नेपाली कांग्रेस चाउरिनुका आन्तरिक कारणहरू


गंगासागर पन्त   मानिस स्वभावैले स्वतन्त्रताप्रेमी हुन्छ । राजनीतिक भाषामा प्रजातन्त्र वा लोकतन्त्र (डेमोक्रेसी) भनेको त्यही मानिसले चाहेको आधारभूत (वा देश र समय सापेक्ष अधिकतम) स्वतन्त्रता हो । आधुनिक नेपालको राजनीतिक इतिहासमा यस प्रकारको स्वतन्त्रताको अभियान नागरिक स्तरबाट लखन सिं थापालगायतले सुरु गरे ज्यानको बाजी लगाएर । स्वतन्त्रताको यो नागरिक लडाइँलाई गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दजस्ता वीरहरूको सहादतले शिखरमा पु¥यायो जहानीयाँ राणा शासनबाट मुलुक र जनतालाई मुक्ति दिलाउन ।

नागरिक स्वतन्त्रता आन्दोलन र सहादतको त्यही शिखरमा टेकेर अघि बढेका विश्वेश्वरप्रसाद कोइरालालगायतले ०४ सालमा नेपाली कांग्रेस स्थापना गरेर । प्रजातान्त्रिक समाजवादलाई मार्ग निर्देशक सिद्घान्त बनाउँदै प्रजातान्त्रिक लडाइँलाई अरू संस्थागत बनाउँदै अघि बढको लोकप्रिय कांग्रेस आजसम्म आइपुग्दा अलोकप्रिय बन्दै जानुका आन्तरिक कारणहरू हेरौँ,शैद्घान्तिक बन्धन कमजोर हुँदै जानु जबसम्म कुनै शैद्घान्तिक बन्धन बलियो हुन्छ, त्यसले एउटा विचार समूहलाई स्वतः बाँधेर राख्छ ।

तर, बन्धन आफैँ कमजोर भएपछि त्यसले कसैलाई बाँधेर राख्न सक्दैन । बिपीको प्रजातान्त्रिक समाजवादको बन्धन यति दृढ, बलियो, र स्पष्ट थियो कि त्यसले कठिन समयमा पनि प्रजातन्त्रप्रेमी सबैलाई कसिलोसँग बाँधेको थियो साझा मान्यता र विचारको बन्धनमा । तर, नेपाली कांग्रेसमा यतिखेर यो शैद्घान्तिक बन्धन अत्यन्त कमजोर भएको छ ।

कांग्रेसमा यतिखेर पाँच वर्गका मानिस मात्र बाँकी छन्, निरंकुश शासक वर्ग (शीर्ष नेतृत्व), ती शासकहरूको आडमा खाइपाई आएका झोले र गुन्डाहरू, कम्युनिस्टहरूबाट विगतमा व्यक्तिगत वा पारिवारिक चोट खेपेकाहरू, कांगे्रसलाई आफ्नो वंश परम्परा मान्ने वर्ग र नेपाली कम्युनिस्टहरू क्लासिकल साम्यवाद छाडेर लोकतान्त्रिक भइसके भनेर नबुझिसकेका लोकतन्त्रप्रेमीहरू । पछिल्ला दुई वर्ग ठूलै संख्यामा रहेको तथ्य कांग्रेसले यसपटक पाएको समानुपातिक भोटले देखाउँछ । तर, यिनीहरूमध्ये धेरैलाई आज सिद्घान्तले बाँधेको छैन, पूरै व्यक्तिगत र स्वतन्त्र छन्, संस्थागत हिसाबले अस्थायी छन् ।

जनस्तरमा सैद्घान्तिक शिक्षा प्रणाली कमजोर हुदै जानु
बस्, एक जनालाई फुत्त माथि चढेर नेता हुनुछ, अरू केही मतलब छैन । केन्द्रमा शासकवर्गको चाकडी गरेर फुत्त माथि चढ्छ एक जना, जनस्तरमा कुनै पनि गतिविधि छैन । मात्र चुनावताका सलबलाउने, आफू कसरी राम्रो भनेर प्रमाणित गर्नभन्दा पनि अरू कसरी नराम्रो भनेर भोट माग्ने, अनि जिते पनि हारे पनि एक्कैचोटी अर्को सिजन । यो प्रकारको कमजोरी पनि चरम सीमामा पुगेको छ आजको कांग्रेसभित्रको संरचनात्मक अस्तव्यस्तता देख्दा ।

