देशव्यापी रूपमा वाम गठबन्धनका उम्मेदवारहरूले दुईतिहाइ संख्यामा विजय हासिल गरेका छन् । नेपालको वाम आन्दोलनमा यो ऐतिहासिक परिघटना हो । ५० वर्षदेखि छुट्टाछुट्टै चुल्हो–चौको बनाएर भिन्न–भिन्न अस्तित्वबाट भूमिका निर्वाह गर्दै आएका वामपन्थीहरू, यसपटकको निर्वाचनमा खासगरी दुई ठूला पार्टी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन निर्माण गरेर संयुक्त ढङ्गले निर्वाचनमा उम्मेदवार खडा गरेका कारण जनतामा ठूलो उत्साहको सञ्चार गर्यो, र जनताले देशव्यापी रूपमा वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराए ।
अब निर्वाचन सकिएपछि केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्म निर्माण भएको वाम गठबन्धन निर्वाचन परिचालन कमिटिको कतिपय ठाउँमा औचित्य समाप्त भएझैँ, कार्यकर्ताहरू आ—आफ्ना गतिविधितर्फ केन्द्रित भएको पाइन्छ । केन्द्रीय तहमा पनि वाम गठबन्धनअन्तर्गत गठन भएको पार्टी एकता संयोजन समितिबाट औपचारिक निर्णयहरू बाहिर आइनसक्दा सर्वत्र चासो र सरोकार, बढिरहेको छ ।
वाम गठबन्धन निर्माण मूलतः निर्वाचनमा साझा ढंगले उम्मेदवार तय गर्ने तथा निर्वाचनपश्चात् सरकार गठन र दुई पार्टीबीच एकीकरण गरी एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने उदेश्यका साथ भएको हो । यतिखेर प्रथम चरणको कार्य सम्पन्न भएको छ र सरकार गठनको दोस्रो चरणको कार्यमा पार्टी एकता संयोजन समिति जुटिरहेको विषय सार्वजनिक भएको छ । सरकार गठनको गृहकार्यसँगै पार्टी एकीकरणको मोडालिटीमा छलफल गरी एकीकरण प्रक्रियालाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने चासो आम रूपमा बढ्दै गएको छ । अब वाम गठबन्धनले नयाँ सरकारमार्फत जनतालाई राहतको कार्यक्रमका साथै विकास निर्माणका कार्यलाई तीव्रता पूर्वक अगाडि बढाउनेछ, भन्ने विश्वास र अपेक्षा बढेर गएको छ ।
जनताका यी इच्छा–आकांक्षालाई परिपूर्ति गर्न वाम गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी औपचारिक ढंगले एकीकरण नभएसम्म भूमिका निर्वाह गर्नुपर्दछ । यस सन्दर्भमा अब वाम गठबन्धनले निम्नानुसारको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
पहिलो, सानो छरितो सरकार गठन गर्नु यतिखेर वाम गठबन्धनको पहिलो अभिभारा हो । भद्दा खालको मन्त्रीमण्डल गठन गरेर जनतामा आलोच्य हुनुभन्दा पाँच वर्षे पदावधिभित्र सक्षम, योग्य र विषय विज्ञ व्यक्तिहरूको चयन गरी बीचमा पनि मन्त्रीमण्डल हेरफेर गर्ने गरी सरकार गठन गर्नु सबै हिसाबले उपयुक्त देखिन्छ । यसो गर्दा योग्य र अवसर प्राप्त नगरेका व्यक्तिहरूलाई काम गर्ने अवसर प्राप्त हुन्छ । समग्रमा जनताले वाम गठबन्धनको पक्षमा विश्वास प्रकट गरेको हुँदा सरकारको नेतृत्व पनि वाम गठबन्धनका शीर्ष नेतृत्वबाट पालैपालो गर्दा जनमतको सम्मान हुने देखिन्छ ।
दोस्रो सरकार गठनसँगै मुलुकको अर्थतन्त्र र विकासको अवस्थाबारे सरकारले श्वेतपत्र जारी गरेर त्यसको प्रकाशमा सरकारले गर्ने तत्कालीन नीति तथा कार्यक्रमहरूको सार्वजनिक गर्नुपर्दछ । यतिखेर जनतालाई राहतको अनुभूति चाहिएको छ । किसानहरू मल, बीउ र सिँचाइको अभावमा छटपटाउन थालेका छन् । सडक बाटोहरू हिल्यामे र धुल्यामे भएर जनताले आवात–जावत गर्न कठिनाइ व्यहोरिरहेका छन् । टोल, बस्तीमा खानेपानीको हाहाकार छ, सर्वत्र महँगी, अभाव, कालोबजारी बढेको छ । यी सबै जनताले भोगेको ज्वलन्त समस्यालाई समाधान गर्ने गरी नयाँ सरकारले राहतमुखी कार्यक्रमको घोषणा गर्नु पर्दछ । साथसाथै चुनावी घोषणापत्रमा उल्लेखित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने गराउने दिशामा सरकार अग्रसर हुनुपर्दछ ।
