पूर्वराजा ज्ञानेन्द्र यतिवेला देश दौडाहामा छन् । यतिवेला प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको अवस्था छ । नयाँ संविधानले प्रदान गरेको अधिकार राजनीतिक दलहरूले प्रयोगमा ल्याइरहेका छन् । देश संघीय संरचनामा गइसकेको छ । र, प्रदेशका राजधानी कहाँ र कुन स्थानमा राख्ने भनेर बहस चर्किरहेका वेला पूर्वराजाले आफ्नो राजनीतिक गतिविधिलाई अगाडि बढाएका हन् भन्नेमा कुनै पनि शंका छैन ।
तीन वटै तहको निर्वाचन सम्पन्न भइसकेर संघीय राजधानी, प्रदेशसभाको गठन, नयाँ सरकार निर्माणलगायत मुद्दाहरूका चाङ एकपछि अर्को गरी लागिरहेका वेला पूर्वराजा आफ्नो राजनीतिक दाउ हेरेर सडकमा ओर्लिएको विषयले सामान्य रूपमा भए पनि यसले महत्व पाएको छ नै ।
उनको भ्रमण प्रदेश २, प्रदेश ६ हुँदै बुधबार प्रदेश ७ को धनगढीमा भएको छ । उनी पूर्वराजपरिवारका सदस्यसहित धनगढी पुगेका छन् ।
उनी धनगढी पुग्दा पूर्वराजपरिवारका सदस्य र पूर्वराजारानीको सवारीझैँ झल्को दिने गरी सवार भएका छन् धनगढी नगरमा । उनी आउनुपूर्व कैयौँ चौधरीको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति पनि बनाइएको थियो ।
पूर्वराजाको आगमनलाई प्रभावकारी बनाउनका लागि पूर्वपञ्च, मण्डले, केही राजनीतिक दलका स्थानीय कार्यकर्तासमेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपले लागिपरेका पनि थिए । धनगढीको जलशा होटलमा उनी बस्ने स्थान छनोट गरिएको छ भने उनको आगमनका लागि धनगढीको उत्तर बेहेडीमा रहेको शिवपुरी धाममा विशेष मञ्च र स्वागतरूारहरू निर्माण पनि गरिएका छन् ।
पूर्वराजा स–परिवार धनगढी आउने कार्यक्रम भएपछि निकै ठूलो मेला र भेला जम्मा गर्नका लागि पूर्वपञ्चहरू एक साताअघिदेखि नै सक्रिय रूपले लागि परेका थिए । पूर्वराजाको भ्रमणलाई प्रभावकारी बनाउनका लागि शिवपुरी धाममा विशेष कार्यक्रम रहेको भन्दै स्थानीय जनतालाई आउनका लागि आह्वान गरेका थिए आयोजकले । सोही आधारमा पनि ठूलो संख्यामा वृद्धवृद्धा, बालबालिका र महिला, पुरुष शिवपुरीधाममा चिसोको पर्वाहै नगरीकन जम्मा भएका देखिन्थे । पूर्वराजा कस्ता छन्, कस्तो चाल–चलन छ, कसरी आउँछन्, यस्तै जिज्ञासाहरू बोकेर आएका मानिस पनि लामबद्ध भएर पूर्वराजा ज्ञानेन्द्र नआउनुपूर्व नै घण्टौँसम्म शिवपुरीधाममा कुरेर बसेका देखिन्थे ।
उनी शिपवुरी क्षेत्रमा प्रवेश गर्नेबित्तिकै लाइनमा लगाइएका मानिसलाई हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आऊ, देश बचाऊ, गणतन्त्र मुर्दावादजस्ता नाराहरू लगाएको पाइयो ।
नेपाल यतिखेर संघीय संरचनामा छ । संघीय संरचनाको प्रयोगको बटोमा देश अगाडि बढिरहेको छ । नयाँ संविधानको कार्यान्वयन र पुराना संरचनाहरू भत्काएर नयाँ संरचनामा देश अगाडि बिढरहेका वेलामा यही व्यवस्थाभित्र पनि सामान्य नागरिकसरह भइसकेका पूर्वराजसंस्थाका मानिसहरूलाई राजाको जस्तै सवारी चलाउने अनि जनताकामाझ लोकतन्त्र गलत हो, राजतन्त्र नै ठीक हो भन्ने भ्रम छर्नका लागि देशका विभिन्न स्थानहरूमा पूर्वराजाका हुक्के–ढुक्के र पूर्वमण्डलेहरू सक्रिय रूपमा लागिपरेका छन् ।
हरेक नागरिकलाई लोकतन्त्रमा दल छान्न पाउनु र दलको सदस्य बन्न पाउनु उसको नैसर्गिक अधिकार पनि हो । पूर्वराजा नेपाली