केन्द्रमा भएको व्यक्तिवादी विभाजनले सिर्जना गरेको तनावमा परेर भ्रातृ संरचनाहरू अत्यन्त नाजुक अवस्थामा पुगेका छन् । जिम्मेवार र जवाफदेही रूपमा जनसमुदायमा आफ्ना सिद्घान्त र त्यसले ल्याए–गरेका सकारात्मक परिवर्तनहरू (केही भएको भए पनि) बारे जनतालाई बताउँदै राम्रा–नराम्रा सबै कुराको जिम्मेवारी र जवाफदेहिता लिने पार्टी निकायहरू खै ? केन्द्रीय तहका नेताहरूको व्यक्तिवाद, स्वार्थ र नैतिक विचलनले गर्दा पनि कार्यकर्तामा पार्टीप्रति जिम्मेवारी बफादारिता र धैर्यता कमजोर हुँदै गएको यथार्थ हो ।

राष्ट्रिय स्वाधिनताका पक्षमा धेरै कमजोर देखिनु
जब–जब कांग्रेसले सत्ता समात्यो तब–तब खुल्ला अर्थनीति र नीजिकरणको नाममा राष्ट्रिय उत्पादनमूलक उद्योगधन्दाहरू समाप्त हँुदै गए र देश बिस्तारै आयातमुखी र परनिर्भर बन्दै गयो । रोप वे भनौँ या ट्रली बस, कृषि औजार भनौँ या सिमेन्ट कारखाना, एक से एक रूपमा समाप्त हुँदै गए । विश्व व्यापार संगठनका  हरेक नीति तथा सिद्घान्तहरूमा हस्ताक्षर गर्न पाउँदा आफूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव गर्ने कांग्रेस नेतृत्वले एउटा महत्वपूर्ण पक्ष ख्यालै गरेन कि कुनै पनि देशले आफ्नो परिवेश र राष्ट्रिय चरित्रअनुसार राष्ट्रिय उत्पादनको संंरक्षण गर्न पाउँछ ।

परिस्थितिजन्य कारणका आधारमा आत्मसंरक्षणका विधिहरू अबलम्बन गर्न पाइन्छ तर तेसो भएन । सम्पूर्ण बजार खुला प्रतिस्पर्धामा छोडियो ।अब दैनिक पाँच लाख मोजा उत्पादन गर्ने चाइनाको कुनै कम्पनीसँग दैनिक पचास जोर मोजा उत्पादन गर्ने नेपाली कम्पनीले कसरी प्रतिस्पर्धा गर्न सक्छ ? हरेक उत्पादनको तुलना यही हो । ठूला बजार भएका ठूला देशका कम्पनीहरूसँग साना बजार भएका साना कम्पनीहरूले खुला प्रतिस्पर्धा गर्नै सक्दैनन् । यो भूपरिवेष्टित र अर्थपरिवेष्टित परिवेशतिर कुनै वास्तै गरेन कांग्रेसले, जसको परिणाम स्वरूप प्रायः सबै उत्पादनमूलक उद्योगहरू समाप्त भए । यो नतिजा जनताले प्रत्येक दिन भोगिरहेका छन् । यो पीडा सँगसँगै कांग्रेसको सशंंकित छायाँ देखिरहेछन् जनता ।

जनस्तरबाट सिधा प्रश्न गर्न सकिन्छ– ०४६ भन्दाअघि जति पनि स्वाधिनोन्मुख, उत्पादनमूलक राष्ट्रिय उद्योगहरू थिए, आज त्यसको २०÷२५ वर्षपछि त्यो केबल दोब्बर मात्र भएको भए पनि देशको अर्थतन्त्र कति राम्रो हुन्थ्यो होला ? अर्थात, नेपाल वायु सेवा निगममा एक दर्जन बोइङ, दुई दर्जन आन्तरिक उडान, तीन÷चार वटा रोप वे, दुई÷तीन वटा वीरगञ्ज कृषि औजार कारखाना, आठ–१० वटा सिमेन्ट कारखाना, तीन÷चार वटा भक्तपुर इँटा कारखाना, तीन÷चार वटा ट्रली बस लाइन, आदि आदि आज भएको भए ?

