्छेयानो, जर्मनीका लोयर म्याथारस थिए भने चारवटा कार्ड पाउनेमा २९ जना छन् । वल्र्डकप इतिहासमा अहिलेसम्म ब्राजिलको भागमा ११ वटा रेड कार्ड परेको छ भने अर्जेन्टिनाको भागमा १० वटा छ । उरुग्वेले नौ वटा रेडकार्ड पाएको छ ।
गोलकिपरले रेडकार्ड पाउनेवित्तिकै दुई वटा खेलाडी बाहिरिन्छन् र मैदानबाहिर रहेको गोलकिपर मैदानभित्र पस्छ । रेडकार्ड देखाउनुपर्ने बाध्यता विभिन्न समयमा आइलाग्छ, जस्तैः गम्भीर फल्ट भयो भने, मैदानमा कसैले झगडा गर्यो भने, गोल हुने बललाई हातले छेकेमा, जानी–जानी हातले बल समाउँदा, बल पाएपछि ढिलो गरी खेल सुरु गर्दा, रेफ्रीको आदेश नमान्दा रेडकार्ड दिइन्छ ।
विश्वकपमा सहभागी डेनमार्कका डिफेन्डर जोनास कनुडसेन भर्खरै जन्मिएकी आफ्नो छोरी भेट्न निजी विमानमा घर पुगेर फर्केका छन्। डेनमार्कका गोलरक्षक कास्पर स्मेइचेलले भने, ‘हामीले मानवीय भावनाको कदर गर्नुपर्छ । हाम्रो टोलीमा धेरै बुबाहरू छन् । हामी फुटबल र बुवा पनि हो ।’ विश्वकप हेर्न जागिर छाड्ने र आफ्नो सवारी साधनसमेत बेच्नेहरूको चर्चा चुलिएको छ ।
हवाइजहाजमा जान पर्याप्त पैसा नभएपछि बाटोमा धेरै हन्डर खाँदै उनीहरू रुस पुगेका थिए । अर्जेन्टिनाको पराजयपछि आत्महत्या गर्ने पनि देखिए । अनेक, देशका मानिस फुटबलको मजा उठाउन रुस पुगेका छन्, रुसी महिलासँग मस्ती गर्न पनि उनीहरू रुस पुगेका छन्। धेरैका लागि विश्वकप एउटा बहाना मात्र बनेको छ ।
अर्जेन्टिनाबाट आएका अगुस्टिन ओलेलोले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुराकानी गर्दै भने, ‘मस्कोमा आफ्नो टोलीको खराब प्रदर्शनको समीक्षा गर्नुभन्दा रुसी महिलासँग सम्बन्ध बढाउनु नै हितकर ठान्छु ।’ रुसमा भोड्का बढी लोकप्रिय रहेका कारण बियरको खपतमा कमी आएको एक सर्वेक्षणले बताएको छ ।
त्यस्तै विश्वकपले केही व्यक्तिलाई कुनै चासो नै नभएको पनि पाइयो । यसको कुनै–कुनै देशमा त चासो र व्यस्तता पनि देखिएको पाइएको छैन। विश्वमा पुरुषहरूको वल्र्डकप सन् १९३० बाट नै सुरु भएको थियो । त्यसको ६१ वर्षपछि मात्र सन् १९९१ मा पहिलोपटक चीनमा फिफा वुमन्स वल्र्ड च्याम्पियनसिप नाम दिएर महिला फुटबलको वल्र्डकप सुरु भएको थियो ।
अहिलेसम्म सातपटक महिलाको वल्र्डकप भइसकेको छ । आठौँ प्रतियोगिता सन् २०१९ मा फ्रान्समा हुने घोषणा गरिएको छ । जुन सातदेखि जुलाई सातसम्म सञ्चालन हुने यो महिला वल्र्डकपमा २४ देशको टिमबीच प्रतिस्पर्धा हुनेछ । महिलाको वल्र्डकप हालसम्म तीनपटक अमेरिकी महिला टोलीले, दुईपटक जर्मनीले, एक–एकपटक नर्वे र जापानको महिला टोलीले विश्वकपको उपाधि उचालेका छन् ।
महिला फुटबलर अनु लामाले भनिन्, ‘खेलमा पुरुषकै वर्चस्व छ । आयोजकले नै महिलालाई पपुलर बनाउन नखोजेको जस्तो लाग्छ ।’ विश्वकप फुटबल चाहे पुरुषको होस्, चाहे महिलाको यसतर्फ चनाखो भई केही रोमाञ्चकारी जानकारी राख्नै पर्दछ ।
प्रतिक्रिया