एपिएफ र आर्मीकोे दोहोरो जित

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल आर्मी क्लबले चौथो एनएसटी–एनभिए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा दोहोरो जित निकालेका छन् । आइतबार भएको उद्घाटन खेलमा एपिएफको महिला टिमले नेपाल पुलिसमाथि ३–० को सोझो सेटमा जित निकाल्दा पुरुष टिमले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । एपिएफको महिला टिमले पुलिसलाई २५–१६, २७–२५ र २५–१४ को सेटमा हराएको थियो । एपिएफकै पुरुष टिमले बुढानीलकण्ठलाई २५–५, २५–१५, २१–२५ र २५–२० को सेटमा हरायो ।

नेपाल सेटलाइट टेलिकमको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा आर्मीको पुरुष टिमले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१५, २५–१३ र २५–१३ को सोझो सेटमा हराउँदै समूह विजेताको रूपमा क्वार्टरफाइनलमा स्थान बनायो । पुरुष टाई सिटको समीकरणअनुसार समूह ‘डी’ मा २ टिम मात्र भएकाले ढोरपाटनले पनि अन्तिम ८ मा स्थान बनाएको छ । आर्मीको महिला टिमले पनि ढोरपाटनलाई २५–२०, २५–७ र २५–६ को सोझो सेटमा हराउँदै विजयी सुरुआत गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार बिष्टले गरेका थिए ।  सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, मुख्य प्रायोजक नेपाल सेटलाइट टेलिकमकी डाइरेक्टर अस्मिता सुमार्गी, नेदरल्यान्ड भलिबल फेडेरेसनका अध्यक्ष पिटर स्प्रिङगर, नेदरल्यान्डकै डेभलभमेन्ट मेनेजर पिटर भान तारेल लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतियोगिताका विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ६० हजार, उत्कृष्ट खेलाडीले नगद १५ हजार र विद्यागत उत्कृष्टले जनही ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । लिगकम नकआउटका आधारमा भएको प्रतियोगितामा महिलातर्फ ७ तथा पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । १९ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको महिला टिमलाई २ र पुरुष टिमलाई ४ समूहमा विभाजित गरिएको छ ।

प्रतिक्रिया