कर्मचारीहरूको मनोबल बढाउने गरी नीति कार्यक्रमको सार्वजनिक गरेर, अब कर्मचारी तन्त्रलाई जवाफदेही र नतिजामूलक कार्यशैली अवलम्बन गर्न गराउन जोड दिनुपर्दछ । सरकार सञ्चालनको सन्दर्भमा सुशासनका मूल्यमान्यतालाई स्थापित गर्ने, अनियमितता र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्ने, राजस्व, वृद्धिमा जोड दिने गरी सरकारका कामलाई गति दिनुपर्दछ । सरकारका काममा सहयोग पुर्याउनु र समन्वय गर्न वाम गठबन्धनका शीर्ष नेतृत्वहरू रहेको संयन्त्र निर्माण हुँदा सुव्यवस्थित ढंगले सरकार सञ्चालन गर्ने आधार तयार हुने देखिन्छ ।
तेस्रो, वाम गठबन्धनको तर्फबाट सरकार गठन सँगै पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउनुपर्दछ । पार्टी एकीकरण राजनीतिक घोषणा गरेर मात्र पुग्दैन, पार्टी एकीकरण कुन सैद्धान्तिक, वैचारिक, र संगठनात्मक संरचनाका आधारमा गर्ने ? एकीकृत पार्टीको नेतृत्वको व्यस्थापन कसरी गर्ने, भन्ने विषय अहं महत्वको विषय हो । पार्टी एकीकरण कार्यलाई जति ढिला भयो, त्यति नै देशी–विदेशी प्रतिक्रियावादीहरूले चलखेल गर्न सक्ने, उत्तिकै सम्भावना छ । अहिले दुवै पार्टीको केही नेतृत्व र कार्यकर्ता पंक्तिबीच सरकारको नेतृत्व र पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयलाई लिएर चलि रहेको छलफल बहस, आग्रह, पूर्वाग्रहले अब पार्टी एकीकरण हुँदैन कि ? भन्ने आशंकाहरू उत्पन्न गर्न थालेका छन् । पार्टी एकीकरण मुलुकको विकास, समृद्धि हासिल गर्न र समाजवादको आधार निर्माण गर्न तथा एकीकृत कम्युनिस्ट आन्दोलनको निर्माण गर्न अपरिहार्य छ ।
पार्टी एकीकरणको कार्यबाट नै जनादेशको सम्मान हुनेछ । अतः अनेक किसिमका धारणाहरू सार्वजनिक गरेर यो पक्ष र त्यो पक्षमा नेतृत्व र कार्यकर्ता खडा हुने, गर्नेतर्फ लाग्नुको सट्टा एकीकरण प्रक्रियालाई पार्टी एकता संयोजक समितिले गम्भीरता पूर्वक कार्य आरम्भ गर्नु पर्दछ । पार्टी एकीकरणको सैद्धान्तिक, वैचारिक र संगठनात्मक पक्षमा सहमतिसँगै पार्टी र सरकारको नेतृत्व गर्न, दुवै पार्टीका शीर्ष नेतृत्वको बीच समझदारी हुन आवश्यक छ । सबैको सम्मानजनक सहभागिता हुने गरी पार्टी एकीकरणको घोषणा गर्न अब तत्काल मस्यौदा दस्तावेज बनाई छलफल आरम्भ गरिहाल्नु पर्दछ, र छलफलबाट निस्किएका निष्कर्षका आधारमा घोषणापत्रसहित पार्टी एकीकरणको घोषणा गर्नुपर्दछ ।
चौथो, पार्टी एकीकरणको प्रक्रियालाई टुंग्याउन समय लाग्ने विषयलाई ध्यानमा राखी जिल्ला र स्थानीय तहसम्म औपचारिक ढंगले पार्टी एकता संयोजक समिति निर्माण गर्नुपर्दछ । जिल्ला र स्थानीय स्तरमा पार्टी एकता संयोजन समितिले पार्टी एकीकरणको महत्व र आवश्यकताबारे भेला प्रशिक्षणको आयोजना गरी कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै जानुपर्दछ । कार्यकर्ताबीच जति बाक्लो भेटघाट, छलफल बहस र अन्तरक्रिया हुन्छ, त्यति नै तल्लो तहसम्म पार्टी एकीकरणको व्यवस्थापन सहज हुन्छ र आधारभूत तहसम्म पार्टी एकता संयोजक समितिबाट नै स्थानीय जनताका पीरमर्का समाधान गर्न र विकास निर्माणका कार्यको सम्पादनमा अग्रसरता लिनुपर्दछ । निर्वाचित जनप्रतिनिधिहरू र स्थानीय तहमा जनप्रतिनिधिहरूसँग समन्वय गरेर जनताका पीरमर्का समाधानमा पहलकदमी लिन सक्दा मात्र आधारभूत तहसम्म वाम गठबन्धनको उपस्थिति र भूमिकालाई स्थापित गर्न सकिन्छ ।
प्रतिक्रिया