अपराध अभिवृद्धीकरणमा हुन्डी

प्रदीप उप्रेती विश्वको कुनै पनि स्थानमा आर्थिक कारोबारको क्षेत्रलाई पारदर्शी एवं चुस्तता राख्ने प्रयत्न गर्ने हो भने व्यक्ति सम्प्रदाय वा संस्था विशेषबाट गरिने दैनिक आर्थिक क्रियाकलापका गतिविधिलाई निश्चित रूपमा वित्तीय प्रणालीमा आवद्ध गराउनुपर्ने हुन्छ । जसले वित्तीय अपराध लगायतका आर्थिक अस्थिरतालाई न्यूनीकरण गर्ने कार्यमा प्रत्यक्ष सहयोग पुर्याउनेछ ।

मुलुकमा दिनहुँजसो बढ्दै गएको आर्थिक अस्थिरतालाई न्यूनीकरण गर्ने कार्यमा सरोकारवाला पक्षले समयमै ध्यान पुर्याउने चेष्टा गरेनन् भने तत्पश्चात आर्थिक अराजकताको अभिवृद्धि भई गैरकाननी तवरबाट हुन्डी प्रदाय लगायतका क्रियाकलापको अत्यधिक रूपमा वृद्धि हुने सम्भावना रहन्छ ।

हालै मात्र भएका आर्थिक अपराधको घटनाक्रमको विकासले प्रस्तुत तथ्यलाई पुष्टी गरेको छ । किनकी अबैध रूपमा गरिने व्यापार अभिवृद्धिको सन्दर्भमा स्वदेश एवं विदेशबाट निकासी पैठारी भई आउने सामानका लागि ठूलो धनराशिको आवश्यकता पर्ने हुन्छ ।

वित्तीय माध्यमबाट आर्थिक कारोबार गर्दा सम्बद्ध पक्षसँग उल्लिखित रकमको वैधानिक स्रोतको सन्दर्भमा आवश्यक सोधखोज गरी कानुनी प्रक्रिया अवलम्बन गरिने भएको हुँदा गैरकानुनी रूपमा व्यवसाय सञ्चालन गरी आयआर्जन गर्ने आपराधिक मनस्थिति भएका समूहले सरलीकृत बैंकिङ प्रणालीमा आफ्नो व्यापार व्यवसायलाई सकेसम्म आवद्ध गराउन चाहँदैनन् ।

फलतः व्यवसाय विस्तारको सम्बन्धमा गैरकानुनी बाटाहरूलाई पछ्याउँदै हुन्डी कारोबारमार्फत अबैध व्यापार व्यवसायको अभिवृद्धि गर्ने गरेको तथ्य बाहिरिएको छ । जसअनुसार मुलुकमा दैनिक रूपमा एक अर्ब रुपैयाँ वा सो बढीको कारोबार हुन्डी प्रदायमार्फत बाहिरिने तथ्य सार्वजनिक भएको छ ।

प्रस्तुत अवस्था कायम रहनु भनेको दैनिक रूपमा लाखौँ लाख रुपैयाँको बैंकिङ कमिसन एवं मुलुकको राजस्व चुहावट भएको अवस्था मान्न सकिनेछ । अवैध व्यापारमा रमाउने समूहले वित्तीय अवधारणमा रहँदै कार्य गरेमा सहज रूपमा मनग्य मुनाफा आर्जन गर्नसक्ने अवस्था नरहने हुँदा अवैध बाटोलाई पछ्याउने क्रममा हुन्डीजन्य कारोबारलाई अत्यधिक मात्रामा रुचाएका हुन् ।

सामान्यतः वित्तीय समूहको प्रत्यक्ष अनुमतिबेगर एक स्थानबाट अर्को स्थानमा रकमको रकमान्तर गर्ने माध्यमलाई चलनचल्तीको भाषामा हुन्डी भनी सम्बोधन गरिन्छ । यसमा आफ्नो वित्तीय विश्वासी समूह वा व्यक्ति विशेषलाई अर्को स्थानमा रहेको समुदाय वा व्यक्तिले विश्वासकै आधारमा अघिल्लो समूहबाट प्राप्त भएको रकम प्रत्यायोजन गरिन्छ ।

