‘यौनसम्पर्कले मात्र रोग सर्दैन’

डा. भाष्कर मोहन कायस्थ  काठमाडौं । यौन रोग भनेको यौनसम्पर्कबाट लाग्ने रोग नै यौन रोग हो । नाम यौन रोग भएपनि यौन सम्पर्क नगर्दै पनि यो रोग लाग्दछ । जस्तो, गर्भवती महिलामा यौन रोग देखापरेको छ भने र बच्चा पेटमा नै रहँदा औषधोपचार गरेन भने यौन रोग बच्चालाई पनि सर्दछ । कुनै व्यक्तिको यौनांगमा यौन रोग छ भने मुखहरूमा पनि आउन सक्छ ।

यौन सम्पर्क नै नगरी किस गरेको खण्डमा पनि यौन रोग हुन सक्छ । यौन रोगमध्ये सिफ्लिस (भिरिंगी) रोग भएको मानिसको रगत टेस्ट नगरी अर्को व्यक्तिलाई वा बिरामीलाई रगत दिँदा त्यसबाट पनि यौन रोग सर्दछ । यो यौन रोग नै हो तर, यौन सम्पर्कविना सर्न सक्ने माध्यम भनेको रगत र आमाबाट बच्चामा सर्ने नै हो । यौन सम्पर्कबाटै सर्ने यौन रोगहरूमा विशेषगरि, ब्याक्टेरिया र भाइरसले गर्दा हुने रोग हुन्छ । ब्याक्टेरियाबाट हुने रोग सिफ्लिस (भिरिंगी) हो भने अर्को गोनोरिया रोग लाग्दछ ।
सिफ्लिस हुँदा यौनांगमा नदुख्ने खालको एउटा अथवा दुईवटा घाउ आउँछ । त्यो घाउ आएको एक महिना जति समय भएपछि घाउ आफँै हराएर जान्छ । त्यस्तो हुँदा घाउ त निको हुन्छ तर किटाणुचाँहि शरिरमा नै रहन्छ । औषधि नै नगरी घाउ निको भए पनि किटाणु शरिरमा नै रहने हुनाले त्यसको केही समयपछि मुटुमा, ब्रेनमा र हड्डीमा त्यसको असर देखिन्छ । गोनोरिया रोग लाग्दा पिसाबबाट पिप आउने हुन्छ । यसमा महिलामा पिसाबबाट पिप आउँदैन उनीहरूको योनीबाट सेतोपानी बग्ने हुन्छ तर पुरूषहरूमा चाँहि पिसाब (मुत्रनलीबाट) पिप आउँछ ।

गोनोरियाको उपचार समयमा नै भएन भने पुरूषको मुत्रनलीमा भित्र घाउहरू भएर पाक्ने र मुत्रनलीको प्वाल नै सानो भएर पछि पिसाब फेर्न गाह्रो हुने हुन्छ र विस्तारै पोल्ने, दुख्ने समस्या हुन्छ । धेरै समयपछि उपचार गरियो भने मुत्रनलीमा पाइप (स्टिलको रड) राखेर समय–समयमा खुर्किनुपर्छ । यस्तो गर्दा धेरै गाह्रो हुन्छ । रगतमा ब्याक्टेरियाले गर्दा हुने यौन रोग सिफ्लिस (भिरिंगी) को उपचार गर्न गाह्रो हुन्छ । यसको उपचार गर्न अन्य अस्पतालले पनि गाह्रो मान्दछन् ।

त्यसको उपचार हामीले सहज रूपमा दिन्छौँ र दिँदै पनि आएका छौँ । श्रमको लागि विदेश जाने युवापुस्तामा रगत जाँच गर्दा विभिन्न यौन रोगको समस्या देखिन्छ । समस्या देखिएपछि उनिहरू विदेश जानबाट समेत वञ्चित हुने गरेका छन् । महिलाहरूमा गोनोरिया नै सेतो पानी बग्ने रोग यौन रोग लागेको छ भने र समयमा नै औषधि उपचार नगरे पछि गएर उसको पाठेघरमा भित्रपट्टि संक्रमण गर्दछ ।

