काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले कैद सजाय र जरिमाना तोकेको छ । सोमबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय र २८ करोड रुपैयाँभन्दा बढी जरिमाना हुने फैसला गरेको हो ।
पद्मा कोलोनी प्रालि एवं पद्मा मर्चेन्ट कम्पनीलाई लाभ हुने गरी निर्णय गरेबापत मेयर बस्नेतले घूस लिएको विशेषको ठहर छ । उनलाई घूस दिने पद्मा कोलोनी प्रालिका सञ्चालक राजु कँडेललाई पनि घूस दिएको आरोपमा विशेषले दोषी ठहर गरेको थियो । उनलाई पनि सोमबार नै ८ वर्ष कैद सजाय गर्ने फैसला गरिएको छ । विशेष अदालतले ती २ कम्पनीलाई पनि बिगो तिराउने फैसला गरेको छ । उनीहरू दुवैलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिमाना हुने फैसला भएको छ ।
सम्पत्ति शुद्धीकरणतर्फ बस्नेतले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा सम्पत्ति शुद्धीकरण गरेको देखिँदा बस्नेतलाई सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार ३ वर्ष कैद, बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिमाना हुने र भ्रष्टाचारको रकमबाट आर्जित सम्पत्तिसमेत जफत हुने फैसला भएको छ ।
त्यसैगरी, राष्ट्र सेवकले गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप १० प्रतिशत सजाय हुने भएको छ । जसमा कैदतर्फ ३ महिना १८ दिन र जरिमानातर्फ २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिमाना थपिएको छ । त्यस्तै, अपराध पीडित संरक्षण ऐनअनुसार उनीबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र कडेँलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला छ ।
प्रतिक्रिया