कांंग्रेसको मात्र होइन, देश र जनताको नै दुर्भाग्य, त्यस्ता उद्योगहरू थपिने कुरै भएन, केबल समाप्त गर्ने काम मात्र भए । छन त केही क्षेत्रमा निजी उद्योगहरूले गति लिइरहेका छन् । तर, निजीकरण यति अस्तव्यस्त रूपले भइरहेको छ कि शिक्षा स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रहरू सरकारी नियमनलाई लत्याउन सक्नेगरी माफिया शैलीमा अघि बढिरहेछन् । यसका अलावा, भारतले सधैँ चिमोटीरहने सीमा मामिलामा कांग्रेसले कहिल्यै पनि स्वाभिमानी नेपाली जनताको चित्त बुझ्नेगरी प्रतिवाद गरेको देखिँदैन, सुुनिँदैन ।

पार्टीभित्र अत्यन्त दुःखद् प्रकारको अन्तरघातको शंखला संस्थागत हुनु–
समासेवी जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पढेपछि मात्र मैले शत्प्रतिशत विश्वास गरेँ कि गिरिजाप्रसाद कोइरालाले कार्यकर्तामाथि व्हिप नै जारी गरेका रहेछन् कृष्णप्रसाद भट्टराइलाई जसरी पनि हराउनु भनेर । घिमिरेका शब्दहरूमा आँसु बगेको देखिन्छ कि उनीजस्तो इमानदार र वफादार कांग्रेसलाई पनि गिरिजाको त्यो संक्रिण र घृणित आचरणले कसरी कांग्रेसबाट वितृष्णा पैदा गरायो । राजनीतिमा अन्तरघात स्वभाविक हो भन्ने गिरिजाको मान्यता आजसम्म आइपुग्दा संस्थागत भइसकेको छ कांग्रेसमा । यसबाट कांग्रेस मुक्त हुने सम्भावना न्यून देखिन्छ कुनै चमत्कारिक नेतृत्व र सामूहिक आत्मालोचनाविना ।

पार्टी आफैँ भित्र अत्यन्त अप्रजातान्त्रिक आचरणको देखिनु–
एउटा प्रत्यक्ष घटनाले मनमा च्वास्स घोचेपछि मैले आफूलाई कहिल्यै पनि कांग्रेस हूँ भनेर भनिनँ, आवश्यक पर्दा भन्ने गर्थें कि म डेमोक्र्याट हुँ । ०४९ सालको स्थानीय निर्वाचन थियो क्यारे गाउँमा । नियम थियो कि यदी कोही शिक्षक वा कुनै सरकारी जागिरवाला छ भने निजले उम्मेदवारी दिनुुभन्दा पहिले जागिरबाट राजीनामा दिनुपर्छ । एक जना दलित शिक्षक राजीनामा दिएर त आए तर प्रमाण ल्याएनन् र उनलाई उम्मेदवारीबाट वञ्चित गरियो । अर्का चण्डाल बाहुन शिक्षक राजीनामा नै नदिई उम्मेदवारी दिन आए र पाए ।