उपचार नगर्दा यौनांगमा मात्रै नभएर भित्र नै असर गर्दछ त्यसले गर्दा गर्भ रहन गाह्रो हुने र गर्भ रहिहाल्यो भने पनि तुहिने हुन सक्छ । भाइरसबाट हुने रोग साधारण दुईवटा हुन्छ । हर्पिस एउटा हो यसमा यौनांगको टुप्पोमा र महिलाहरूको योनीको वरिपरी साना–साना मसिनो पानीको फोका जस्तो आउँछ त्यो फुट्छ र वेलावेलामा घाउ हुने हुन्छ । समय समयमा आउँछ फेरी फुट्छ र कम हुन्छ यो प्रक्रिया एकपटक भइसकेपछि जीवनभर निरन्तर चलिरहन्छ यसलाई रिकरेन्स हर्पिस भनिन्छ ।
यो एकपटकको यौन सम्पर्कबाट सरेपछि औषधि उपचार गरे पनि जीवनभरी समस्या भोग्नुपर्ने समस्या हो । अर्को मुसा (एचपिभि) वार्ड हो । साधारण हात, गोडा र जीउमा आउने मुसा यौन रोगबाट आएको होइन, यो बेग्लै मुसा हो यो सर्दा पनि सर्दैन तर यौनांगमा आउने मुसा चाँही यौन रोगबाट आउने मुसा हो । पुरूषको भए लिंगको टुप्पोमा आउँछ भने महिलाको योनीको भित्र वा बाहिर दुवै ठाउँमा पनि आउन सक्छ यो यौन रोग नै हो यसलाई औषधि लगाउनु नै पर्दछ ।

(एचपिभि) ह्युमन प्याटोभ भाइरसको अर्को प्रकार हुन्छ । भाइरसको विभिन्न किसिम हुन्छ तर एउटा प्रकारले पाठेघर मुखको क्यान्सर हुन्छ । पाठेघर मुखको क्यान्सर यो भाइरसबाटै हुन्छ । जति छिटो यौन सम्पर्क ग¥यो त्यति पाठेघर मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । १२–१३ वर्षदेखि नै यौन सम्पर्क भएको व्यक्ति छ भने त्यस्तो व्यक्तिलाई पछि गएर क्यान्सरको सम्भावना बढी हुन्छ ।

त्यसको भाइरसको लागि किशोरीहरूलाई जोगाउन (एचपिभि) भ्याक्सिन टिचिङ अस्पतालमा दुई वर्षदेखि सुरू भएको छ यसले पाठेघर मुखको क्यान्सरलाई रोक्न सकिन्छ । पिसाब महिला पुरूष दुवैमा पोल्ने समस्या हुन्छ तर महिलाहरूमा युरिन इन्फेक्सनले हुन्छ यो यौन रोगको किटाणुले हुने रोग होइन । महिलामा पिसाब पोल्ने, ज्वरो आउने, काम ज्वरो आउने गर्भवती महिलालाई बढी हुन्छ ।

यो यौन रोगबाट होइन पिसाबकै रोगबाट हुने हो । पुरूषहरूमा पिसाब पोल्ने रोग भेनेको एउटा युरिन इन्फेक्सन हो । पानी कम खाने व्यक्तिलाई पनि पिसाब पोल्ने समस्या हुन्छ । अन्य अर्थ नलागेमा पिप आएर पोलेको हो भने त्यो यौन रोग नै हो । उपचारको क्रममा यौन सम्पर्क भएकै होइन भन्यो भने पनि पिप आएर पिसाब पोलेको हो भने यौन रोग नै भएको हुन्छ । गर्मि समयमा लामो बसको यात्रा गर्दा पानी खाएन र पिसाब च्याप्यो भने पिसाब पोल्छ त्यसलाई यौन रोग मानिदैन ।

जति कम पानी पिइन्छ त्यति पिसाबमा बढी एसिडको मात्रा हुन्छ त्यसले पिसाब पोल्ने हुन्छ । यौन रोगबाट पिसाब पोलेको हो भने यौन सम्पर्क गर्न हुँदैन यदि त्यो सकिँदैन भने असुरक्षित यौन सम्पर्क गर्न हुँदैन । यौन सम्पर्कबाट बच्नको लागि यदि पुरूष हो भने परस्त्रीसँग र महिला हो भने परपुरूषसँग यौन सम्पर्क गर्न हुँदैन । अस्पतालमा श्रीमान् वैदेशिक रोजगारमा गएर बिदामा घर आउँदा यौन रोग दिएर वैदेशिक रोजगारमा जाने पनि गरेका छन् ।

यौन व्यवसायीहरू पनि अस्पतालमा उपचारको लागि आउने गरेका छन् तर हामीले तपार्इं यौन व्यवसायी हो भनेर सोध्दैनौँ । बिरामी भएर आएका हुन्छन्, हामीले सेवा दिन्छौँ, तर यौनकर्मीहरूलाई यौन रोग हुन्छ । हामीले सुझाव सम्म दिने गरेका छौँ । पुरूष–पुरूषको विचमा यौन सम्पर्कबाट मलद्वारमा ठूल्ठूला मुसाहरू लिएर धेरै पुरूषहरू उपचारका लागि आउने गरेका छन् । (एमएसएम) मेल ह्याभिङ सेक्स विद मेल, फिमेल–फिमेल त्यति सम्भव हुँदैन तर, एमएसएमबाट मलद्वार वरिपरि पुरै मासुले ढाकेको हुन्छ ।