प्रस्तुत अवस्थामा लिइने कमिसन बापतको रकम वित्तीय समूहबाट लिइँदै आएको कमिसन रकमभन्दा निश्चित रूपमा बढी कुरालाई अन्यथा लिन मिल्दैन । यसका अतिरिक्त गरिएको कारोबार अवैध हुनुको साथै जोखिमले भरिपूर्णसमेत हुनेछ । किनकी प्रस्तुत अवस्थामा कुनै पनि समूहले आर्थिक विश्वासघात गरेको खण्डमा कारोबार बापतको रकम डुब्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

निस्सा बेगरको नितान्त व्यक्तिगत एवं असुरक्षित आर्थिक कारोबार भएको हुँदा हरहमेसा सजक रहनुपर्ने मानसिक तनाव कायमै रहन्छ । यस प्रदाय अन्तर्गतका कारोबाहीहरूले विशेष गरी अवैध तस्करी, लागुऔषधको ओसारपसार, हतियार, आतंकवाद एवं यस्तै अन्य नकारात्मक प्रवृत्तिमा रमाउन चाहनेको झुन्डले हुन्डी कारोबारलाई सहजरूपमा आत्मसाथ गर्ने गरेको तथ्यले औँल्याएको छ ।

यद्यपि, आफ्नो विश्वासी समूहद्वारा सम्बद्ध पक्षले सहजै रकम प्राप्त गर्न सक्ने भएको हुँदा अवैध धन्धाको क्षेत्रमा हुन्डीजन्य कार्यको छुट्टै अस्थित्व कायम रहँदै आएको छ । अत: भनिन्छ, मुहान नै दूषित रहेको अवस्थामा त्यसबाट प्राप्त हुने हरेक गतिविधिसमेत दूषित नै रहन्छ । वास्तविक रूपमा हुन्डीको सन्दर्भमा राज्यपक्षको यहि धारणा एवं नीति रहेको छ । आर्थिक अपराध जस्तो मानवता विरोधी जघन्य अपराधको अत्यधिक अभिवृद्धि भएको वर्तमान परिपे्रक्षमा हुन्डी कारोबाहीलाई कानुनी रूपमै बन्देज लगाउनुपर्ने हुन्छ ।

तत्पश्चात् आर्थिक शुद्धता कायम रहनेछ भन्ने विश्वास लिन सकिन्छ । यस प्रकारको गैरकानुनी कारोबारमा व्याजदरको सीमितता नरहने हुँदा मौलाउँदै गएको हुन्डीजन्य अपराधबाट मुलुकको वैदेशिक मुद्रा विनियमका सन्दर्भमा ऋणात्मक प्रभाव पर्न जाने प्रवल सम्भावना रहन्छ । जसका कारण सहजै हुन्डी व्यवसायीलाई फस्टाउन मद्दत पुग्नेछ ।

अवैध आय‡आर्जनबाट हुने कमाइमा मित्तब्ययी रहनुपर्छ भन्ने सामान्य अर्थशास्त्रको सिद्धान्तसमेत आकर्षित नहुने हुँदा परिस्थिति भयाबह हुनेछ। अवैध धन्दाबाट आर्जित रकममा मितव्ययिताको न्यूनता रहने हुँदा अत्याधिक मात्रामा गैरकानुनी रूपबाट आर्जित रकमको दुरुपयोग हुन पुगी समाजमा आपराधिक समूहको वाहुल्यतामा अभिवृद्धि भई मुलुकको सुरक्षा चुनौतीमा जटिलता छाउनेछ ।

आपराधिक मनसाय राख्ने संगठित समूहले अपराधीकरणका लागि आवश्यक पर्ने रकमको जोहो गर्न हुन्डी व्यवहारलाई सुरक्षित एवं भरपर्दो माध्यमका रूपमा लामो समयदेखि प्रयोग गर्दै आएको तथ्य सम्बद्ध क्षेत्रको जानकारहरूको बुझाइमा रहेको छ । जसका कारण सम्पूर्ण वित्तीय क्षेत्र एवंं राज्यको अर्थ व्यवस्थामा ऋणात्मक असर पर्ने अत्यधिक सम्भावना रहन्छ ।