जनतासरह छन् यतिखेर । जनताका हक–अधिकार स्थापित गर्ने र देशमा पूर्ण लोकतन्त्र संस्थागत गर्ने वेलामा हिजोको निरंकुश तानाशाही व्यवस्थाको उपज राजतन्त्र र त्यसका अंग–प्रत्यंगहरूले लोकतन्त्रलाई नै उपहास गर्ने र बदनाम गर्ने बाहनामा यतिखेर देशका विभिन्न स्थानहरूमा स्लोप्वाइजनका रूपमा काम गरिरहेको पाइएको छ ।
हिजो पञ्चायती व्यवस्थामा राजतन्त्रविरुद्ध नारा लगाउने र बोल्ने व्यक्ति जेलको भागेदार हुन्थ्यो । तर, लोकतन्त्रमा हरेक नागरिकले बोल्न पाउँछ, बोल्नु पनि पर्दछ, तर न्यायसंगत तरिकाले, अनि संविधानको मर्यादालाई आँच नपु¥याएर । वैयक्तिक स्वतन्त्रता, वाक्स्वतन्त्रता र मौलिक हक भनेको लोकतन्त्रको मूल मर्म पनि हो । त्यसको प्रयोग संवैधानिक तरिकाले हरेक नागरिकले गर्न पाउनु पर्दछ । त्यो अधिकार पूर्वराजालाई पनि छ ।
उनले नागरिकको हैसियतले बोल्न पाउनु र जनताको अभिभावकको हैसियतले बोल्नु पनि पर्दछ । त्यो पनि देश, जनता, राष्ट्र र राष्ट्रियताका लागि । तर, आमनेपाली जनताको भावनाविरुद्ध बोल्ने वा लोकतन्त्रलाई समेत धरापमा पार्ने आकांक्षा र अभियानको हिसाबले उनले बोल्ने अधिकार नै छैन । यदि पूर्वराजाले आफूलाई यसरी अगाडि बढाउने दुष्साहस गर्छन् भने पनि उनी र उनको अभियानलाई सोझासाझा नेपाली जनतामाझ पु¥याएर भ्रमको खेती गर्ने गरिन्छ भने त्यो कुरा कुनै पनि नेपाली जनताको हितमा छैन र जनताले पचाउन पनि सक्दैनन् ।
यति पूर्वराजाले आफूलाई राजाकै हैसियतमा उतार्न खोजेका हुन् भने जनआन्दोलन ०६२÷०६३ र १० वर्षे जनयुद्ध म र मेरो बंशजले चलाएको २ सय ४० वर्षे निरंकुश राजतन्त्रविरुद्ध थियो त्यो आन्दोलन भन्ने कुरालाई गम्भीरतापूर्वक सोच्न जरुरी छ ।
राजनीति गर्ने भए ः पूर्वराजा ज्ञानेन्द्रले यदि राजनीति नै गर्नु छ भने निर्वाचन आयोगमा दल दर्ता गर्दा सबैभन्दा उत्तम र न्यायसंगत अनि लोकतान्त्रिक हुन सक्दछ । उनले नेपाली जनतालाई अधिकारसम्पन्न बनाउनै खोजेका हुन् भने दल दर्ता गरेर जनताको सेवा गर्न कसैले पनि रोकतोक गर्नेवाला छैन । उनलाई राजनीति गर्ने र दल खोल्ने अधिकार छ । तर, पूर्वराजाजस्तै ध्याँस देखाउने र लोकतन्त्रलाई अफाप सिद्ध गर्नका लागि उनले धमिलो पानीमा माछा मार्ने दाउ खोजिरहेका हुन् भने उनका लागि कदापि हितकर हुन सक्दैन । नेपाली जनता हिजोका सोझासाझा जनता पक्कै छैनन् । लोकतनत्रमा जनमत भनेकै सबैभन्दा ठूलो अस्त्र हो ।
फूल टिपेर लोकप्रियता कमाइँदैन ः देश दौडाहामा रहेका ज्ञानेन्द्रले आफू साँच्चै देशको चिन्ता मानिरहेझैँ देखाइरहेका छन् । हिजो सत्ताको बागडोर हुँदा उनले त्यो गर्न सक्दथ्ये । उनले त्यो किन गर्न सकेनन् । अहिले आएर पुरानै ध्वाँसमा लागेर मनको लड्डु घिउसँग खाएझैँ गर्न पनि सुहाउँदैन । पूर्वराजाले वर्तमान कानुनको पूर्ण पालना गर्दै देश र जनताको हितभन्दाबाहिर जाने अधिकार छैन । त्यो कार्य लोकतन्त्रवादी जोकोहीलाई पनि पाच्य हुन सक्दैन ।
राजतन्त्र फर्काउने चलखेल ः नेपालमा पूर्वराजाले भारतका सीमानाकानजिक पुग्ने, मठ–मन्दिर धाउने र पूजा–आजाको बाहना गरेर घुमाउरो पाराले राजनीति गर्ने र राजतन्त्रलाई पुनर्बहाली गर्ने दिवास्वप्न देखेका हुन् भने दिनमा देखिएको सपनाको कुनै अर्थ रहँदैन भन्ने कुरालाई नजरअन्दाज गर्नु पर्दछ ।