निमुखा दलित शिक्षकले आवाज उठाए । म स्वयंले पनि उनको पक्षमा बोल्दै स्थानीय स्तरको सबैभन्दा ठूलो कांग्रेसलाई सोधेँ, ‘के हो सर यस्तो ? यस्तो पनि प्रजातन्त्र हुन्छ ?’ जवाफमा उनले भने, ‘छोड–छोड, यस्तै हो, के गर्ने ?’ कमजोरलाइ दबाइयो । यो ‘यस्तै हो, के गर्ने ? भन्ने प्रवृत्ति आज ०७४ सालको निर्वाचनमा टिकट वितरण गर्दा होस् वा समानुपातिक कोटा छान्दासम्म, चरम सिमामा पुगिसकेको छ नेपाली कांग्रेसभित्र ।
समाजवादी नभएर पुँजीवादी आचरण हाबी हुनु–
१९८३ सालमा अमरगढी डडेलधुरामा जन्मिएर भारतमा नै अध्ययनरत भीमदत्त पन्त बृटिस साम्राज्यविरुद्घ बिपी कोइरालासँगै भारत छोड आन्दोलनमा सहभागी थिए । ०६ सालदेखि कांग्रेसमा सक्रिय भएर लागेका भीमदत्त पन्त ०९ सालमा नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध हुनुको पछाडि प्रमुख रूपमा यही कारण बुझिन्छ कि नेपाली कांग्रेसभित्र व्यावहारिक समाजवाद देखिएन, पुँजीवाद नै हाबी रह्यो । तीव्र गतिमा आमूल परिवर्तन चाहने भीमदत्तले नुन आन्दोलन सुरु गर्दै स्थानीय ठकुरी राजाहरूको घरमा थुपारिएको नुन गरीब समुदायमा वितरण गरिदिए ।

अर्कोतिर ‘कि जोत हलो, कि छोड थलो, होइन भने छैन अब भलो’ भन्दै भूमिसुधार आन्दोलन सुरु गरे । पुँजीवादले उनलाई सहन सकेन र ०१० साल १७ साउनमा जोगबुढा डडेलधुरामा उनको हत्या गरियो । इमानदार, स्वार्थरहित देशभक्तहरूमा पनि प्रजातान्त्रिक समाजवादको आकर्षक नारा बोकेको पार्टीसँग किन वितृष्णा पैदा हुन्छ भन्ने सन्दर्भमा केही प्रतिनिधि पात्र तथा घटना मात्र हुन यिनीहरू । अझ खेदजनक त यो छ कि पुँजीवाद आज पूर्णरूपले अनियमित र भ्रष्ट भएको छ ।

कमजोर तथा पूरातनवादी जेष्ठ पुस्ताले समयानुकूल नेतृत्व हाँक्न नसक्नु –
हो, पछिल्ला वर्षहरूमा शारीरिकरूपमा पनि कमजोर, मानसिक रूपमा पनि कमजोर व्यक्तिहरूको हातमा थर्थर काँप्दै दिन बिताएको छ कांग्रेसले । बुढापाकाहरूको सम्मान गर्नु युवापुस्ताको अनुशासन र बडप्पन हो । तर, ५० काटिसकेका प्रखर युवाहरूलाई नाबालक नै देखिरहनु बुढापाकाहरूको लघु विचार र लालचीपन हो । खानपानले मानिसको आचरण, सोच्ने समय र शैली, तर्कशैली र आदिमा निश्चित रूपले प्रभाव पार्छ । मदिरापानविना चल्नै नसक्ने, त्यो माथि ७० काटेका जेष्ठ नागरिकहरूले मात्रै कांग्रेस हाँक्न सक्दैनन् अब । शरीर र दिमागको उत्कृष्ट सहकार्य हुुनसक्ने उमेर २५ देखि ५० वर्ष हो ।

यसैले होला अमेरिका जस्तो सर्वशक्तिमान देशमा धेरै नै कहलिएका राष्ट्रपतिहरू ४० को हाराहारीका देखिन्छन् (रुजबेल्ट ४२, केनेडी ४३, क्लिन्टन ४६, ग्रेन्ट ४६, ओबामा ४७) । आज क्यानडाका प्रधानमन्त्री ४० भन्दा तलका छन् । अस्ट्रियाका चान्स्लर हुनेवाला भनिएका कन्जर्भेटिभ पार्टी नेता सेबेस्टियन कर्ज त मात्र ३१ वर्षका छन् र चर्चाको शिखरमा छन् । यो शरीर र समयको विज्ञानलाई वास्ता नगरेर कांग्रेसले जेष्ठ परम्परालाई मात्र महत्व दिनु अरू हानिकारक हुुनेछ । यी विविध कारणहरूले वर्तमान चुनावमा कांग्रेसको हारको सम्पूर्ण कारण शेरबहादुर देउवामाथि मात्र थुपार्नु न्यायसंगत हुँदैन । यो इतिहासदेखि आजसम्मको जम्माजम्मी नतिजा  हो ।

 

प्रतिक्रिया