आपराधिक समूहको वास्तविक परिचयसमेत हुन्डी कारोबारमा सहजै प्राप्त गर्न नसकिने भएको हुँदा मुलुकमा आर्थिक अपराध एवं नैतिकताविहीन कामकारबाहीलाई वृद्धिगर्न हुन्डीकार्य सहायक सिद्ध भई आएको छ । नेपाललगायत सम्पूर्ण दक्षिण एसियामा नै हुन्डीमा रमाउने निश्चित आपराधिक समूहले आफ्नो गैरकानुनी गतिविधिको जालोलाई अत्याधिक रूपमा फैलाएको हुँदा प्रस्तुत गलत प्रवृत्तिलाई न्यूनीकरण गर्नु नै आदर्श समाजको परिकल्पना गर्नु हो ।

अन्ततः यस्ता प्रवृत्तिले मूलतः भ्रष्टाचारलाई मौलाउने अवसर प्रदान गर्नेछ । आर्थिक पारदर्शिताका अभावमा गरिने यस्ता अनैतिक कार्यले सम्पूर्ण प्रशासन यन्त्रलगायत वफादार सुरक्षा निकायलाई पनि आफू अनुकूलको गैरकानुनी क्रियाकलापमा सामेल गर्न गराउनका लागि अपराधिक समूहको जत्था पछि नपर्ने देखिन्छ । जसका कारण सम्पूर्ण सुरक्षा निकाय एवं प्रशासनयन्त्रको मनोबल गिर्न जाने प्रबल सम्भावना रहन्छ ।

यसप्रकारको गलत व्यवहारवाट मुलुकको सुरक्षा प्रशासनयन्त्रलगायत अन्य इमानदार कर्मचारीहरूको कार्यगत एकता कायम राख्दै उच्च मनोबलले युक्तरहँदै मुलुक र जनताको पक्षमा काम गर्ने वातावरण तयार गर्न सर्वपक्षीय सहयोगको खाँचो रहन्छ । हुन्डीको माध्यम अपनाई अपराध गर्ने समूह साधारणतया समाजमा प्रतिष्ठित व्यक्तित्वको रूपमा रहने हुुँदा सम्बद्ध पक्षद्वारा गरिएको संगठनात्मक अपराधलाई सहजै नागरिक समाजलगायत राज्यपक्षले खट्याउन नसक्ने अवस्था रहन्छ ।

यहि मूल कारक तत्वले गर्दा अनैतिक कार्यमा आवद्ध रहने व्यक्ती वा समुदाय विशेषलाई आपराधीकरण प्रमाणित गर्न राज्य पक्षमा समेत केही हदसम्म द्विविधा कायम रहेको देखिन्छ । जसले न्याय प्रक्रियामा समेत विलम्बको परिस्थिति पैदा गर्नेछ । किनकी प्रस्तुत अवस्थामा गरिएको आर्थिक लेनदेनको ठोस सबुत­प्रमाण सहजै प्राप्त हुन नसक्दा अपराध अभिवृद्धिकरणमा हुन्डी व्यवसाय सहयात्री भएको छ । तथापि प्रस्तुत कार्यहरू कुनै पनि हालतमा कानुन सम्मत हुँदै होइनन् भनी ठोकुवा गर्न सकिन्छ ।

मुलुकबाट अवैध बाटो हुँदै रकम बाहिरिनु तथा विदेशीभूमिमा पसिना चुहाएर गरेको मिहिनेतको उचित प्रतिफल वित्तीय प्रणालीमा आवद्ध नरही हुन्डी प्रदायमार्फत गरिने लेनदेनले मुलुकको विप्रेषणमा समेत भारी गिरावट आउनेछ । जसका कारण वैदेशिक रोजगारीमा जाने समूह अन्यायमा पर्नेछन् भने हुन्डीकार्यमा रमाउने समूहको बोलवाला अत्यधिक मात्रामा अभिवृद्धिभई मुलुकको अर्थतन्त्रमा समेत गलत प्रवृत्तीहरू हाबी भएकै कारण नकारात्मक असर पर्ने तीव्र सम्भावना रहन्छ ।

प्रतिक्रिया