उत्तरप्रदेशको सूत्र ः भारतको सबैभन्दा ठूलो जनसंख्या ओगटेको राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र नेपाली राजसंस्थाको सम्बन्ध धार्मिक रूपले नजिक छ । यो अनुमान नभएर यथार्थ हो, हिन्दू महासंघले काठमाडौंमा आयोजना गरेको विश्व हिन्दू परिषद्मा बक्ताका रूपमा आएका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल राजतन्त्रविनाको देश नै हुन सक्दैन, राजसंस्था र नेपाल अनि हिन्दू राष्ट्रका नामले मात्र नेपाललाई चिन्ने गरेको अभिव्यक्ति उत्तर प्रदेशका मुख्यमन्त्रीले केही वर्ष पहिला दिएका थिए । जतिवेला नेपालबाट राजतन्त्र हटिसकेको थियो । उनले यस्तो अभिव्यक्ति दिएका वेला उनी उत्तर प्रदेशका मुख्यमन्त्री बनेका थिएनन् ।
दलभन्दा राजतन्त्र उपयोग गर्ने नीति ः मोदी सरकारले नेपालमा कम्युनिस्ट सरकार आउने पक्कापक्की भइसकेको अवस्थामा विभिन्न अस्त्रहरू प्रयोग गरेको देखिन्छ । भारतीय पक्षधरता रहने गुलाम सरकारको ध्याउन्नको खेतीबाट सफलता नपाएपछि अब नेपालमा दलहरूबाट नभई जसरी भुटानको राजसंस्था टिकेको छ, त्यसरी नै नेपालको राजसंस्थालाई स्थापित गर्नेका लागि नेपालमा राजनीतिक चलखेल दक्षिणबाट सुरु भइसकेको बुझ्न कुनै कठिन छैन अब । यही मौकामा पूर्वराजाले थाइल्यान्डको लामो बसाइमा योजनाको तानाबाना नेपाल फर्केलगत्तै देश दौडाहामा निस्केको देखिन्छ ।
विरक्तिएका पूर्वराजातिर ः बुधबार धनगढीमा पूर्वराजा आउँदा स्वागत गर्न लाइनमा रहेकाहरू विभिन्न दलहरूका असन्तुष्ट र विरक्तिएका व्यक्तिहरू देखिएका छन् । उनीहरू स्वयं दलभित्रका कतिपय नेताहरूबाट असन्तुष्ट भएका, पद, प्रतिष्ठा र स्वार्थ पूरा नभएर बरालिएकाहरू नै पूर्वराजाको स्तुतिगान गर्न लागिरहेका देखिन्थे भने उनीहरूले नै बढी चर्का नाराहरू लगाएको देखिन्थ्यो । यो हुनुमा दलका नेता कार्यकर्ताको कमजोरीको रूपमा पनि लिन सकिन्छ किनकि उनीहरूले पार्टीलाई अनुशासित र मर्यादित बनाउन सकेको भए यस्तो अवस्था नै आउने थिएन ।
दलहरूमा चेतना आओस् ः नेपालका राजनीतिक दलभित्र पनि केही मण्डले र पञ्च प्रवृत्तिले नेपालको लोकतन्त्रलाई संस्थागत हुनबाट रोकिरहेको छ । सम्बन्धित दलहरूले लोकतन्त्रविरोधीहरूलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्न विलम्ब गर्नु हुँदैन । जबसम्म नेपाली जनताका अधिकारलाई सुरक्षित गर्न सकिँदैन तबसम्म जनताले खोजेको शान्ति र समृद्ध प्राप्त हुन सक्दैन । हालै सम्पन्न स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली जनताले खासगरी वाम गठबन्धनलाई बहुमत दिएका छन् । नेपाली जनताको बहुमतको कदर गर्दै नयाँ सरकार निर्माणका लागि दलहरूले कुनै पनि हालतमा तलमाथि नगरी दलहरूबीच भएका सहमतिको कार्यान्वयनको बाटोमा विलम्ब नगरी अघि बढ्नु नै हितकर हुन सक्दछ । हैन भने समय बलवान् छ । व्यवस्था परिवर्तन हुन र राजनीतिले कोल्टे फेर्नबाट कसैले पनि आजसम्म रोक्नसकेको छैन । दलका नेताहरू त्यसमा पनि विशेषगरी वाम गठबन्धनका नेतृत्वले वेलैमा ध्यान पु¥याउनु जरुरी छ ।
प्रतिक्रिया