यस्तोको उपचार गर्न धेरै गाह्रो छ त्यसैले बानीव्यहोरामा सुधार गर्न जरूरी छ । यदि गर्दा पनि असुरक्षित किसिमले गर्न हुँदैन, कण्डमको विशेष प्रयोग गर्न जरूरी छ जथाभावी गर्न हुँदैन । यौन रोग लाग्नै नदिन त ब्रह्मचर्य हुनुपर्छ तर, सम्पर्क नै राखे पनि ब्वाइफ्रेन्ड होस या पति होस एक जनासँग मात्रै सम्पर्क राख्नुपर्छ । महिलाहरूले अप्रेसन गरेर पाठेघर फालेपछि मलाई यौन रोग लाग्दैन भन्ने गर्दछन् तर योनी हुन्छ, त्यसैले यौन रोग लाग्दछ ।

पाठेघर क्यान्सर नभए पनि योनीमा संक्रमण हुने, सेतो पानी बग्ने समस्या भइरहन्छ, भाइरसले हुने मुसा आउन सक्छ । एचआइभी पनि ठूलो यौन रोग हो भने त्यस्तै, हेपाटाइटिस बी छिटो सर्ने रोग हो । यो किस गर्दा, पसिनाबाट समेत सर्न सक्छ त्यसैले समयमा नै उपचार गर्नुपर्छ । यौन रोग गर्मि र जाडो समयमा लाग्ने भन्ने हुँदैन । जुनसुकै समयमा, जुनसुकै उमेर समूहका मानिसमा पनि यौन रोग लाग्न सक्छ । ३ वर्षको बच्चादेखि ७८ वर्षको मानिसमा पनि यौन रोग हुन्छ । पहिलेको तुलनामा आजभोली यौनरोगको बिरामीहरू बढ्दो छन् ।

तर, अहिले गर्मिको समय भएकाले काखिमुनि र यौनांग वरिपरि पास्ने समस्या हुन्छ । त्यसैले गर्दा यसको लागि बिहान लगाएको भित्री वस्त्र सधैँ बेलुकी खोलेर, अर्को कुनै सफा वस्त्र लगाएर सुत्नुपर्छ । सकेसम्म गर्मीमा खुकुलो कपडा लगाउने गर्नुपर्छ । यस्तो हुँदा पसिना आउने सम्भावना कम हुन्छ र आएपछि गुम्सिन पाउँदैन । भित्री वस्त्र पनि सूति वा कटनको लगाउनुपर्छ । कमिज त कटनकै हुन्छ तर अन्डरवेयर लगाउँदा नाइलन र पोलिस्टरको लगाउन हुँदैन । सूतिको लगाउनुपर्छ र केटा हो भने बक्स खालको खुकुलोे अन्डरवेयर लगाउनुपर्छ ।

राती सुत्ने वेलामा नबिर्सिकिन दिउँसो लगाएको सबै भित्री वस्त्र खोलेर अर्को लगाएर मात्रै सुत्नुपर्छ । बरू बिहान अघिल्लो दिनमा लगाएको भित्री वस्त्र लगाउन मिल्छ तर दिउँसो लगाएको बेलुकी लगाएरै सुत्न मिल्दैन । किनभने दिनभरी हिँडेर पसिना आएको हुन्छ, धूलो आएर टाँसिएको हुन्छ, त्यसमा किटाणु हुन्छ त्यसले गर्दा राति इन्फेक्सन हुन्छ । काछ लाग्यो, चिलायो भनेर पसलमा गई औषधि किनेर प्रयोग गर्नुहुँदैन ।

चिलायो भनेपछि पसलबाट नचिलाउने औषधि दिन्छ तर, त्यसले विभिन्न अरू समस्या निम्त्याउँछ । जथाभावी औषधि प्रयोग गरेर किटाणुले सबै औषधि पचाइसक्यो, अहिले बिरामीलाई कुनै पनि महंगो औषधिले सम्म काम गर्न छोडेको छ, यसको प्रमुख कारण जथाभावी औषधि किनेर प्रयोग गर्नु नै हो ।वीर अस्पतालको चर्म, छाला तथा यौन रोग विभाग प्रमुखसमेत रहेका कायस्थसँग सौर्य दैनिकका लागि यसिमा महतले गरेको कुराकानीको सम्पादित अंश ।

प्रतिक्रिया